|

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो। नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णयअनुसार रेसुङ्गा नगरपालिकाको घोषणा गरिएको हो। पछि पुनर्संरचना आयोगको सिफारिसमा साविकको पराल्मी गाविसलाई समेत समेटेर १४ वटा वडामा नगरपालिकालाई विभाजन गरी २०७३ फागुन २७ गते राजपत्रमा प्रकाशित भएपछि रेसुङ्गा नगरपालिका बनेको छ।

यस नगरापलिकाको क्षेत्रफल ८२.७४ वर्ग किलोमिटर छ। रेसुङ्गा नगरपालिकाको पूर्वमा गुल्मीदरबार गाउँपालिका, पश्चिममा धुर्कोट गाउँपालिका र अर्घाखाँची जिल्ला, उत्तरमा इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका, दक्षिणमा अर्घाखाँची जिल्ला पर्छन्। यस नगरपालिकाको जनसंख्या ३२ हजार ५३८ रहेको छ, जसमध्ये महिला १८ हजार १९४ र पुरुष १४ हजार ३५४ जना छन्। यस नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल रहेका छन्। थाहाखबरकर्मी तिलाचन पाण्डेले समसामयिक सन्दर्भमा यस नगरका विविध पक्षबारे नगर प्रमुख डिल्लीराज भुसालसँग गरेको कुराकानी प्रस्तुत छ।

स्थानीय तहको निर्वाचन भएको यस समय अवधिसम्ममा उल्लेख्य कामहरू के के भए?

निर्वाचन भएर आउँदा १४ वडा एकै ठाउँमा थिए। सबै जनप्रतिनिधि र कर्मचारीलाई बस्ने ठाउँ थिएन। हामीले नयाँ घर खोजी गरी कार्यालय व्यवस्थित गरियो। त्यसैगरी १४ वटै वडा कार्यालय स्थापना गरियो। सबै वडा कार्यालयमा इन्टरनेटको व्यवस्था गरी सबै वडाबाट राजस्व उठाउने व्यवस्था मिलाइयो। शहरी विकास कार्यालय भैरहवाबाट बजार क्षेत्रका नाली र सडक मर्मत सुधार गर्न सात करोड र दुई करोड १० लाख रुपैयाँ टेन्डर भइसकेको छ। बजारमा पहिला गरिएको पिच खाल्डा परेकाले ६५ लाख रुपैयाँ बराबरको काम भएको थियो। यस वर्ष करिब ६५ लाख रुपैयाँ बराबरको काम तल्कालै सुरु हुन्छ। गाउँगाउँमा खरका छाना विस्थापित गर्ने कार्यक्रम रहेको छ।

जिल्ला अस्पतालमा प्रभावकारी सेवा उपलब्ध गराउन अत्याधुनिक एक्सरे मेसिन जडान हुँदै छ। निर्वाचनमा जनताको अपेक्षा धेरै भएकाले ससाना खानेपानी, सडकमा लगानी भयो, अब ठूला योजनामा लगानी हुन्छ। समग्रमा रेसुङ्गा नगरपालिकाबाट सम्पादन गरिने प्रशासनिक तथा विकास गतिविधि नगरपालिकाकै संलग्नतामा सेवा प्रवाह जनताको घरदैलोमा पुर्‍याउनुपर्छ भन्ने सिद्धान्तअनुरूप नगरपालिकाका सेवा प्रवाहका लागि जनताको घरदैलोमा पुग्ने प्रयास गरेको छ। अपितु ससाना कार्यक्रम सम्पादन गर्दै दीर्घकालीन योजनाबमोजिम ठूला योजनाहरू संचालन गर्ने सोचमा छौँ।

स्थानीय तहको अधिकांश बजेट बाटोघाटो र डोजर लगाउनमै सकियो भन्ने आरोप छ नि?

यस नगरपालिकाको अधिकांश भूभाग पहाडी, बस्ती छरिएर रहेको र सबै बस्तीमा सडक नपुगेकाले सडक बनाउनुपर्ने थियो। सो पूरा भएको छ। सबै बस्तीमा सडक पुगेको छ। अब स्तरोन्नति गर्ने सोचमा छौँ साथै भौतिक पूर्वाधार विकासमा हामी राष्ट्रिय महत्त्वका योजनाहरू संचालनको तयारीमा छौँ।

स्थानीय तहबाट केही होला र पाउँला भन्ने आशामा रहेका स्थानीयहरूले करै कर तिर्नुपर्‍यो भन्ने छ नि! पहिले र अहिले करको अनुपात कतिले फरक छ?

हामी करको दर होइन, दायरा बढाउने पक्षमा छौँ। कर संकलन र सदुपयोग यस नगरपालिकाले सेवा लागत तथा मितव्ययिताको सिद्धान्त अवलम्बन गरेकाले करसम्बन्धी कुनै विवाद तथा जनगुनासो छैन।

नगरपालिकाको कामबाट पालिकाका स्थानीयहरू सन्तुष्ट छन्?

जनताका अपेक्षा धेरै छन्, स्रोत साधन कमी छ। हामीले प्राप्त स्रोत साधनलाई अधिकतम उपयोग गरेका छौँ। जनताका माग, चाहना पूरा गर्न हामी कटिबद्ध छौँ।

सिंहदरबारको अधिकार गाउँगाउँमा भनेजस्तै सेवा दिन सकिएको छ कि छैन?

सेवाग्राही सेवा लिन सेवा प्रवाह गर्ने निकायमा होइन, सेवा प्रवाह गर्ने निकाय जनताको घरदैलोमा जानुपर्छ भन्ने महान् प्रशासनिक दर्शनअनुसार हाम्रो टिम अगाडि बढिरहेको छ।

नीय सरकारलाई स्थानीय सरकारको रूपमा रूपान्तरण गर्न समग्र क्षेत्रमा समाजिक परिचालन गरी जनता तथा सरकारबीच सुमधुर समन्वय गरी समग्र गतिविधिहरू नागरिकमैत्री बनाउनु स्थानीय तहका समस्याहरू हुन्।

कृषि र पशुपालनमा युवाहरूलाई आकर्षित गर्न सक्नुभएन भन्ने आरोप छ नि?

हो, हामीले कृषिमा सोचेजति लगानी गर्न सकेमा छैनौँ। कृषिका लागि सडक यातायात, संकलन केन्द्र निर्माणको प्रक्रियामा छौँ। संघीय तथा प्रदेश सरकारसँगको साझेदारीका कार्यक्रम संचालन गरिनेछ। यसपछि मात्र कृषिमा अपेक्षित उपलब्धि देखिनेछ।

समृद्ध नगरपालिका बनाउनका निम्ति संभावना र तपाईंका योजनाहरू केके छन्?

फोहोरमैला व्यवस्था चुनौतीको रूपमा रहेको  छ। यसको समाधानका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोरबाट आम्दानी गर्ने योजनामा छौँ। यसका लागि कार्यक्रम अगाडि बढिसकेको छ। त्यसैगरी रेसुङ्गा नगरपालिकामा पानीको अभाव छ वडा नं.-  ३ स्थित मझेङ्ग खोलाको खानेपानी स्रोत छ। सो पानी लिफ्टिङ गरेर ल्याउन सकियो भने नगरपालिकाका १४ वटै वडाका लागि आगामी ७० वर्षसम्मका लागि खानेपानीको सुविधा पुग्ने गरी यो योजना संचालन हुँदै छ र आगामी तीन वर्षमा यो योजना पूरा हुनेछ।  कोल्डस्टोरसहितको कृषि संकलन केन्द्र स्थापना हुँदै छ। रेसुङ्गा पर्यटन विकासका लागि डिपिआर तयार भएको छ। तम्घासमा सुविधा सम्पन्न अस्पताल बनाउन भवनको डिपिआर बनेको छ। रेसुङ्गा नगरपालिकाको एकीकृत शहरी विकास योजना अन्तिम चरणमा छ। धेरै कार्यको शुभारम्भ गरिएको छ। नतिजा देखिन केही समय लाग्छ।

हालसम्म कति कानुनहरू निर्माण गर्नुभयो र केके छन्?

नगरलाई आवश्यक पर्ने १५- १६ वटा कानुन निर्माण गरिसकिएको छ भने केही कानुन निर्माणको क्रममा छन्। आवश्यकता र औचित्यको आधारमा कानुन निर्माण गरिनेछ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो छ?

जनप्रतिनिधि र कर्मचारी एक सिक्काका दुइटा पाटा हुन्। दुईवटै पक्षबिना जनताका चाहाना पूरा हुन सक्दैनन्। कर्मचारीको संक्रमणकालीन अवस्थाले केही समस्या भएको पनि छ। कर्मचारी समायोजनपछि कामहरू अधि बढ्नेछन्। म कर्मचारीसँगको सम्बन्ध सुमधुर राख्न प्रयासरत छु।

आगामी दिनका योजनाहरू के छन्?

पर्यटन विकास, वातावरण व्यवस्थापन, शिक्षा, कृषि तथा पशु विकास, भौतिक पूर्वाधार, नवीन प्रविधिको प्रयोग, रोजगारी सिर्जना, प्रभावकारी सेवा प्रवाह हाम्रा आगामी योजना हुन्।

स्थानीय तहका खास समस्याहरू के देख्नुभएको छ?

स्थानीय सरकारलाई स्थानीय सरकारको रूपमा रूपान्तरण गर्न समग्र क्षेत्रमा समाजिक परिचालन गरी जनता तथा सरकारबीच सुमधुर समन्वय गरी समग्र गतिविधिहरू नागरिकमैत्री बनाउनु स्थानीय तहका समस्याहरू हुन्। यी समस्याहरू हल गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाई थप लगानीका क्षेत्र पहिचान गर्न हाम्रो टिम अहोरात्र खटेको छ। यसमा सहयोग गर्न सम्पूर्ण सरोकारवालाहरूलाई हामी हार्दिक अनुरोध गर्छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.