|

काठमाडौं महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल सुरु भएको छ। 

थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको छ। थाइल्याण्ड क्रिकेट एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गरेको हो। 

नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन्। 

रुविना क्षेत्री (वेलवासे) को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन विष्ट र सबनम राई छन्। 

प्रतियोगितामा १० टोलीको सहभगी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मार छन्। 

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.