‘अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा छ, सबैले यसबारेमा सोच्नुपर्ने बेला आयो’ अध्यक्ष मैनाली

|

काठमाडौँ : साहित्यकार एवं नेपाल सरकारका पूर्वसहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ। ब्यूरो ८१ नेपालले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका संघर्ष र उनको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यासको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरेका हुन्। 

विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले २०६३ सालपछि राष्ट्रियता कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे। मैनालीले इतिहास नपढी राष्ट्रियता बलियो नहुने दाबीसमेत गरेका छन्। उनले भने, ‘म साहित्यकार होइन। म असली पाठक हुँ। विलासीजीले यो पुस्तक लेखेर राम्रो काम गर्नुभयो। आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको बारेमा यति गहिरो अध्ययन गरेर उपन्यास लेख्नु चानचुने कुरा होइन। पृथ्वीनारायण शाहको इतिहास गलत तरिकाले स्थापित गर्न खोजिएको पनि थियो। तर त्यो गलत प्रयास चाहिँ स्थायी हुन सकेन। आधारहीन कुरा गरेर र लेखेर पृथ्वीनारायण शाहको बद्नाम गर्नु उचित होइन।’ 

अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा पुगेको बताउँदै उनले सबैले यसबारेमा सोच्नुपर्ने बेला आएको पनि बताए। उनले सार्वभौमसत्ता रक्षा गर्न सम्पूर्ण नेपालीले एक भएर लाग्नुपर्छ, जातीय, भाषिक र लैंगिक विवाद झिकेर देशलाई कमजोर बनाउने काम कसैले गर्न नहुने तर्क राख्दै पृथ्वीनारारयण शाहले आधुनिक नेपाल निर्माण गर्नको लागि बल प्रयोग गर्नेमात्रै होइन, संयम भएर शासन चलाएको इतिहास रहेको बताए।

कार्यक्रममा पुस्तकका टिप्पणीकर्ता वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले अंग्रेजले लेखेको गलत इतिहासका कारण पृथ्वीनारायण शाहलाई विवादमा तान्ने काम भएको टिप्पणी गरे। उनले भने 'पृथ्वीनारायण शाहका पालामा नेपालमा लेख्ने चलन थिएन। अंग्रेजले जे-जे लेखे, त्यसैलाई सत्य ठानेर आजका नेपाली उफ्रिन थालेका छन्। जसले देश जोडे, आफ्नो स्वार्थमा कुनै काम गरेनन्। देश बनाए उनैलाई गाली गर्नु उचित होइन।’

उनले पुथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्न किन गाह्रो भएको हो? भन्दै प्रश्नसमेत तेर्साए। दाहालले थपे, ‘मोहनचन्द्र अधिकारीले विस्तारवादी, उपनिवेशवादी भन्दै हिँड्नुभयो। परिवर्तनमा कुनै पक्ष बलियो र कमजोर हुन्छ। ३२ पुस्ता किराँतले राज्य गरे। मल्ल बंश, यक्ष बंश, यदुवंश उपत्यकामा नेवारहरूले राज्य गरे, त्यो शासनबाट कोही पीडित थिएनन्?'

त्यस्तै कार्यक्रममा साहित्यकार प्रतीक नेपालले विमोचित उपन्यासमा युद्धको मनोविज्ञान भएको दाबी गरे। उनले भने, ‘पृथ्वीनारायण शाहले देश जोडेका थिए, यस उपन्यासले पुस्ता जोड्ने काम गरेको छ, गोरखाली भनेपछि विश्व डराउने गर्छन्। अझैसम्म पनि त्यो शक्तिको प्रभाव छ। पृथ्वीनरायण शाहले देश नजोडेको भए अरु कसैको दासी बन्नुपर्ने थियो।’ पृथ्वीनारायण शाहको कारण आज विश्वको एकमात्रै स्वाभिमान देश र सार्वभौमसम्पन्न देशको नागरिक भएर बाँच्न पाउनु गर्वको कुरा भएको पनि उनले सुनाए। 

पुस्तकको प्रकाशन भने किशोरदत्त मिश्र र रोहन आचार्य (रत्ननगर, टाँडी–चितवन) ले गरेका छन् भने मुद्रण बिटी प्रिन्टिङ् प्रेस, शंखमुल काठमाडौंको रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.