|

  • नन्दबहादुर रोकाया-

मुगु : मान्छेलाई अनेकौँ किसिमका अप्ठ्यारा, सुख, दु:ख आइपर्छन् तर मान्छे विभिन्न किसिमले जिउने गरेका हुन्छन्। कोहीले सुखका साथ जीवन बिताएका हुन्छन् त कसैले दुखै दु:खमा जीवन बिताएका हुन्छन्। सुख भएको बेला मात्तिने र दु:ख भएको बेला आत्तिने मान्छे गतिलो हुनै सक्दैन भनिन्छ। जीवन संघर्ष हो, संर्घष गर्नुपर्छ अनि समाजका लागी केही गर्नुपर्छ भन्ने मान्छे मात्र यो संसारमा सफल भएका छन्। त्यस्तै सफल व्यक्तिका रूपमा परिचित छन्- छायानाथ रारा नगरपालिका- १३ थार्प गाउँका ४१ वर्षका पूर्व राष्ट्रिय धावक अक्कल बोहोरा।

वि.सं. २०३४ मा बुबा महेलाल बोहोरा र आमा गोरी बोहोराको कोखबाट दोस्रो सन्तानको रूपमा जन्मिएका छ भाइ र पाँच बहिनीमध्येका एक भाइ हुन्, अक्कल। दु:खले अर्काको घरदेखि सुखले स्पेनसम्म पुर्‍याएको छ। अक्कल अहिले स्पेनमा बस्दै आएका छन्। ‘मैले जीवनमा भोगेका दु:खलाई अनुसरण गर्दै संर्घष गरेरै आज स्पेनमा बस्न पाएको हुँ', बोहोराले भने। सानै उमेरमा अर्काको घर बसेर हुर्के पढेर पाएको दु:ख अहिले सम्झिन्छन् उनी। 'सोच्छु, पहिला यति दु:ख नपाएको भए सायद अहिले स्पेनमा बस्न पाउँदिनथेँ', उनी भन्छन्, 'जति अर्काका घरमा बस्दा पीडा भयो, त्यति नै खुसी मिलेको छ।'

जीवन भोगाइका कहानी

छ भाइ, पाँच बहिनी गरी ११ जनाको परिवार, आमाबुबा बेरोजगारी सँगै घरधन्दा चलाउन धौधौ भयो उनलाई। 'म छ वर्षको उमेरमा पनि विद्यालय जान पाइनँ। त्यसैबीच एक जनाले बुबालाई तपाईंको छोरालाई म पढाइदिन्छु भनेर सुनाएछन्', उनी भन्छन्, 'बुबा घरमा आएर छोराछोरी धेरै छन्, पढाउन सक्ने अवस्था छैन। एक जना सरले म पढाइदिन्छु तपाईंको छोरालाई भन्नुभएको छ। तँ बाठोटाठो छस्, जा राम्रोसँग पढ्नू, ठूलो मान्छे बन्नू भनेर सरको साथमा बुबाले मलाई काठमाडौं पठाउनुभयो।'

छ वर्षको उमेरमा काठमाडौं त गए तर भनेजस्तो पढ्न पाएनन् अक्कलले। पढ्न भन्दै गएको घरमा बालश्रम गर्न बाध्य भए उनी। हरेक समस्याले पिरोल्दै गए। पढ्न नपाएको पीडा एकातिर थियो र अर्को पीडा घरायसी रूपमा बिहानदेखि बेलुकासम्म कामको बोझ र पीडै पीडाले पिरोल्दै गयो।

केही महिनापछि अब घर जार्नुपर्छ भन्ने सोच आयो उनलाई तर कसरी जाने? निर्णय गर्न सकेनन्। अहिलेको जस्तो पहिले विकास भएको थिएन। काठमाडौंदेखि मुगु आउन सक्ने सामर्थ्य नै नभएको बोहोरा बताउँछन्। 'काठमाडौं गएपछि पहिलो पटक रेडियो देख्न र सुन्न पाइयो, त्यही रेडियोकै माध्यमबाट घर पुग्न सहज भएको थियो', बोहोराले भने। एक दिन रेडियो सुन्दै गर्दा हराएका कोही हुनुहुन्छ भने प्रहरीलाई खबर गर्नुहोला भन्ने सुने। त्यसपछि त्यो घर छाडेर खोज्दै प्रहरीकहाँ पुगे। प्रहरीकहाँ गइसकेपछि उनलाई कहाँ हो घर? कताबाट आएको हो भनेर सोधे।

उनले साहुको घरमा बस्छु, मेरो घर मुगु हो भनिन् किनकि प्रहरीले फेरि त्यही घरमा पुर्‍याइदिन्छ कि भन्ने सोचले प्रहरीलाई भनिन्, 'बुबासँग आएको, बुबा कता हराउनुभयो।' त्यसपछि प्रहरीले उनलाई मुगुसम्म ल्याउनका लागि सहयोग गरे र उनी घर मुगु आए। 'घरमा आउँदा पनि सुख पाइएन, पुरानै पीडाले सतायो। यताका मान्छे धन कमाउन भारत जान्छन् भन्ने थाहा थियो। धन कमाउन भन्दै भारततिर लागे उनी पनि। भारतमा गइसकेपछि। कहिले भारी बोक्ने, ग्यास सिलिन्डर घरसम्म पुर्‍याइदिने, मजदुरी गर्ने, दाउरा बोक्नेजस्ता काम गर्दै आए बोहोराले। 'त्यस्तै दु:ख गर्दै त्यही भारतका मेजरको घरसम्म पुगेँ', उनले भने।

त्यसपछि तिनै मेजरका घरमा बस्दै आए। काम गर्दै आए र कराते खेल्ने अवसर पनि त्यहीँ पाएको बोहोराले बताए। भारतमा मेजरको घरमा बस्दाबस्दै इन्डियन आर्मीमा भर्ना भए उनी र आर्मी पनि भए। '१३ महिनाजति काम गर्दै जाँदा मलाई फरक अनुभूति भएजस्तो लाग्यो र म नेपाली हुँ शिर कहिल्यै झुकाउँदिनँ भन्ने लाग्यो', उनले भने, 'अर्काको देश, अर्काको झण्डा र अर्काको देशको राष्ट्रिय गान गाउँदा के म नेपाली हुँ कि भारतीय? अर्को देशमा यस्तो दु:ख गर्नुभन्दा नेपालमा गएर सके गरौँला, नसके यस्तै जागिर खाउँला भन्ने सोच गर्दै फेरि नेपाल फर्किएँ।'

अनेक दु:ख खेप्दै प्रहरीमा भर्ना भएका बोहोराले भने, 'प्रहरीको जागरी खाँदै गर्दा २०५७ सालमा सशस्त्र प्रहरीको स्थापाना भयो। केही प्रहरी साथी त्यस संस्थामा गए। त्यसभित्र म पनि परेछु।' पछि कमाण्डो तालिम गर्नुपर्ने भयो। त्यसका लागि भारत जार्नुपर्ने भयो। 'कमाण्डो तालिम गर्न बलियो मान्छे नभए त सकिँदैन', उनी भन्छन्। कमाण्डो तालिमका ४५ हजारमध्ये आफू एक सफल कमाण्डर भएको बोहोरा बताउँछन्। कमाण्डो तालिमपछि काठमाडौं आएको र कमाण्डो तालिम गरेका सबैलाई विशेष मान्छेको सुरक्षार्थ खटाइएको उनले बताए।

जाँगरले साथ दिएको म्याराथन यात्रा

देशमा जनयुद्ध चर्किएकै बेला उनी जागिर खान पुगे। कमाण्डो तालिम गरेकाले विशेष ठूलै मान्छेको सुरक्षामा खटिएका थिए उनी। बिहान ४ बजे दौडने गर्थे उनी। अब दौडबाट केही प्रगति गर्नुपर्छ भन्ने सोच विचारका साथ बिहान बिहान दौडन थालेको बाहोराले बताए। बिहान सधैँ दौडिन जाँदै गर्दा राष्टिय खेलाडी भेटिने, स्थानीय भेटिने र सबैले हेलाको दृष्टिले हेर्ने गर्थे उनलाई। 'जुम्ली, मुगुलीले के प्रगति गर्न सक्छ? त्यसै नौटंकी मात्र गर्दै छ भन्ने म सुन्थेँ तर उहाँहरूकै हेपाहा प्रवृत्तिले र आफ्नो संघर्षले यो म्याराथनमा सफल भएँ', बोहोरा भन्छन्। त्यसपछि पहिलो पटक विश्व साइकल यात्री पुष्कर शाहसँग भेट भयो उनको। 'उहाँको पनि धेरै हात छ मलाई यो स्थानमा ल्याइपुर्‍याउनमा', उनले भने।

उनले पनि केही सिकाएको बताउँछन् बोहोरा। '१०० रुपैयाँले म विश्व यात्रा गर्दै छु भन्ने कुरा सुनेँ र मैले मनमनै अठोट गरेँ- अब केही गर्नुपर्छ', बोहोरा भन्छन्, 'पहिलादेखि नै मनमा थियो कसरी ठूलो मान्छे बन्ने होला, कसरी समाज सेवा गर्ने कामको अवसर मिल्ला भन्ने। एक दिन दौडिँदै गर्दा एक जना क्याम्पस पढ्ने साथीले आफ्नो क्याप्पसबाट दौड प्रतियोगितामा भाग लिइदिन आग्रह गरे तर मैलै म त सशस्त्र प्रहरी हुँँ, कसरी यो सम्भव हुन्छ भनेँ।' त्यसपछि साथीले क्याम्पसमा भर्ना भएको परिचयप्रत्र बनाइदिन्छु, दौडमा भाग लिइदिनुहोला भनेपछि उनी बिएड तेस्रो वर्षको परिचयपत्र बनाएर दौडमा भाग लिए र प्रथम पनि भए। प्रथम भएसँगै जताततै समाचार आएछ।

निम्स क्याम्पसले दौड प्रतियोगिताको पदक हात पार्‍यो भन्ने समाचरा आयो। सशस्त्र प्रहरी महानिरीक्षकले पनि थाहापाएछन् र एक जना हवल्दारको कानबाट बोहोराले सुनेछन्, 'तपाईंले संगठनबाट गेम नखेलेर किन यस्तो गर्नुभयो भन्दै भेट्न बोलाउनुभएको छ।' उनलाई डर लाग्यो र डरै डरका बीच बोहोरा आइजिपीसम्म पुगे। 'उहाँले अबदेखि हाम्रो क्लबबाट मात्रै खेल खेल्ने भन्ने निर्देशन दिनुभयो, म फर्किएँ।' त्यसलगत्तै सिंगापुरमा विश्व म्याराथन भयो। त्यसमा विश्वभरका खेलाडीले भाग लिएका थिए। त्यस म्याराथनमा ३७औँ स्थानमा आउन सफल भए उनी। त्यसपछि म्याराथनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तमा सहभागी हुने अवसर पाए र सफल हुँदै यो स्थानमा पुगेको बोहोरा बताउँछन्।

देश छाड्नुको कारण

कसलाई आफ्नो देशको माया लाग्दैन र! बाध्यताले धेरै युवा विदेशिन बाध्य भएका बोहोरा बताउँछन्। 'धेरै अन्तर्राष्ट्रियस्तरका म्याराथनमा भाग लिएर नेपालको नाम उँचो राखेँ तर खेल क्षेत्रपछि मेरो जीवन के त? भन्ने आफूलाई आफैँ पश्न गरेँ', बोहोरा भन्छन्, 'काठमाडौं म्याराथन भयो, विश्वभरका खेलाडी नेपाल आए। त्यही म्याराथनमा पहिलो भएँ र त्यसपछि फ्रान्स जाने अवसर पाएँ।'

युरोपका देशहरूमा शान्ति सुरक्षा अन्य देशको तुलानामा बलियो छ। लुटपाट, मारपिट हुँदैन भन्ने थाहा थियो उनलाई। 'त्यसैले मैलै खेल क्षेत्रपछि मेरो जीवनलाई कुन मोडमा लैजाने, त्यो मेरो हातमा भरपर्छ भन्ने लाग्यो। नेपाल जाऊँ, हाम्रो देशको हालत थाहा नै छ। खेल क्षेत्रपछि खेलाडीको सम्मान हुँदैन', उनले भने, 'त्यसैले फ्रान्स गएकै मौकामा म त्यतै बसेँ।' धेरै दिनसम्म रोडमा भोकभोकै सुतेको बोहोराले बताए। त्यसपछि एसएसपी गोविन्द वलीसँग भेट भएको र उनीसँग स्पेन आएको बोहोरो बताउँछन्।

स्पेनमा पनि राराको बारेमा प्रचार

नेपाल जति सानो छ, त्यति नै सुन्दर छ। नेपाल अन्य देशको तुलनामा पर्यटकीय हिसाबले अगाडि नै रहेको छ। तर प्रचार प्रसार नहुँदा नेपाल कहाँ छ, यहाँ के छन्? भन्नेबारे कसैलाई जानकारी नभएर नेपाल पछि परेको उनको बुझाइ छ। 'हामीले नेपाललाई अनि रारालाई विश्वमा प्रचार प्रसार गर्न नसक्दा हामी ओझेलमा छौँ। त्यसैले म स्पेनमा बस्छु तर नेपालको याद, नेपालमा बिताएका पल मेरा लागि अविष्मरणीय छँदै छन्', बोहोरा भन्छन्। देशमा पनि नेपालको सबैभन्दा ठूलो ताल राराको प्रचार प्रसार गरे केही पर्यटकले राराका बारेमा थाहा पाउँछन् र रारा जाने पर्यटक बढ्छन् भन्ने हिसाबले स्पेनमा बसे पनि राराका बारेमा जानकारीसहितको पिजा, कोकुनलगायत मासुको व्यापार गर्दै रारा, नेपाल र नेपालीका बारे प्रचार प्रसार गर्दै आएको बोहोराले बताए।

यस्तो प्रचार प्रसार गरेमा नेपालमा रारा ताल पनि छ। त्यहाँ विश्वमा नै नपाइने तीन प्रकारका असला जातका माछा पाइन्छ भन्ने सन्देश विश्वभर थाहा हुने उनको बुझाइ छ। रारा तथा नेपालमा आउने पर्यटक विस्तारै बढ्ने र नेपालको आन्तरिक राजस्वमा पनि वृद्धि हुने भएकाले विदेशमा बस्ने नेपालीलाई नेपालका बारेका प्रचार प्रसार गर्न आफूले आग्रह गर्दै आएको र आफूले पनि प्रचार प्रसार गर्दै आएको बोहोरा बताउँछन्।

विदेशबाटै नेपाली र मुगालीलाई सहयोग

जब मान्छेले जीवन के हो, कसरी जिउनुपर्छ भन्ने थाहा पाउँछ, त्यो मान्छे सफल भई समाजमा पनि केही परिवर्तन गर्न प्रेरित गराउँछ। त्यस्तै, जीवनमा अनेकथरीका दु:ख भोग्दै आज यो स्थानमा आए पनि कसैलाई देख्दा त्यो स्थानमा आफू हुँदाको अवस्था सम्झिने बोहोरा बताउँछन्। जीवनमा धेरै दु:ख पाए पनि अर्काको घरमा बस्दा आफू बिरामी हुँदाको क्षणलाई सम्झिँदै विभिन्न समस्यामा परेकाहरूलाई सहयोग गर्ने गरेको बोहोरा बताउँछन्। उनले भने आजसम्म आफूले मुगुलगायत जिल्लाका बाहिरका भूकम्पपीडित, बाढीपीडितहरूलाई पनि सहयोग गर्दै आएको र व्यक्तिगत १८ लाख रुपैयाँसम्म सहयोग गरेको बोहोरा बताउँछन्।

हिजोआज नेपाल आएको र यो समयमा पनि समाजमा केही उदाहरणीय काम गर्नुपर्छ भन्ने लागेर आफ्नै जन्मथलो थार्प गाउँ थाप गाउँ र छिमेकी गाउँ लापगाउँमा ३७० मिटर बाटो पिसिसी गर्ने काम गरिरहेको बोहोराले जानकारी दिए। 'हामीले आफैँ केही गर्न सक्छौँ, अर्काको मुख ताक्ने बानीको विकास भइरहेकाले त्यसको अन्त्य गर्न र जनप्रतिनिधिलाई समाज विकास गर्न सिकाइ होस् भन्ने हिसाबले यो कार्यको थालनी गरेको हुँ', उनी भन्छन्, 'यसमा सबै स्थानीय गाउँलेले साथ दिएका छन्।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.