|

रुकुम : रुकुम पूर्वमा एक महिनादेखि विभिन्न वडामा ‘एक घर एक धारा’को लागि सर्वे काम जारी रहेको छ। प्रदेश नम्बर ५ सरकारमार्फत उक्त सर्वे काम चलिराखेको हो। खानेपानीको लागि घण्टौँ लामो पैदल तथा अन्य समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी यस्तो कार्यक्रम अघि सारिएको हो। भूमे गाउँपालिकाको वडा नम्बर १,२,३, र ९, सिस्ने गाउँपालिकाको वडा नम्बर १ र २  र पुथा उत्तरगंगा गाउँपालिकाको कोल गाउँमा सर्वे गरिने बताइएको छ। अहिलेसम्ममा भूमे गाउँपालिकाको वडा नम्बर २,३ मा र सिस्ने गाउँपालिकाको वडा नम्बर १ सर्वे गरिएको छ।

बाँकी ठाउँमा सर्वे काम जारी रहेको एबिएनइवाई लेवल सर्वेका सिभिल इन्जिनियर सुदर्शन पाण्डेले बताए। उनका अनुसार पानीको मूल नभएको गाउँमा लिफ्ट विधिबाट पानी ल्याउने गरि सर्वे गरिराखिएको छ। यस आर्थिक वर्षमा प्रदेश नम्बर ५ सरकारबाट उक्त योजनाको सर्वे तथा कामको कार्यान्वयनको लागि मात्र बजेट आएकोे भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए। ‘यस बजेट साविकको काँक्री र मोराबाङ गाविसको लागि ३५/३५ लाख रकम आएको छ,’ उनले भन्, ‘त्यसैगरि पुथा उत्तरगंगाको कोल गाउँ र भूमे ९ चुन्बाङका लागि सर्वे काममा २ लाख २५ हजार र कार्यन्वयनको लागि ४५ लाख रकम यस आर्थिक वर्षमा आएको छ।’

सिस्ने गाउँपालिकामा पनि त्यसै अनुपातमा बजेट आएको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताईन। एक घर एक धाराको सर्वेले स्थानीय नागरिक खुसी भएका छन्। भूमे गाउँपालिका वडा नम्बर २ गाबाङका सतबहादुर बुढाले १० वर्षको अन्तरालमानै धेरै परिवर्तनको साथै विकास यात्रा थालिएको बताए।  ‘केही वर्ष अघिमा एक दुई घण्टाको बाटोबाट पानी ल्याउनु परेको थियो, त्यस पछि २०६४ सालदेखि आज सम्ममा आ–आफ्नो टोलमा पानी पाएका थियौँ’ उनले भने, ‘अब आफ्नै जीवनकालमा आफ्नै घरमा धारा पनि बन्ने भयो।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.