|

काठमाडाैं :  शिक्षकहरूले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा अयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ।
धेरैजसो शिक्षक कुनै न कुनै पार्टीमा आबद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि आयोगले शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउन खोजेको बुझिएको छ।

यसै गरी उक्त प्रतिवेदनमा अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गर्न वार्षिक रुपमै बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ। शिक्षा क्षेत्रको भौतिक सुधार गरी वार्षिक करिब २० अर्ब रुपियाँ बजेट छुट्टयाउन माग गरिएको छ। निःशुल्क अनिवार्य, शिक्षक दरबन्दी, प्रधानाध्यापकको ५ वर्षे करार नियुक्तिलगायतका विषय कार्यान्वयन गर्न करिब २ खर्ब ९० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ।

मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग बजेटको बारेमा छलफल गरेका थिए। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरिएको करिब ४ सय पेज लामो प्रतिवेदनमा सबै प्रकारका विद्यालयलाई एक दशकभित्र एउटै ढाँचामा ल्याउने विषय उल्लेख गरिएको छ।

सबै किसिमका विद्यालयलाई सेवामूलक बनाउने विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको आयोगका एक सदस्यले जानकारी दिए। यसअघि तयार गरेको खाकामा आगामी ७ वर्षभित्र सबै निजी विद्यालयलाई ट्रस्ट वा गुठीमा लैजाने उल्लेख गरिएको थियो भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।

निजी विद्यालयको लबिङपछि ३ वर्ष थपेर १० वर्ष कायम गरिएको छ । सो प्रावधानको निजी विद्यालयको संगठन प्याब्सन र राष्ट्रिय प्याब्सनले विरोध जनाउँदै आएका छन्। उनीहरुले यस्तो प्रावधान भए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

यसै गरी उच्च शिक्षाअन्तर्गत विभिन्न विश्वविद्यालयले गठन गरेको सेवा आयोग विघटन गरी एकीकृत सेवा आयोग निर्माण गर्ने उल्लेख छ। विश्वविद्यालयमा राजनीतिक प्रवेशमा रोक लगाइएको छ । सबै विश्वविद्यालयका पदाधिकारी नियुक्तिको आधार योग्यता र सक्षमता आधार तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.