|

विराटनगर : विभिन्न समुदाय र जातिको आ-आफ्नो पर्व विशेष महत्वका हुन्छन्। त्यस्तै पर्वमध्ये संथाल समुदायको सहोराय पर्व पनि एक हो। तर गरिव र विपन्न समुदायका संथालको यो पर्व आर्थिक अभावमा विस्तारै लोप हुँदै गएको छ। 

नेपालमा अल्पसंख्यक जातिका रुपमा रहेका संथाल समुदायले आफ्नो महत्वपूर्ण पर्व सहोराय जहदा गाउँपालिका ७ सिरसियास्थित दिसोम मंझी थानमा भव्य रुपमा मनाए। ६ दिनसम्म पूजा गरेर मनाउने सो पर्व गत शनिबार बिशेष पूजा गरेर सुरु भएको थियो। ६ दिनपछि अर्थात् शुक्रबार विशेष पूजापछि पर्व औपचारिकरुपमा सम्पन्न हुँदैछ। पर्व भरी मोराङब्रु, जाहेर एरा, गोसाइ एरा र ठकुरठकुराइनको मंझी थानमा बिशेष पूजा गरेर पर्व मनाइन्छ।

धान वाली भित्र्याएपछिको खुशीयालीमा सहोराय पर्व मनाइन्छ। सन्थाल समुदायकालागि यो सबैभन्दा ठूलो पर्व हो।धान वाली राम्ररी उब्जाई भित्रियाएको खुशियालीमा आफ्ना दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाइ, भान्जा, भान्जीलगायतका सपरिवारका साथ यो पर्व मनाउने परम्परा रहेको स्थानीय विवियानी मरडीको भनाइ छ। आफ्नो संस्कृति जोगाइ राख्नका लागि विगतदेखि नै यो पर्व मनाइरहेको स्थानीय बिट्का मरडीको भनाइ छ। यद्यपि काम गर्नुपर्ने र बिहान बेलुका हातमुख जोड्नुपर्ने बाध्यताकै कारण फुर्सदिलो तरिकाले पर्व मनाउन नपाएको उनको भनाइ छ। 

आर्थिक रुपमा निकै विपन्न तथा भूमिहीन सुकुमबासी भएका कारण धेरै संस्थाल समुदायले आफ्नो परम्परा विस्तारै छाड्दै गएको संस्थाल समुदायकै अगुवा बताउँछन्। शिक्षा र चेतनास्तर कमजोर रहेका उनीहरू दैनिक ज्याला मजदुरी र अर्काको खेतमा बनिबुतो गरेर जीविका चलाउने गर्दछन्। बिहान के खाउँ बेलुका के खाउँ भन्ने अवस्थाकै कारण आफ्नो पर्व र परम्परा विस्तारै छाड्दै गएको संथाल समुदायका अगुवा सूर्यनारायण हस्ता बताए। 

संथाल समुदायको यो पर्वको अवसरमा जहदा गाउँपालिकाले एक दिन सार्वजनिक विदा समेत दिएको थियो। गाउँपालिकाले संथाल जातिको आर्थिक र शैक्षिक अवस्था सुधार गर्न विभिन्न कार्यक्रम गरिरहेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले संथाललाई राज्यको मुल प्रवाहमा ल्याउन लागेको बताए। नेपालमा ५१ हजार ७२० संथाल समुदायको जनसंख्या रहेको छ। त्यसमध्ये जहदा गाउँपालिकामा ६ हजार २२४ छन्। जहदा गाउँपालिकाले सहोराय पर्वको अवसरमा बुधबार गाउँपालिकाभरि सार्वजनिक विदा दिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.