|

काठमाडौं:  कालिका कन्ट्रक्सन कम्पनीले ठेक्का लिएर बनाएको नवनिर्मित बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण गरेको छ। इनरुवा नगरपालिकास्थित विभिन्न सडक, सौर्यबत्ती, नबनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदन सहित संघीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको इकाइ आयोजनाका प्रमुख उज्जवल प्रसाइले जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा कालिका कन्ट्रक्सनले तोकिएको समय अगावै संरचना बनाएको भन्दै सम्मानसमेत गरिएको छ। अहिले समयमा काम नसक्ने प्रचलन बढिरहेका बेला कालिकाले समय अगावै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाएपछि सरकारले सम्मान गरेको हो।

केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समय अगावै काम सक्ने निर्माण व्यवासयीलाई सरकारले सम्मान गर्ने बताएका थिए । सोही अनुसार सरकारले कालिकालाई सम्मान गरेको हो।

कालिकाले बसपार्कको दुई तले टर्मिनल भवन, २३० ओटा सडक सौर्यबत्ती, जेनेरेटर परिसरमा निर्मित संरचना बनाएर नगरपालिकालाई हस्तान्तरण गरिएको प्रसाइले बताए। बसपार्कसहित एक अर्ब २ करोड २५ लाख ३४ हजारको लागतमा उक्त संरचना बनाइएको हो।

यात्रु प्रतिक्षालय, होटल, खानेपानीको व्यवस्था, सीसी क्यामेरा जडान लगायतका अन्य संरचना समेत बनेका छन्। इनरुवा बसपार्क र सडक लगायत कालिका कन्ट्रक्सनले बनाएका संरचनाको गत बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । त्यस्तै, शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राई लगायत जनप्रतिनिधिको उपस्थितिमा बसपार्कको उद्घाटन गरिएको थियो ।

बसपार्क समयानुकुल र प्रविधिमैत्री रुपमा निर्माण भएको निर्माण कम्पनी पक्षको भनाइ छ। शहरी बिकास मन्त्री राईले इनरुवा नगरपालिकामा सम्पन्न पूर्वाधार निर्माण कार्य मुलुककै नमुना र छिटो सम्पन्न भएको योजनामा परेको भन्दै नगरका अन्य भौतिक पूर्वाधार र संरचना निर्माणमा सहयोगको प्रतिवद्धता जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.