|

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका २ का २२ वर्षीय हिरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ। अपांगता भएका बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरे।

अपांगता भएकी हिरा हिडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए। अपांगता भएकी छोरीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुसी लागेको हिराका बुवा पूर्ण बोहराले बताए। उनले भने, 'जेठी छोरीलाई घरमै पुगेर नागरिकता प्रदान गर्दा केही सहयोग पुग्ने आसा गरेका छौं।' 

नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि आफू खुसी भएको हिरा बोहराले बताइन्। यसैबीच पूर्णबहादुर बोहराका अपांगता भएका दुई छोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बैतडी, दशरथचन्द नगरपालिका २ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको वडा २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए। उनले भने,'हिरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएका छौं।' 

करिश्मालाई कक्षा १० को र हिरालाई कक्षा ५ को कोर्स घरमै पढाउने व्यवस्था गरिएको बताइएको छ। संविधानमै शिक्षाबाट कोही पनि वञ्चित नहुनुपर्ने उल्लेख भएकाले उनीहरूका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। यसअघि प्रमुख अवस्थीले पुस १ गते अपांगता भएका बालबालिकालाई उनीहरूको घरमै पुगेर १० हजार नगद रकम हस्तान्तरण गरेका थिए।

अपांगता भएका बालबालिकालाई अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले पनि गत मंसिर ६ गते आफ्नो जन्मदिनको खर्च कटाएर नगदसहित लत्ताकपडा सहयोग गरेका थिए। पूर्ण बहादुर बोहराका ४ मध्ये ३ छोराछोरी अपांग भएका छन्। जसमा २२ वर्षीया छोरी हिरा, १५ वर्षीया करिश्मा, १० वर्षीय जयन्त बोहरा अपांगता भएका व्यक्ति हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.