|

हेटौंडा : देशमा रहको सात प्रदेशमध्ये आर्थिकरुपमा वलियो प्रदेश ३ देखिएको छ। अन्य प्रदेश मध्ये प्रतिव्यक्ति आय, श्रमिकको उत्पादकत्व र रोजगारी, कुल ग्राहस्थ उत्पादनमा अन्य प्रदेशको तुलनामा प्रदेश ३ ज्यादै अगाडि रहेको राष्ट्र बैंकले जनाएको छ।

संघीय संरचनामा आर्थिक गतिविधि अध्ययनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकको अनुसन्धान विभागले सबै सूचकांकमा प्रदेश ३ अगाडि रहेको र त्यसलाई कायम राख्दै अझ अघि बढ्न चुनौतीसमेत रहेकोऔंल्याएको हो। करिब ५५ लाख जनसंख्या रहेको यस प्रदेशले देशको कुल ग्राहस्थ उत्पादनको ३१.९ प्रतिशत योगदान रहेको राष्ट्र बैंकको अनुसन्धान विभागका निर्देशक हिमप्रसाद न्यौपानेले बताए।

संघीय संरचनामा आर्थिक गतिविधि अध्ययन विषयक कार्यपत्र प्रस्तुत गर्दै न्यौपानेले देशको कुल कृषि क्षेत्रको उत्पादनमा  प्रदेश ३ ले १६ प्रतिशत योगदान गरेको जानकारी दिए। देशको प्रतिव्यक्ति आय एकहजार ४ अमेरिकी डलर रहेकोमा यस प्रदेशको प्रतिव्यक्ति आय एकहजार ५३४ अमेरिकी डलर रहेको तथ्यांक उल्लेख छ। श्रमिकको उत्पादकत्व र रोजगारीको हिसाबले पनि प्रदेश ३ निकै अघि रहेको देखिएको छ। श्रमिकको राष्ट्रिय उत्पादकत्वको तुलनामा ३ नम्बर प्रदेशको उत्पादकत्व १५४.३ रहेको छ। आर्थिक रुपमा सक्रिय जनसंख्या पनि यस प्रदेशमा ४२ प्रतिशत रहेको छ। यो प्रतिशत प्रदेश १ र ४ मा भने ४३ प्रतिशत रहेको छ। 

देशभरमा रहेका चार हजार ७६ उद्योगमध्ये यस प्रदेशमा ९६५ वटा उद्योग रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। देशभर रहेका ७० हजार किलोमिटर सडक सञ्जालमध्ये प्रदेश ३ मा १७ हजार किलोमिटर सडक पर्दछ। पछिल्लो तथ्यांकअनुसार यस प्रदेशमा १५४ वटा बैंक तथा बित्तीय संस्था रहेकोमा तिनीहरूको सात हजार २१८ वटा शाखा रहेको उल्लेख छ।

प्रदेशका ११९ वटा स्थानीय तहहरूमध्ये ११२ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको विभागका निर्देशक न्यौपानेले बताए। उनले प्रस्तुत गरेको कार्यपत्रअनुसार देशभरका ७५३ वटा स्थानीय तहमध्ये अब ६५ वटा स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा स्थापना हुन बाँकी रहेको छ। सरकारी कारोबार गर्न राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने निर्णय गरेसँगै धमाधम शाखा विस्तार भएको हो। यस आर्थिक वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना भइसक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रदेश ३ को मकवानपुर र काभ्रेमा १/१ वटा स्थानीय तह, सिन्धुलीमा २ वटा स्थानीय तह र धादिङका ३ वटा स्थानीय तहमा मात्र बैंक स्थापना हुन बाँकी रहेको जनाइएको छ। प्रदेश ३ मा एकहजार ४२३ वटा बैंक तथा बित्तीय संस्था रहेकोमा औसत एकवटा बैंकले तीन हजार ८०६ जनालाई सेवा दिइरहेको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.