|

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका पेम्बा छिरि तामाङलाई गत भदौ आठ गते बिहान भालुले आक्रमण गरी शक्त घाइते बनायो। घरनजिकै बारीमा काममा जाँदा तामाङलाई भालुले आक्रमण गरी घाइते बनाएको हो। 

घाइते तामाङलाई जिल्ला अस्पताल फाप्लुमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडाैं लगियो। यस्तै भदौ २८ गते तामाखानीकै मनकुमारी मगर र सानु मगररलाई पनि भालुले आक्रमण गर्‍यो। घरनजिकै बारीमा घास काट्न जाने क्रममा उनीहरूलाई पनि भालुले आक्रमण गरी शक्त घाइते बनाएको हो।आक्रमणमा परेका मगरद्बयलाई जिल्लामा उपचार संभव नभएपछि थप उपचारको लागि काठमाडाैं लगियो।

जंगली जनवारले कुनै क्षति पुर्‍याएमा त्यसको राहत तथा उपचार खर्च सम्बन्धित निकायले दिने प्रावधान बमोजिम कात्तिक ११ गते भालुको आक्रमणका घाइते पेम्बा छिरिकी श्रीमति सुष्मा तामाङले बन डिभिजन कार्यालय सोलुखुम्बुमा विल भर्पाइ बुझाएको बताइन्। तर अहिलेसम्म त्यसको सुनुवाई नभएको उनको गुनासो छ। 'कर्मचारीले राष्ट्रिय निकुञ्ज पठाउँनुपर्छ भन्छन्।' सुष्मा तामाङले भनिन्, 'उपचार खर्च अभाव भएर कस्तो गाह्रो भईसक्यो राज्यले दिने सुविधा केही पनि पाएको छैन।'

उपचार गराउँदा खर्चको अभाव हुने र राज्यबाट उपचार खर्च नपाउने सुष्मा तामाङ मात्र नभई भालुबाट आक्रमणमा परेका अन्य धेरै छन्। भालुको आक्रणमा परी घाइते भएकी मनकुमारी मगरको उपचार गराई रहेका उनका श्रीमान ओमबहादुर मगरको पनि गुनासो उस्तै छ। 'अहिलेसम्म काठमाडौंमा उपचार गराउँदा सात लाख जति सकियो।' मगरले भने, 'जंगली जनवारले हामीलाई क्षति पुर्‍याउँदा सहेर बस्नुपर्ने, हामीले उसलाई क्षति पुर्‍यो भने जेल जानुपर्ने राज्यको नीतिले पीडितलाई झन पीडा दिने काम भयो।' 

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोस्रो संशोधन २०७४ अनुसार सामान्य घाइतेको लागि घाइतेको प्रकृति हेरी प्रेषित कागजात र सिफारिसको आधारमा बढीमा २० हजार) सम्म औषधोपचार खर्च दिने, सख्त घाइतेको लागि घाइतेको प्रकृति हेरी प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्म औषधोपचार खर्च दिने. र कसैको मृत्यु भएमा मृतकको आश्रित परिवार-हकवालाको लागि दशलाख राहत रकम दिने.स्पष्ट व्यवस्था गरिएको छ। 

सोही व्यवस्था बमोजिम बन डिजिन कार्यालय सोलुखुम्बुमा उपचार खर्चको लागि निवेदनसहित बिल भर्पाइ पेश गरिसकेको भए पनि आश्वसन मात्र पाएको पीडितको भनाई छ। पीडितले उपचार खर्चको लागि बिल भर्पाइ बुझाए पनि उपचार खर्च नपाएको गुनासो गरिरहँदा बन डिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाले भने कार्यालयमा बिल भर्पाइ नै नआएको बताउँछन्। यदि बिल प्राप्त भयो भने तत्काल भुक्तानीको प्रक्रिया अगाडि बढाउने उनको भनाई छ। 'बारम्बार बिल भर्पाइ ल्याउनु भनेका छौ।' प्रमुख सापकोटाले भने, 'पीडितले काठमाडौंमा उपचार गराइरहेकाले केही समय पछाडि ल्याउँछौं भन्नुभएको छ।आएपछि तत्काल प्रक्रिया अगाडि बढाउँछौं।'

भालु लगायत अन्य बन्य जन्तुले मानिसलाई आक्रमण गर्ने, अन्नबाली समेत नष्ट गरिदिने गर्दा सोलुखुम्बुको माथिल्लो क्षेत्रका स्थानीयलाई हैरानी भएको बताउँछन्। बन्यजन्तुकै कारण आफूहरू विस्तापित हुने सम्मको अवस्था सृजना भएको उनीहरूको भनाई छ। बन्य जन्तु संरक्षण गर्ने तर त्यसको क्षति पूर्ति समयमानै उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

भालुको आतंक बढ्दै

पछिल्लो सयम जिल्लाको माथिल्लो क्षेत्रमा भालुको आतंक बढेको तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्षमा मात्र भालुको आक्रमणबाट यहाँका ७ जना स्थानीय घाइते भएका छन्। भालुको आक्रमणबाट घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानिका ३ जना रहेका छन् भने महाकुलुङ गाउँपालिकाका ३ जाना र सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका एकजना रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

चालु आर्थिक वर्षमा घाइते हुनेहरूमा सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीकी मनकुमारी मगर, सानुमाया मगर र पेम्बाछिरि तामाङ रहेका छन्। त्यस्तै गार्माका दिलबहादुर भुजेल, महाकुलुङ गाउँपालिका १ का गम्भीर धन राई, वडा २ का उत्तरकुमार राई र वडा ३ का पासाङ देवा शेर्पा रहेका छन्।

घाइतेहरू मध्ये अधिकांश उपचारपछि घर फर्केकाछन् भने केहअझै पनि उपचार गराइरहेका छन्। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भालुको आक्रमणबाट ५ जाना घाइते भएको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी सालिग्राम शर्माले जानकारी दिए। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा भालुकै आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका थिए। यसरी हेर्दा आर्थिक वर्ष २०७३/०७४ देखि चालु आर्थिक वर्षको आजसम्म जम्मा १५ जना भालुको आक्रमणमा परेका छन् जसमध्ये एक जनाको ज्यान गएको छ। घाइते हुनेहरूमा १० जना पुरुष र ४ जना महिला रहेका छन्।

भालुले मकै पाक्ने समयमा बढी आक्रमण गर्ने गरेको जिल्ला प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए। माथिल्लो क्षेत्रमा भालुको आतंक बढेपछि नियन्त्रण गरिदिन स्थानीयले प्रशासनलाई औपचारिक रुपमा गुहारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.