|

जनकपुरधाम : भारतको बिहार सरकारले मदिरा कारोबार तथा सेवनमा रोक लगाएपछि नेपालको सीमावर्ती क्षेत्रमा अवैध मदिरा भट्टीहरूमा कारोबार फस्टाएको छ। भारतीय बजारहरूमा मदिरा बिक्री, वितरण तथा सेवनमा कडाइ भएपछि धनुषासहित महोत्तरी, सर्लाही, सिरहा र सप्तरी लगायत सीमावर्ती क्षेत्रमा व्यापार फस्टाएको हो।

धनुषाको धनौजी गाउँपालिका स्थित घडरिया सीमावर्ती क्षेत्रमा प्रहरीकै अगाडि बिहानैदेखि पसलहरुमा मदिरा सेवन गर्ने नेपाली र भारतीय ग्राहकको भीड लाग्छ। भारतको बिहार राज्य अन्तर्गत मधुबन्नी जिल्लाको हरिणे, हरलाखि सीमावर्ती नेपालको धनौजी गाउँपालिकाको भडरिया ४ सँग जोडिने सडकको सीमावर्ती क्षेत्रमा डेढ वर्ष अघिसम्म मदिरा पसल सञ्चालनमा थिएनन्। तर बिहार सरकारले रोक लगाएपछि नेपालतिर भने मदिरा भट्टी सञ्चालनका निमित्त झण्डै दर्जन भन्दा बढी घर टहरा बनाइएका छन्। 

जथाभावी रूपमा खुलेका मदिरा पसलका कारण विकृति बढेको स्थानीय एक चियापसले विजय साहको भनाइ छ। उनी भन्छन्, ‘सीमा क्षेत्रका मदिरा पसल खासगरी भारतीयलाई तान्नकै लागि खुलेका हुन्। यहाँका मदिरा भट्टीहरुमा बिहानै देखि जयनगरसम्मका मानिस सवारीसाधन लिएर नै मदिरा पिउन आउँछन्।’ उनका अनुसार भारतको बिहार राज्यअन्तर्गत मधुबन्नी जिल्लाको हरिणे, हरलाखी, बासोपट्टी, जयनगर तथा त्यस आसपासका क्षेत्रहरुबाट मदिरा पिउनकै लागि नेपाल पस्छन्। 

नेपाल–भारतका सुरक्षा अधिकारीबीच केही साताअघि सीमाभन्दा ५०० मिटरभित्र मदिरा बेच्न रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए। कणेलका अनुसार नेपाल र भारतका सिमावर्ती क्षेत्रका सुरक्षा अधिकारीबीच समन्वयनको लागि आवश्यक प्रयास भए पनि कार्यान्वयनमा स्थानीय निकायको महत्त्वपूर्ण भूमिका हुने बताउँछन्। धनौजी गाउँपालिका१ का एक होटल व्यवसायी विजयशंकर हलुवाईले भट्टीमा भीड लागे पनि प्रहरी मुकदर्शक बनेको आरोप लगाए।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अन्तर्गत सीमाको दुई सय मिटर भित्रै पाँचवटा मदिरा पसल बिहानैदेखि खुल्ला हुन्छ। स–सानो झुपडी बनाएर सञ्चालनमा ल्याइएको अवैध मदिरा पसल बाहिर ग्राहकको चाप हुन्छ। बढीजसो भारतीय ग्राहकहरूले पसल भरिभराउ हुने गरेको कुरा पसल बाहिर रोकिएका गाडीको नम्बर प्लेट हेर्दा प्रष्ट हुन्छ। 

मदिरा खाने पनि र तस्करी गरेर बिहारमा लुकाई छिपाई बेच्न पनि तस्करहरु सक्रिय हुन्छन्। तर, यी सबै क्रियाकलापहरू प्रतिदिन हुने गरे पनि प्रहरी भने अनभिज्ञ रहेजस्तो प्रतिक्रिया दिने गरेको छ। मुसहरनिया जस्तै जटही, खजुरी लगायतका गाउँमा सिमामा मदिरा पसल दिनप्रतिदिन थपिइरहेका छन्। 

बिहारमा  रोक लगाइएपछि नेपाल भारतका सुरक्षाकर्मीबीच सीमा क्षेत्रमा ५०० मिटरसम्म मदिरा बेच्न नपाउने सहमति भएको थियो। तर, यसका विपरीत गाउँ–गाउँमा अवैध रूपमा पसल सञ्चालन भइरहे पनि प्रहरी प्रशासनले नियन्त्रणका लागि कुनै पहल गरेको छैन। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.