|

इस्लाम धर्म र परिवार छाडेर चर्चामा आएकी साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ। १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकारका साथै महिला अधिकारका लागि सँधै सहयोग गर्न तत्पर रहने प्रतिक्रिया दिए। उनले संयुक्त राष्ट्रसंघले गरेको अपील अनुसार अल–कुननलाई शरण दिन तत्काल स्वीकृति दिएको बताए।

१८ वर्षीया अल–कुनन आफ्नो परिवारका साथ कुबेतको यात्रामा थिइन्, जहाँ उनले अस्ट्रेलिया जानका लागि विमान चढेकी थिइन्। अष्ट्रेलिया पुग्नका लागि बैँकक विमानस्थलमा उनलाई साउदी अधिकारीले रोक लगाएका थिए। त्यहाँबाट उनका परिवारको साथ फिर्ता गर्न खोजिएको थियो। उनी फर्किन चाहिनन् र बैंकककै एक होटलमा कोठा बन्द गरेर बसेकी थिइन्।

त्यहीँबाट उनले ट्वीटरको माध्यमबाट आफ्नो सबै कहानी सार्वजनिक गरेकी थिइन्। त्यसलगत्तै अन्तर्राष्ट्रिय रूपमा सञ्चारमाध्यमको ध्यान उनीप्रति खिचिएको थियो। त्यसपछि चर्चामा आएकी उनलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको थियो।  संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले क्यानडाले गरेको फैसलाको स्वागत गरेको बीबीसीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.