|

काठमाडौ‌ं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ। 

महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो। जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको बताए। उनले भने, ‘आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो।’ 

महाशाखाले सिसिटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । सिसिटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ । 

लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई ५०० रुपैयाँ जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.