|
फाइल तस्बिर

भद्रपुर (झापा) : माघे संक्रान्तिको अवसरमा कनकाई नगरपालिकास्थित कनकाई (माई) नदी किनारमा लाग्ने तीन दिने माइबेनी मेलालाई सुरक्षित तथा व्यवस्थित बनाउन सुरक्षा योजना तयार गरिएको छ।

पुस ३० देखि माघ २ सम्म सञ्चालन हुने धार्मिक मेलामा आउने भक्तजन र सहभागीहरुको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघसंस्थाहरुसँग समन्वय गरी सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

प्रदेश १ को चर्चित र ठूलो माइबेनी मेलामा भारतबाट समेत भक्तजन र सहभागीहरु आउने गर्दछन्। मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ। त्यसैले माईनदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास छ।

यस्तो छ सुरक्षा योजना 

प्रहरी कार्यालय झापाले माइबेली मेलाको सुरक्षा योजना तयार गरेको छ। योजनाअनुसार कनकाई पुल पूर्व र पश्चिम गरी मेला लाग्ने दुबै स्थलमा ३१५ प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक ढकालले बताए। उनका अनुसार मेलास्थलमा जुवातासजस्ता खेललाई बन्देज लगाइएको छ। मेलमा ड्रोन क्यामेरा र सिसि क्यामेराबाट अवलोकन गरी सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाइने प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग जोडिएको र त्यसमध्ये कनकाई पुल पर्ने भएकाले ट्राफिक व्यवस्थापन गर्न कम्तीमा ५० जना ट्राफिक प्रहरी खटाइनेछ। मादकपदार्थ बेचबिखनले मेलाको शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने भएकाले मेला लाग्ने स्थलभन्दा दुई किलोमिटर वरिपरि बन्देज लगाइने निर्णय भइसकेको उनले बताए।

अनैतिक क्रियाकलाप नियन्त्रण गर्न पाँच वटा प्रहरी टोली मेला स्थालमा खटाइनेछ। सोही टोलीले मेला स्थलको वरिपरि, जंगल तथा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने जनाइएको छ। मेलामा आउने तीर्थयात्रीहरु दोमुखा क्षेत्रमा समेत जाने भएकाले त्यस क्षेत्रमा पनि सुरक्षा टोली खटाइनेछ।

अपराधिक खबर संकलन तथा पाकेटमार नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गर्नुका साथै प्रहरी नायब उपरीक्षकको कमाण्डमा दुई वटा कमाण्ड पोष्ट खडा गरिने छ। मेलाको वारिपारि र दोमुखा क्षेत्रमा एक एक वटा गरी जम्मा तीन वटा तीर्थयात्री सहायता कक्षको स्थापना गरिने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.