|

काठमाडौं । तेस्रो लिंग्री अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक भएको छ। श्रेष्ठको जन्मदिनको अवसर पारेर घोष्ट राइटिङ नेपालले भूमिका (तेस्रो लिंग्रीको आत्मकथा) सार्वजनिक गरेको हो। भूमिका श्रेष्ठको आत्मकथा भूमिका कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बा, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले विमोचन गरेका हुन्।

जन्मदा पुरुष, हुर्कँदै बढ्दै जादाँ महिला स्वभाव एवं हाउभाउ भएकी भूमिकाको आत्मकथा सबै तेस्रो लिंग्रीको प्रतिनिधित्व गर्ने पुस्तक हुने भन्दै कलाकार, लेखक, सहित्यकार, यौनिक तथा लैंगिक अल्पसंख्यकले शुभकामना दिएका छन्।

भूमिकालाई जन्म दिने आमा निश्चय नै हिरो भएको नायिका एवं चलचित्र निर्माता रेखा थापाले बताइन्। 'म भूमिका श्रेष्ठ जस्तो बन्न सक्दिन, न भूमिका म जस्तो बन्न सक्छिन', नायिका थापाले भनिन्, 'सबैलाई आफ्नो युनिक पनमा बाच्ने अधिकार हुन्छ।' उनले भूमिकाको आत्मकथा हरेक गाउँ, बस्ती, टोल टोलमा पुग्नु पर्ने बताइन्।

थापाले भूमिकालाई आफूले पहिलेदेखि चिनेको तर आज किताबको रुपमा र लेखिकाको रुपमा चिन्न पाउँदा गर्व लागेको बताइन्। स्टेजमा रहेकी भूमिकाकी आमालाई देखाउँदै आमाले छोरी जन्माएको तर ऊ हिरो भएको रेखाले बताइन्।

नायक एवं चलचित्र निर्माता रमेश उप्रेतीले भूमिकाको आँट देखेर सेल्युट गर्न मन लागेको बताए। उनले लिंगले समाजमा कुनै फरक नपार्ने भन्दै यो समुदायका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए। भूमिकाको किताब सबैका लागि उदाहरण बनोस् भनेर उप्रेतीले शुभकामना दिए। उप्रेतीले किताबले मानवीय जनजीवनको महत्वपूर्ण पाटो समेटेको बताए।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले भूमिका श्रेष्ठको नाममा नागरिकता लिएको हेर्ने मन भएको बताइन्। 'उनले अहिले पनि कैलाश श्रेष्ठकै नाममा नागरिकता लिएकी छन्', उनले भनिन्, 'अब भूमिका श्रेष्ठकै नाममा नागरिकता लिएको हेर्न मन छ।' सुब्बाले भूमिकाले भूमिकाको रुपमा नागरिकता पाएको दिन अझ खुशी लाग्ने बताइन्।

उनले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि विवाहको कानून बनेर लागू हुनु पर्ने माग गरिन्। 'विवाहको कानून बन्दैन भने उनीहरूको पार्टनरशीपले वैधानिकता पाओस्' सुब्बाले भनिन्। उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग आफ्नै परिवार जस्तो भएर बसेको बताइन्।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रो लिंग्रीको जीवनलाई किताबमा उतारिएको यो पहिलो पटक भएको बताइन्। 'भूमिकाको यो किताब सबै तेस्रो लिंग्रीसँग मिल्न जान्छ', उनले खुशी व्यक्त गर्दै भनिन्, 'मैले टिपेको कोपिला आज सुन्दर फूलमा परिणत भएको छ, मलाई गर्व लागेको छ।'

उनले यो किताब किताब मात्रै नभएर किताबले सबै तेस्रो लिंग्रीको जीवनको पाना पल्टाउने बताइन्। उनले लेखन र साहित्यको माध्यमबाट तेस्रो लिंग्रीलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँदै लैजान सकिने बताइन्।  उनले नेपालमा आफूहरूलाई अझै अपहेलित र तल्लो दर्जाको रूपमा हेरिएकोमा रोष ब्यक्त गर्दै यो किताबका माध्यमबाट त्यो कुरा चिरिने बताइन्।

साहित्यकार तथा पत्रकार अश्विनी कोईरालाले पुस्तकले धर्मका कुरादेखि ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी व्यक्त गर्दै पुस्तकको सफलताको शुभकामना व्यक्त गरे। कोइरालाले भूमिकाको कितावमा महाराभारत, रामायण, नेवारी संस्कृतिदेखि लिएर अन्तर्राष्ट्रिय विषयसमेत राखिएकाले पुस्तक पठनीय भएको बताए।

पुस्तकका सम्पादक पदम श्रेष्ठले पुस्तकमा तेस्रो लिंग्री मात्रै नभएर एलजिबिटिआई सबैको व्याख्या गरिएको बताए। उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार लेखेर मात्रै नहुने भन्दै कार्यान्वयन हुनुपर्ने बताए।

घोष्ट राइटिङ नेपालका अध्यक्ष एवं लेखन कुन्जका कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भूमिका श्रेष्ठको आत्मकथा आएको बताए। तेस्रो लिंग्रीलाई बुझने माध्यमको रुपमा यो किताब माईलस्टोन हुनेमा उनको विश्वास छ। ढकालले भूमिकाको जीवनको पुस्तक मात्रै नभएर यौनिक तथा लैंगिक अल्पसंख्यककै जीवनको पुस्तकको रुपमा तेस्रो लिंग्रीको आत्मकथा विमोचन भएको बताए।

लेखिका भूमिका श्रेष्ठले भावुक हुँदै आफ्नो समूदायको पीडा बेदना समेटिएको पुस्तक तेस्रो लिंग्रीको आत्मकथा पढिदिन आग्रह गरिन्। भूमिका श्रेष्ठको आत्मकथामा ३५ वटा विषय समावेश छ। २४० पृष्ठको यो पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.