|

कपिलवस्तु : संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणि खनाल बलदेवले वर्तमान सरकार ९ महिने सरकार नभएकाले २५ वर्षको कार्यक्रमका साथ अघि बढेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै मन्त्री खनालले यो सरकार ९ महिने सरकार नभएकोले १०० वर्षको सोच, ५० वर्ष योजना र २५ वर्षको कार्यक्रम साथ अघि बढी रहेको बताएका हुन्।

मन्त्री खनालले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा मद्दत पुग्ने विचार व्यक्त गरे। अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गीकरण गर्नु आवश्यक रहेको बताए।

देशभरिको जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको मन्त्री परिषद्ले रोकेको कित्ताकाटले पनि समस्या भएकाले स्थानीय तहको सिफारिसमा अनुत्पादन जग्गालाई मात्रै कित्ताकाट गर्नका लागि मन्त्री परिषद्ले फुकुवा गरेको उल्लेख गरे। भारत लगायत तेस्रो मुलुकबाट नेपालजस्तो कृषिमा निर्भर मुलुकले चामल लगायत माछा, मासु, तरकारी, फलफूल आयात गर्नु दुःखद् भएकाले कृषि क्षेत्रलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेको खनालले बताए।

मन्त्री खनालले गृह जिल्ला कपिलवस्तुमा कृषि अनुसन्धान केन्द्र लागी शनिबार जग्गाको अवलोकन गरेका छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका ४ देउपुरा गाउँमा रहेको जग्गा उनले शनिबार अवलोकन गरे। ७ वटै प्रदेशमा अनुसन्धान केन्द्र बनाउने योजना अनुसार प्रदेश ५ को सेन्टरमा पर्ने स्थानमा अनुसन्धान केन्द्रका स्थापना गर्ने योजना अनुसार मन्त्री खनालले जग्गाको अवलोकन गरेका हुन्। प्रदेश ५ का सबै जिल्लाको लागि सेन्टर पर्ने जिल्ला कपिलवस्तु भएकोले जिल्लालाई केन्द्र बनाउने योजना रहेको अवलोकनका क्रममा मन्त्री खनालले बताए।

प्रदेश ५ को कृषि अनुसन्धान केन्द्र हाल बाँकेमा रहेकोले सबैलाई पायक नपरेको हुँदा त्यहाँ भएको कृषि अनुसन्धान केन्द्रलाई यथावत राखी कपिलवस्तुमा नयाँ केन्द्र स्थापना गरिने उनले जनाए। केन्द्रका लागि कम्तीमा १५० विगाहादेखि ३०० विगाहा जग्गा आवश्यकता पर्ने हुँदा जिल्लाको विजयनगर गाउँपालिका ४ देउपुरा गाउँको सुरई नदिको पश्चिम किनारमा रहेको करिब २५० विगाहा जग्गाको मन्त्रीले अवलोकन गरे। नदी उकास क्षेत्रमा रहेको उक्त खाली जमिनको अवलोकन गर्दै कृषि अनुसन्धान केन्द्रका लागि उपयुक्त स्थान भएको उनले जनाए।

देशमा करिब ६६ प्रतिशत किसान रहेको र करिब ८५ प्रतिशत कपिलवस्तुमा कृषि पेशामा आधारित भएकाले कपिलवस्तु प्रमुख प्राथमिकतामा रहेको मन्त्री खनालले बताएका छन्। कृषिमा आधारित कपिलवस्तुको विजयनगर अरु स्थानीय तह भन्दा पिछडिएको भएर सकेसम्म विजयनगरमा नै केन्द्र स्थापना गर्ने आफ्नो योजना रहेको उनले उल्लेख गरे। मन्त्रीको गृह जिल्ला कपिलवस्तुमा ३ प्रमुख योजना रहेको मन्त्री खनालले उल्लेख गरे। जिल्लामा पशु अनुसन्धान केन्द्र, माछा अनुसन्धान केन्द्र र बागवानी अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.