थाहा संवाद : स्थानीय सरकार

'प्रदेश र संघीय सरकारबाट गाउँपालिकालाई असहयोग भयो'
SHARES

माघ २, २०७५

    ओखलढुंगा : चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्ला सदरमुकामदेखि दूरीको हिसाबमा नजिक देखिए पनि करिव १६ कोस टाढा उत्तरपश्चिममा अवस्थित पहाडी धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो। समुद्री सतहदेखि एक हजार मिटरदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको यस गाउँपालिकाको पूर्वमा ओखलढुंगा जिल्लाकै सुनकोसी मोलुङ गाउँपालिका र पश्चिममा लिखु गाउँपालिका, सिन्धुली र रामेछाप जिल्लाको रामेछाप नगरपालिका पर्छन् भने उत्तरमा लिखु गाउँपालिका, खिजीदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिका र दक्षिणतर्फ सिन्धुली जिल्ला पर्छन्।

    १२६.९१ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको यस गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार १८ हजार ६९१ जनसंख्या रहेको छ भने तीन हजार ११८ घरपरिवार रहेका छन्। १० वटा वडा रहेको यो गाउँपालिका साविकका पलापु, कालिका, फेदीगुठ, फूलबारी, बिलन्दु, रानीवन गाविस मिलेर बनेको गाउँपालिका हो।

    दलित, जनजाति र अन्य विभिन्न जातिको साझा थलो रहेको यो गाउँपालिका सबै जाति, सबै धर्म, सबै भाषा, सबै संस्कृति र संस्कारको साझा थलोको रूपमा रहेको छ। वेँसीका फाँट देखि उच्च भूभाग लेकसम्मको यो भूभाग जैविक विविधतायुक्त छ। ओखलढुंगा जिल्लाकै पर्यटकीयस्थल चम्पादेवी, उच्चस्थल मालिङ्गेडाँडा र घना जंगल भएको गौरी वन यसै गाउँपालिकामा पर्छन् भने लिखु नदी यसै गाउँपालिकामा रामेछाप जिल्लालाई सिमाना बनाएर बगेको छ। यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले रमणीय छ।

    आदिवासी जनजाति तथा विभिन्न जातिहरूको परम्परागत सांस्कृतिक रीतिरिवाज, धर्म संस्कृति र प्राकृतिक सौन्दर्य बोकेको भए पनि यो गाउँपालिका विकास निर्माणका दृष्टिकोणले केही वर्षयता मात्र अगाडि बढ्दै गरेको देखिन्छ।

    सडक यातायातको वर्षभरि पहुँच नपुग्नु, व्यावसायिक कृषि प्रणाली हुन नसक्नु, जडिबुटीको पहिचान हुन नसक्नु तथा पर्यटकीय क्षेत्रमा विकास हुन नसक्नु यहाँको प्रमुख चुनौती रहेको छ भने तत्‍तत् क्षेत्रको विकास गर्नु यस गाउँपालिकाको अवसर रहिआएको छ।

    जिल्लाको यही गाउँपालिका अध्यक्ष नवराज केसी आफ्नो कार्याकालमा गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने लक्ष्यका साथ लागिपरिरहेका छन्। बुबा रणबहादुर केसी र आमा गायत्रादेवी केसीका तेस्रो सन्तानका रूपमा ०२६ साउन १० गते जन्मिएका उनी विद्यार्थी समयदेखि नै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध रही राजनीतिमा होमिएका उनी नेपाली कांग्रेसको तर्फबाट ०७४ को स्थानीय तह निर्वाचनमा चम्पादेवी गाउँपालिकामा विजयी भएका थिए।

    आफ्नै घर छेउमा रहेको विद्यालयबाट प्ररम्भिक शिक्षा लिएका उनले ज्ञानप्रकाश मावि घोराखोरीबाट एसएलसी परीक्षा दिएपछि पशुपति क्याम्पस चाबहिलबाट स्नातक गरेका हुन्। २०४६ सालअघिदेखि निरन्तर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहेका केसी अहिले नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सचिवसमेत रहेका छन्। पछिल्लो समय गाउँपालिकामा सत्ता पक्ष र प्रतिपक्षबीच भएको कलहले जिल्लामा ठूलो रूप लिइरहेका बेला गाउँपालिका अध्यक्ष नवराज केसीसँग थाहाखबरकर्मी मनोज भट्टराईले गरेको कुराकानी प्रस्तुत छ।

    तपाईंले चुनावका समयमा जनतासँग गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो?

    मैले चुनावका बेला मतदातासँग धेरै प्रतिबद्धता गरेको थिएँ तर जनतालाई अतिआवश्यक तीन प्रतिबद्धताचाहिँ पूरा गर्न लागिपरेको छु। यहाँको सबैभन्दा समस्या भनेको सडक, खानेपानी र विद्युत हो। सडक हरेक वडाको टोलटोलमा पुग्न लागिसकेको छ। वडा नं.- १० मा केन्द्रीय विद्युत प्रसारण लाइन पुगिसकेको छ भने अन्य वडामा स्थानीयस्तरमा निर्माण गरिएका माइक्रो हाइड्रोबाट विद्युत आपूर्ति गरिएको छ।

    चम्पादेवीमा धेरै समस्या रहेको खानेपानीको हो। खानेपानीका लागि पहल गरिरहेको छु। गाउँपालिकाको दश हजार बढी जनसंख्या रहेको पलापुमा डिप बोरिङ र पंपिङ प्रणलीबाट सुनकोसीको पानी दैनिक दुई लाख लिटर गाउँमा ल्याउने योजना बनिरहेको र ०७६ सालभित्र पलापुका सबै घरघरमा खाने पानी ल्याइपुर्‍याउने लक्षका साथ लागिएको छ भने कालिकामा पनि सोही प्रणलीबाट लिखु नदीको पानी ल्याउन तल्लीन छौँ।

    गाउँपालिकामा सबैभन्दा समस्या रहेको खानेपानीका लागि यो वर्ष पनि एक करोड रुपैयाँमाथि बजेट विनियोजन गरिएका कारण कालिकाको पोखरे, रानीवन, फूलबारी, घोराखोरी, पलापुका धेरै स्थानमा खाने पानी पुग्नेछ।

    आउँदा दिनमा गाउँपालिकामार्फत् जनताका लागि के गर्ने योजना बनाइरहनुभएको छ?

    गाउँपालिकामा सबै वडाको सबै टोलटोलमा मोटरबाटो पुगेपछि गाउँपालिकामा रिङरोड, चम्पादेवी वृहत खानेपानी योजनामार्फत् घरघरमा खानेपानी धारा, उज्यालो चम्पादेवीको सपना बोकेर हिँडेको छु। संभवत: यो योजना आफ्नै कार्यकालमा पूरा गर्ने लक्ष्यका साथ लागिपरेको छु।

    यो डेढ वर्षको अवधिमा गाउँपालिकामा शैक्षिक गुणस्तर बढाउनका लागि केके गर्नुभयो?

    आफूले जितेर आएपछि हामीले शिक्षामा जिल्लामै राम्रो काम गरेको अनुभूति गरेका छौँ। आफ्नै पाठ्यपुस्तक तयार गरी लागू गरिएको छ। विद्यार्थी नभएका स्थानका विद्यालय गाभिएको छ, शिक्षक नभएका ठाउँमा शिक्षक भर्ना गरिएको छ। गाउँपालिकामा आफ्नै पाठ्यपुस्तक लागू गर्ने जिल्लामै पहिलो गाउँपालिका चम्पादेवी भएको दाबी गर्छु। गाउँपालिकाभरि रहेका विद्यालयमा विद्यार्थीमा एकरूपता ल्याउनका लागि एउटै पोसाक अनिवार्य गरिएको छ। शैक्षिक गुणस्तर बढाउनका लागि चम्पादेवी जिल्लामै पहिलो गाउँपालिका भएको छ।

    जिल्लामा अन्य स्थानीय तहहरूभन्दा चम्पादेवी गाउँपालिका किन बढी चर्चामा छ?

    यहाँ विपक्षी राजनीतिक दलका साथीहरूले राम्रो कामको पनि गलत चर्चा गरेर गाउँपालिकाको नै बदनामी गर्न लागिरहनुभएको छ। शिक्षामा हामीले राम्रो काम गरेका छौँ, संभव नभएका विकासका कामहरू गरेका छौँ, गाउँपालिकाको आफ्नै ऐन बनाएर कर्मचारी भर्ना गरेका छौँ। राम्रो कामको जिल्लामा रहेका सबै पत्रकार मित्रहरूले पनि चर्चा गरिरहनुभएकै छ। 

    स्थानीय संचार माध्ययमले हाम्रो कामको मूल्यांकन गरेका छन्। जे होस्, राम्रो कामको जहाँ पनि चर्चा हुने नै गर्छ तर ०४८ देखि सत्ताको स्वाद चाखिरहेका मान्छेहरूलाई यो पटक जनताले सत्ताच्युत गरेका कारण उहाँहरू अत्तालिएर यो हर्कत गर्नुभएको हो। उहाँहरूले विलकुलै राजनीतिक संस्कार बिर्सिएर यो हौवा फिँजाइरहनुभएको छ।

    विपक्षी दलले सधैँ बदनाम नै चाहन्छ र?

    चाहँदैन तर हाम्रोमा यही भएको छ। हरेक कामको विरोध गरिन्छ, हल्ला गरिन्छ। आफूले गरेको गल्ती केही देखिन्नँ तर अरूले गरेको कामको सधैँ बदनामी नै गरिरहनुहुन्छ उहाँहरू।

    जिल्लामा अन्य स्थानीय तहमा सत्ता पक्ष र विपक्षी दलहरू मिलेरै काम गरेको देखिन्छ तर चम्पादेवी गाउँपालिकाको विवाद र अनियमितताको विषय सामान्य विवाददेखि अदालत र अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म पुग्यो नि?

    गाउँपालिकामा रहेको जिल्लाकै दोस्रो अग्लो स्थान मालिङ्गे डाँडा र चम्पादेवीलाई पर्यटकीय हब बनाउने लक्ष्यका साथ लागिपरेका छौँ। मालिङ्गेबाट सूर्योदय तथा सूर्यास्तको दृश्य राम्रो देखिनुका साथै विभिन्न हिमशृंखलाहरू समेत देखिन्छन्। यहाँ एउटा भ्यू टावर निर्माण गरी आन्तरिक तथा बाह्य पर्याटक भित्र्याउन विशेष पहल गरिरहेका छौँ

    हो, साथीहरूले यहाँ सामान्य विवाद गर्नु भएकै हो। सत्तापक्ष र विपक्षबीच सामान्य टकराव तथा विवाद भएन भने सत्तापक्षले एकलौटी काम गर्छ भन्ने मान्यता हो मेरो। तर साथीहरूले नचाहिँदा कुराहरूमा अलिक बढी किचलो गरिरहनुभएको छ। अनियमितताको विषयलाई लिएर चार महिनाअघि अख्तियारमा मुद्दा हाल्नुभयो। हामीले पनि लिखित जवाफ पठाइसकेका छौँ। पछिल्लो समय फेरि कर्मचारी भर्नाको प्रक्रिया गलत भयो भन्दै उच्चअदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा मुद्दा दर्ता गर्नुभएको छ तर स्थानीय सरकार संचालन ऐन, ०७४ अनुसार स्थानीय तहको कानुनबमोजिम हामीले कर्मचारी नियुक्ति गरेका कारण उहाँहरू यो विषयमा पनि एक कदम पछि पर्नुहुन्छ। वडा कार्यालयले विभिन्न योजना फरफारक गरिसकेपछि वडा अध्यक्षको हस्ताक्षर चोरी भयो भनेर हल्ला गर्नुहुन्छ। यहाँ अनौठो छ चलन।

    कर्मचारी नियुक्ति गर्दा आफ्ना कार्यकर्तालाई मात्रै अवसर दिइएको भन्ने आरोप पनि छ त?

    विलकुलै निराधार आरोप हो किनकि २० जना शिक्षक नियुक्त गर्दा १५ जना नेकपा समर्थित मान्छे नियुक्ति गरीएको छ, पाँच जना प्राविधिक नियुक्ति गर्दा तीन जना उहाँहरूकै मान्छे आएका छन् अनि कसरी आफ्ना कार्यकर्ता भर्ना गरिएको भन्ने?

    आफ्नो गाउँपालिकामा त विवाद देखिएकै छ, संघीय सरकार र प्रदेश सरकारबाट सहयोग पाउनुभएको छ कि छैन?

    वास्तवमा यो गाउँपालिकामा फरक राजनीतिक दलले स्थानीय निर्वाचन जितेका कारण संघीय सरकार र प्रदेश सरकारबाट यहाँका योजनामाथि हस्तक्षेप भएको छ। प्रदेश सरकारमा हामीले पठाएका योजनाभन्दा फरक योजनालाई प्राथमिकता दिएको पुष्टि भइसकेको छ। गाउँपालिकाबाट विभिन्न तीन योजना सिफारिस गरी पठाएको भए पनि प्रदेश सरकारको ठाडो हस्तक्षेपमा अन्य योजनाहरूमा बजेट विनियोजन भएको छ। यो फरक राजनीतिक दलको स्थानीय सरकार भएकै कारण हस्तक्षेप गरिएको हो।

    गाउँपालिकामा कृषि तथा पर्यटन क्षेत्रमा के गर्ने लक्ष्य राख्नुभएको छ?

    विशेष गरी गाउँपालिकाका विभिन्न स्थानमा कृषि पकेट क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ लागिएको छ। वडा नं. १ र २ लाई कपासको पकेट क्षेत्र बनाउन लागिपरेका छौँ किनकि यहाँ उत्पादित खाडीको कपडालाई देशभर चिनाउन कपासको पकेट क्षेत्र बनाउनुपर्ने देखिएको छ। यसका लागी यस वर्ष पनि केही बजेट विनियोजन गरिएको छ। त्यस्तै, वडा नं. ७, ८, ९ र १०  लाई अलैँची पकेट क्षेत्र घोषणा गरिँदै छ। यस वर्ष पनि यहाँ तीन लाख बढी अलैँची रोपिएको छ। वडा नं.- ३ को सिल्खु बेँसी जिल्लाकै राम्रो धान उत्पादन हुने स्थान हो। यसलाई धानको पकेट क्षेत्र बनाउँदै छौँ भने अन्य स्थानमा माटो सुहाउँदो खेती गरिने लक्ष्यका साथ लागेका छौँ।

    त्यस्तै, गाउँपालिकामा रहेको जिल्लाकै दोस्रो अग्लो स्थान मालिङ्गे डाँडा र चम्पादेवीलाई पर्यटकीय हब बनाउने लक्ष्यका साथ लागिपरेका छौँ। मालिङ्गेबाट सूर्योदय तथा सूर्यास्तको दृश्य राम्रो देखिनुका साथै विभिन्न हिमशृंखलाहरू समेत देखिन्छन्। यहाँ एउटा भ्यू टावर निर्माण गरी आन्तरिक तथा बाह्य पर्याटक भित्र्याउन विशेष पहल गरिरहेका छौँ र ककनी चम्पादेवी धार्मिकस्थलमा धार्मिक पर्यटक भित्र्याउन र ककनी चम्पादेवी संरक्षणका लागि वृहत ककनी चम्पादेवी योजना बनाई यसको डिपिआरसमेत तयार भएको छ। यहाँ धार्मिक पर्यटक भित्र्याउनका लागि विशेषगरी साँघुटार घोराखोरी दलीडाँडा ककनी र नवलपुर पलापु सिद्धपोखरी फेदीगुठ ककनी पदमार्ग निर्माणको योजना बनाइरहेका छौँ।

    अन्तमा, आफूले जनाताका लागि गर्नै पर्ने कही काम भए र हाम्रो संचार माध्यममार्फत् के भन्न चाहनुहुन्छ?

    हामीले गर्नैपर्ने अर्काे काम भनेको बिलन्दुमा रहेका आधा दर्जन तामाखानी संरक्षण तथा उत्खनन्‌का लागी पहल गर्नुपर्नेछ। विभिन्न स्थानमा रहेका धार्मिकस्थलहरूको पहिचान र प्रचार प्रसार गरी धार्मिक पर्यटक बढाउने प्रयत्नका साथ लागिपर्नेर्छौं। विशेषगरी दुई वर्षभित्र उज्याले चम्पादेवी, घरघरमा पानीको धारा बनाउन र वैदेशिक रोजगारीमा जाने युवाहरूलाई केही गरे यहीँ हुन्छ भन्ने नाराका साथ कृषिमा लाग्न लालायित बनाउने योजना बनाएका छौँ। खाडीको कपडालाई देश विदेशसम्म पुर्‍याउने लक्ष्यका साथ लागिपरेको छु। आफ्नो कार्यकालमा चम्पादेवीलाई विकासबाट फड्को मारेर आर्थिक उन्नतिमा लैजाने प्रणका साथ लागिपरेको छु।

मनोज भट्टराई

भट्टराई थाहा खबरका ओखलढुंगा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]