|

विराटनगर : प्रदेश १ कै एकमात्रै सुगर मिल ईस्टर्न सुगर मिलले उखु काट्ने पुर्जा जारी नगर्दा पूर्वका उखु किसान चिन्तित बनेका छन्। मिलले उखु किन्ने जनाउ नदिएपछि किसानका उखु खेत मै सुक्न थालेको छ।

सुनसरीको बर्जु गाउँपालिकास्थित ईस्टर्न सुगर मिलले गत वर्ष उत्पादन गरेको चिनी बिक्री नभएको भन्दै यस पटक मिल सञ्चालन सुरु गरेको छैन। प्रदेशमै एउटा मात्रै रहेको सुगर मिलले उखु समय मै खरिद नगरिदिदा किसानको उखु खेतमै सुक्न थालेको छ।

‘पोहोर सालको पैसा पनि दिएको छैन, यस पटक उखु पनि मिलले लगेको छैन,’ जहदा मोरङका किसान सूर्यकान्त कामतले भने, ‘दिनदिनै उखु सुकेर घाटा भइरहेको छ, अर्को वर्षदेखि उखु खेती गर्न हामी सक्दैनौँ।’

मंसिर लागेसँगै उखु काटेर बिक्री गर्नुपर्नेमा पुस सकिन लाग्दासमेत मिलले उखु काट्ने जनाउ नदिदा आफूहरूको उखु सुक्न थालेको जहदाकै किसान रामअवतार कामतको भनाइ छ। ‘अब पनि उखु नकाटे सबै उखु खेतमै सुक्ने र लगानि समेत उठ्दैन,’ उनले भने।

सुनसरी, मोरङ र झापाका दुई हजारभन्दा बढी किसानले ५ हजार छ सय बिगाहा क्षेत्रफलमा लगाएको उखु खरिद गर्दै आएको इष्टर्न सुगर मिल व्यवस्थापन पक्षले अहिलेसम्म उखु काट्न पुर्जी जारी गरेको छैन।

समयमै उखु काटेर किसानले बिक्री गर्न नपाए आगामी वर्षको उत्पादनसमेत प्रभावित हुनसक्छ। गतवर्ष आवश्यकताभन्दा बढी चिनी आयात भएपछि नेपालका उद्योगको उत्पादन बिक्री हुननसकेको उद्योगीहरूको भनाई छ। उत्पादन भएको चिनीको लागतअनुसार मूल्य पाउने र खपत हुने अवस्था नआउँदासम्म उखु खरिद गर्न असमर्थ रहेको दवाव उद्योगीले किसानलाई दिँदै आएका छन्।

सरकारले उखुको समर्थन मूल्य ५३६ रुपैयाँ ५६ पैसा तोकेको छ। सरकारले दिने अनुदान ६५ रुपैयाँ २८ पैसा कटाएर ४७१ रुपैयाँ २८ पैसा प्रतिक्विन्टलमा किसानले पाउनुपर्ने हुन्छ। इष्टर्न सुगर मिल व्यवस्थापन पक्षले सरकारले तोकेको मूल्यमा उखु बिक्री गर्ने मनसाय राखे खेतमै सुकेर जानसक्ने जनाउ किसानलाई दिँदै आएको छ। मिल सञ्चालक पक्षले यसवर्ष ३८५ रुपैयाँ प्रतिक्विन्टलमा उखु उपलब्ध गराउन किसानलाई दबाव दिँदै पुर्जी जारि गर्न आनाकानी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.