|

काठमाडौं : साहित्यकार एवं नेपाल सरकारका पूर्वसहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ। 

ब्यूरो ८१ नेपालको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका सङ्घर्ष र उहाँको जीवनीमा आधारित भएर लेखिएको उपन्यासको शुक्रबार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरे।

कार्यक्रममा मैनालीले पुस्तकले नेपाली राष्ट्रियतालाई सुढृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले उपन्यासले ऐतिहासिक पात्रलाई समेटेको बताउँदै कृति पठनीय भएको बताए। नेपालमा यस्ता कृतिहरु जे जति निस्कनुपर्ने हो त्यो ननिस्किएको उनको भनाइ थियो।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले पृथ्वीनारायण शाहको योगदान समेटिएको कृति महत्वपूर्ण दिनमा बाहिर आएको बताए। 

यसले नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थपिएको र पृथ्वीनारायण शाहलाई चिन्न पुस्तकले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। 
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मुलुकलाई जोगाउनका लागि पृथ्वीनारायण शाहको महत्वपूर्ण भूमिका रहेको बताए।

“देश बनाउने व्यक्तिलाई गौरव गर्नुपर्छ, दुर्भाग्यवश विगतको इतिहासलाई वर्तमान पुस्ताले बिर्सँदै गएको छ”, उनले भने। पुस्तकका टिप्पणीकार एवं साहित्यकार प्रतीक ढकालले उपन्यासले पृथ्वीनारायण शाहको शासन व्यवस्थालाई समावेश गरेकाले पठनीय भएको बताए।

पृथ्वीनारायण शाहले नजितेको भए हामी अरु कसैको दास भएर बस्नुपर्ने उनको कथन थियो।

पुस्तकका लेखक कोइरालाले सम्पूर्ण पुस्तक पृथ्वीनारायणको वरिपरि घुमेको बताए। “म इतिहासको विद्यार्थी भएको कारणले पृथ्वनारायणको इतिहास खोजेर यो पुस्तक तयार गरेको हुँ”, उनले भने।

पृथ्वीनारायण शाह वास्तवमा देश एकीकरणका लागि जन्मेको हो कि भन्ने भान भएको उनको भनाइ थियो।

ब्यूरो ८१ नेपालका उपाध्यक्ष रामप्रसाद भट्टराईले जागिरका दौरानमा आफ्ना लेख रचना ल्याउन नसकेका स्रष्टाले पछिल्लो समय प्रकाशन गरेर आम जनतासामु ल्याउन पाएकामा खुशी व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.