|

बैतडी : बैतडीका ५ स्थानीय तहमा अझै बिजुली पुगेको छैन। पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत विस्तार नभएको हो। यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत सेवाबाट वञ्चित छन्।

सोलारको सहयताले काम गरिरहेका छन्। बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको र अरु कार्यालयका काम पनि प्रभावित भएका उनले बताए। मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ। तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए।

पुर्चौडी नगरपालिकाबासी बेलाबेला विद्युतकै कारण सञ्चार सेवाबाट वञ्चित हुने गरेको स्थानीयहरुले बताएका छन्। नेपाल टेलिकमको टावर समेत सोलारकै भरमा चलिरहेको छ। घाम नलागे त्यसले काम नगर्ने र टेलिफोन पनि नचल्ने बताईएको छ। नगरपालिकामा विद्युत सेवा नहुँदा स्वास्थ्य सेवा समेत प्रभावित भएको पुर्चाैँडीका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए। 

पञ्चेश्वर गाउँपालिकामा पनि सोलारवाट विद्युतिय कामकाज हुने गरेको छ। कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्पयुटर खुल्छ, पानी परेको बेला सेवाग्राहीलाई रित्तै फर्काउनु परेको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताए। बिद्युतीय उपकरणबाटै कामकाज गर्नु पर्ने भएकाले सोलारबाटै धान्न सक्दैन् उनले भने, 'लगातार दुइतीन दिनसम्म घाम नपरेको बेला ब्याट्री ब्याकपले नधान्ने भएकाले कार्य सम्पादनमा समस्या हुने गरेको छ।'  

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार १९१ घरधुरी छन्। तीमध्ये साढे १२ हजारमा मात्रै बिजुली पुगेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ। जिल्लाका केही ठाउँमा विद्युत विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.