|

काठमाडौंः विवेकशील साझा पार्टीले पार्टीबाट छुट्टिएर गएकाहरुलाई फर्कन आह्वान गरेको छ। पार्टी कार्यालय बखुण्डोलमा आज पत्रकार सम्मेलन गरेर विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले पार्टीबाट छुट्टिएर गएका उज्वल थापालगायत नेताहरुलाई पार्टीमा फर्कन आह्वान गरेका हुन्।

वैकल्पिक शक्ति निर्माणका क्रममा आफूहरु नयाँ र अपरिपक्व भएका कारण कमजोरीहरु हुन सक्ने भन्दै उनले त्यस्ता मतभेदलाई वार्ताबाटै समाधान गर्न सकिने बताए। पार्टी विभाजनपछि औपचारीक सम्बाद समेत नभएको संयोजक मिश्रले जानकारी गराए।

पार्टी फुटका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएका थिए। झण्डै १७ महिना अघि गठन भएको पार्टीका संयोजक मध्येका एक उज्वल थापाले हिजो नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका थिए।

मिश्रले वैकल्पिक पार्टी निर्माण गर्ने क्रममा अवरोध भएको बताए। अबरोध भएपनि आफूहरूको यात्रा नरोकिने बताए। ‘देशभरमा साथीहरु हुनुहुन्छ, हाम्रो यात्रा रोकिँदैन, अवश्य पनि अवरोध भने आएको हो,’ उनले भने, ‘साथीहरुलाई नयाँ यात्राका लागि शुभकामना दिन चाहान्छु, तर उहाँहरूले आरोप प्रत्यारोप गर्न खोज्नुभएको छ, म भने हिलो छ्याप्ने अवस्थामा छैन।’

तर, फेरि कुनै दिन आफूहरु मिल्नुपर्ने विन्दु आउन सक्ने बताए। उनले उदेश्य एउटै बोकेर हिँडेको भएपनि बुझाइमा केही फरक पर्न गएको हुनसक्ने बताए। साथै उनले फुटेर गएकाहरुलाई आरोप प्रत्यारोप नगर्न पनि अनुरोध गरेका छन्। उनले आफूले पनि आरोप प्रत्यारोप गर्न सक्ने भए पनि त्यसो नगरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.