विचार

इतिहासको सम्मान गरौँ
SHARES

पुस २७, २०७५

    पृथ्वीनारायण शाहले देशको एकीकरण नगरेको भए नेपाल भन्ने देश संयुक्त राष्ट्र संघमा एउटा स्वतन्त्र देशको रूपमा अभिलेखीकरण हुने कुनै सशक्त आधार देखिँदैन। प्राचीनकालमा ‘नेपाल मण्डल’ भनेर लेखिए तापनि अहिलेको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किलोमिटरभित्र कसैले पनि एकछत्र राज गरेको कुनै प्रमाण छैन, उनीभन्दा अगाडिका शासकले। प्रमाणबिना जसले जे भने पनि भयो तर वास्तविकताको धरातलमा हेर्ने हो भने मानदेवभन्दा अगाडिका कुनै महिषपाल, गोपाल र किरात वंशका राजाहरूको कुनै मुद्रा, कुनै मन्दिर, कुनै शिलालेख, सन्धि सम्झौताका प्रमाण भेटिएको छैन। 

    यसैगरी यक्ष मल्लका समयमा पनि काठमाडौंबाहिर केन्द्रबाट सोझो शासन गरिएको कुनै कर्मचारी तथा राज्य प्रतिनिधि खटाएको, राखेको कुनै लिखत कतै भेटिएको छैन। तराईको तिरहुत, पहाडको सिंजा, कास्की, पाल्पा, गुल्मी, भोजपुर सबै स्वतन्त्र राज्य थिए। यी सबैको सामूहिक नाम नेपाल रहने गरी एउटै राजाले शासनाधिकार ग्रहण गरेको प्रमाण पाइँदैन। तसर्थ एकीकृत नेपाल राष्ट्रका निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहले नै नेपाल निर्माण गरेको कुरामा कसैले दुई मत राख्न अधार तथा इतिहास भेटिएको छैन।

    पृथ्वीनारायण शाह नजन्मिएको भए पनि अहिलेको जस्तो नेपालको निर्माण असंभव नै प्रतीत हुन्छ।  टुक्राटुक्रामा छरिएको नेपालको स्वामित्व निश्चित रूपमा अन्यत्र गाभिएको हुने थियो वा यही भूमीमा थप चार–पाँचवटा स्वतन्त्र राष्ट्र बनेका हुन्थे। किनकि अरू कसैमा पृथ्वीनारायण शाहको जस्तो परिकल्पना आउन संभव नै थिएन। एकीकरणको सोच सामान्य व्यवसाय गर्ने, कपडा पसल वा डोनट पसल खोल्ने जस्तो सोच होइन। यो विशेष मानवमा मात्र उत्पन्न हुन्छ र उसले मात्र सम्पन्न गर्न सक्छ। 

    पृथ्वीनारायणले गोरखाबाट नुवाकोट र नुवाकोटबाट उपत्यका आक्रमणको जुन रणनीति लिए, त्यो तरिका अरूले लिन संभव नै थिएन। महान् विचार एक युगको एक क्षणमा एक जनालाई मात्र आउँछ, जसले त्यसलाई अरू सबै त्यागेर कार्यान्वयन गर्छ, त्यो मात्र महान् हुन्छ। 

    हाम्रो एकीकरणको गरिमामय इतिहासलाई कसैले राज्य विस्तार त कसैले गोरखाका १२ सय घरधुरीका जनतालाई खाना खान नपुग्ने भएकाले आर्थिक स्रोत खोजीका रूपमा आलोचना गरेका पाइन्छ। गणतन्त्रमा सबैका विचारलाई स्वागत गरिनुपर्छ। ल यो एकीकरण थिएन, विस्तार नै थियो भने पनि हामीले उनलाई महान् देख्नबाट कन्जुस्याइँ गर्नुहुँदैन किनकि बल प्रयोगबिना सहर्ष एकीकरण न कसैले गर्न सक्छ, न त्यति बेलाको राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको कारण नेपालमा राजा रजौटालाई आपसी छलफलको आधारमा एकताबद्ध गर्न संभव थियो। तत्कालीन अवस्थामा नेपाल निर्माणका लागि सम्पूर्ण विभाजित राज्यमाथि बल प्रयोग गर्नु बाध्यता थियो। त्यो राष्ट्रिय अपरिहार्यतालाई आँखा चिम्लिएर उनलाई विस्तारवादी देख्नुमा छद्म प्रायोजित सोच हुनसक्छ, त्यसलाई विस्तारै फेरौँ। त्यो तत्कालीन समयअनुसारको सबैभन्दा उपयुक्त एकीकरण नै थियो। 

    यो देश चार जात छत्तीस वर्णको फूलबारी हो, यो कुनै जाति, धर्म, लिंग, वर्गको देश होइन भनेर उनले भनेका दिव्य उपदेशको गलत परिभाषा निकालेर अहिले हाम्रो रहेको ऐतिहासिक गरिमा, राष्ट्रिय ओजलाई निम्छरो नबनाऔँ। 

    राजाहरू पृथ्वीनारायणविरुद्ध खनिए पनि नेपालका आमजनताले एकीकरणलाई नै समर्थन गरेका अनेक उदाहरण हामीमाझ छन्। नेपाल एकीकरण अभियानमा उपत्यकाभन्दा पश्चिममा अझ बढी नोक्सान भएको थियो।  त्यहाँबाट नेपाल खोसेर नेपाली दिने महान् दाता पृथ्वी नै हुन्। 

    दोस्रो कुरा, १२ सय घरधुरीलाई खान र खुवाउन नसकेर जमिनका लागि लडिएको हो भन्ने जुन आरोप छ, यसलाई पनि महान् शासकको रूपमा हेर्न जरुरी छ। किनकि राजाले जनताको भोक मेट्न जरुरी छ, यसमा कुनै प्रकार गल्ती किन देख्नुप¥यो? यसले आर्थिक रूपमा हामी सबैलाई खाने, बस्ने, घुम्ने अवसरहरूको विकल्प प्रदान ग¥यो।  पूर्वका राई, लिम्बू, किरात, उत्तरका मनाङे, मुस्ताङे, शेर्पा, थकाली, उपत्यका वरिपरिका तामाङ, मध्यनेपालका गुरुङ, मगर र बाहुनहरू, पश्चिमका डोटेली, दार्चुले सबैलाई विशाल नेपालमा आफ्नो आर्थिक अस्तित्व खोज्ने अवसर मिल्यो।

    जसले जहाँ जे सक्छ, त्यो गरेर आय आर्जन गर्न पृथ्वीनारायण शाहले एउटा विशाल नेपाल हामीलाई जमिन तयार पारिदिए  भने त्यो महान् सत्यलाई किन नराम्रो मान्ने?  जुन अर्थबाट, जुन दृष्टिकोणबाट नेपाल र नेपालीको गरिमा र उचाइको भावनाबाट सोच्ने हो भने पृथ्वीनारायण शाहमा महानता भन्दा पर केही छैन। 
    तसर्थ हाम्रो ऐतिहासिक गौरवलाई सगरमाथाजतिकै उचाइबाट आँकलन गरेर दृढमानव पृथ्वीनाराणको जस्तो साहस, अटल विश्वास, दृढ निश्चय, देश एकीकरण अर्जुन दृष्टि हामी सम्पूर्ण नेपालीमा आओस् र अबको आर्थिक तथा प्राविधिक विकासमा उकेरा लगाउन सक्ने नयाँ पृथ्वीनारायण जन्मून् भन्ने शुभकामनासहित उनलाई सम्मान गरौँ। 

    कीर्तिपुरबासीको नाक काटिएको विषयमा हाम्रो विमति र रिस छ भने पनि अझै गहिरिएर हेरौँ त। कीर्तिपुरको दोस्रो लडाइँमा त पृथ्वीनारायण शाहको गर्धनमाथि पुगेको तरबारलाई कीर्तिपुरबासीले नै रोकेर उनलाई बचाएका थिए। त्यो घटना सम्झँदा लाग्छ, एकीकरणमा सबैभन्दा ठूलो योगदान त कीर्तिपुरबासीकै छ। तसर्थ राजाहरू पृथ्वीनारायणविरुद्ध खनिए पनि नेपालका आमजनताले एकीकरणलाई नै समर्थन गरेका अनेक उदाहरण हामीमाझ छन्। नेपाल एकीकरण अभियानमा उपत्यकाभन्दा पश्चिममा अझ बढी नोक्सान भएको थियो।  त्यहाँबाट नेपाल खोसेर नेपाली दिने महान् दाता पृथ्वी नै हुन्। 

    लडाइँमा असंलग्न व्यक्तिमाथि, निहत्था व्यक्तिमाथि आक्रमण गरेर नाक काटिएको हो भने निश्चय पनि त्यो युद्ध नियमविरुद्ध कृत्य हो, त्यसमा उनलाई ठीक मान्नुपर्दैन। तर यो कुरा जब पृथ्वीनारायण शाहले केही पादरीहरूलाई देश निकाला गरे, त्यसपछि जन्मेका इतिहासकारले लेखेको कुरा हो यो। तथ्य के कति हो? सत्यमा केही नराम्रो भएको रहेछ भने त्यो पीडा हामी सबै नेपालीको सामूहिक पीडा हो। तर प्रसव पीडाको डरले बच्चा जन्माउने कामको विरोध गर्ने हो भने यो संसारको सृष्टि चल्न सक्दैन। त्यसैले केही कमी कमजोरीलाई बिर्सिएर महान् नेपाल निर्माताको रूपमा सगमाथाजतिकै उच्च सोच र  विश्वासका धनी पृथ्वीनारायण शाहलाई निर्विरोध राष्ट्र नायकको रूपमा युयौँ युग मानसपटलमा राखौँ। 

    उनी नेपाल देशका निर्माता हुन्। नेपालको सबैभन्दा शक्तिशाली संस्था नेपाली सेनाका जन्मदाता हुन्। उनले स्थापना गरेका पाँच पल्टनको अवधारणामै आजसम्म सैनिक विस्तार गरिएको छ। त्यसैले उनको जन्मको २३९ वर्षपछि नेपाली सेनाले आफ्नो परिसरमा उनको शालिक निर्माण गरेको छ। उनले दिएको दिव्योपदेश आजसम्म पनि नेपालको राष्ट्रिय तथा परराष्ट्र नीतिको कोशेढुंगा बनेको छ। त्यसैले उनीप्रति जनताको अगाध आस्थालाई प्रायोजित रूपमा धुमिल हुन नदिऔँ। 
    संसारमा हरेकतिरबाट सक्षम र गल्ती नै नभएको मानिस जन्मिएको छैन। त्यसमध्ये नेपालमा अहिलेसम्म जन्मिएका मानवमध्ये सबैभन्दा थोरै गल्ती धेरै महानता भएका मानवको सम्मानमा कन्जुस्याइँ गरेर राष्ट्र निर्माणको गुरुत्वलाई संकुचित नगरौँ।

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]