|

बाँके: नेपालगञ्‍जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगिताको तयारीका बारेमा बुझ्न संसदीय सुनुवाई समितिको टोली नेपालगञ्‍ज आएको छ। आठौँ राष्ट्रिय प्रतियोगिताका लागि रकम अभाव लगायतका विषय उठेपछि समितिका सभापति जयपुरी घर्तीसहितको टोली प्रतियोगिता तयारीका बारे बुझ्न नेपालगञ्‍ज आएको हो। 
नेपालगञ्‍ज रंगशालामा आयोजित कार्यक्रममा सभापति घर्तीले फागुन अन्तिम साता हुने आठौँ राष्ट्रिय प्रतियोगिताको तयारीका बारेमा बुझेर सरकारलाई निर्देशन दिइने बताइन्। 

अनुगमनमा नेपालगञ्‍ज आएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम् सांसद जीवनराम श्रेष्ठले संरचना निर्माणमा देखिएका समस्या समाधानका उपायसहितको प्रतिवेदन सरकारलाई बुझाउने बताए। उनले नेपालगञ्‍ज रंगशाला निर्माणमा भएका प्रगतिका बारेमा प्रतिवेदन तयार गरि वजेटका कारण संरचना निर्माणमा ढिलाई भएको पाइए छिटो रकम पठाउन सरकारलाई निर्देशन दिने बताए। राखेपाका पूर्व सदस्य समेत रहेका श्रेष्ठले परिषदलाई संसदिय सुनुवाई समितिले सहयोग गर्ने बताए। 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १५ फागुनसम्म नेपालगञ्‍ज रंगशालाको संरचना निर्माण पूरा गरि फागुन अन्तिम साता आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने दोहोर्‍याएका छन्। संसदीय सुनुवाई समितिसँगै नेपालगञ्‍ज आएका विष्टले संरचनाका कारण प्रतियोगिता नरोकिने जिकिर गरे। ‘फागुन अन्तिम साता भब्य तथा ऐतिहासिक रुपमा आठौँ राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ,’ सदस्य सचिव विष्टले भने, ‘प्रतियोगिता फागुनभन्दा उता जाने छैन।’ 
उनले उद्घाटन हुने नेपालगञ्‍ज रंगशाला र समापन हुने दाङको बेलझुण्डी रंगशालाको ७० प्रतिशत निर्माण पूरा भइसकेको दावी गरे। 

उनले आठौँ राष्ट्रिय प्रतियोगिता फागुनमा गर्नेमा कसैको विमति नभएको बताए। खेलकुद मन्त्री, मन्त्रालय, राखेपका पदाधिकारी सवैले फागुन अन्तिम सात प्रतियोगिता गर्ने मनसाय बनाएको बताउँदै उनले सवैको ध्यान आठौँ प्रतियोगितामा केन्द्रित भएको बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.