|

काठमाडौं : साहित्यकार युग पाठक 'अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघ'को अध्यक्षमा निर्वाचित भएका छन्।

अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको मोरक्कोको रबातमा सम्पन्न नवौं अधिवेशनले नेपालका साहित्यकार युग पाठकलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो। पाठक यसअघि उक्त संघको उपमहासचिव निर्वाचित भएका थिए। उनी सन् २०१६ मा उपमहासचिव निर्वाचित भएका थिए।

अध्यक्ष निर्वाचित भएपछि अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु नेपालको लागि एक गौरवपूर्ण चुनौती भएको बताए। विभिन्न युद्ध र गरिबी बेहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानको माध्यमबाट बुलन्द गरिराख्न आफूले संस्थालाई योगदान गर्ने उनको प्रतिबद्धता थियो।

अधिवेशनले इजिप्टका सरिफ अल सुबासीलाई संघको महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव चुनिएका छन् । त्यसैगरी उपमहासचिवमा अफ्रिका महादेशबाट नाइजेरियाका लेखक डा. ओले ओकेदिरान, एसियाबाट पाकिस्तानका इम्दाद आकाश र ल्याटिन अमेरिकाबाट कोलम्बियाका फिरान्डा रान्दोन निर्वाचित भएका छन्।

जनवरी ११ देखि १३ सम्म भएको अधिवेशनअन्तर्गत ‘जेरुसेलम अन द वल्र्ड सिन’ विषयमा एक अन्तक्रिया कार्यक्रम रहेको थियो। जेरुसेलमको इतिहास र वर्तमानमाथि गम्भीर परिचर्चा भएको उक्त कार्यक्रममा अरब विश्वका विज्ञहरूले विचार राखेका थिए। इजरायली अतिक्रमणका विरुद्ध प्यालेस्टाइनी जनताले गरिरहेको संघर्षप्रति उक्त कार्यक्रमले ऐक्यबद्धता पनि जनाएको बताइएको छ।

अधिवेशनबाट पारित रबात घोषणाले संसारमा बढिरहेको असहिष्णुताप्रति पनि चिन्ता व्यक्त गरेको छ। बंगलादेश, भारत, म्यानमार, प्यालेस्टाइन लगायत तेस्रो विश्वका जनताले बेहोर्न परिरहेको आन्तरिक र बाह्य चुनौतीको सामना हतियारबद्ध युद्धबाट भन्दा बौद्धिक र सांस्कृतिक आन्दोलनहरूबाट गरिनुपर्ने मत अधिवेशनले पारित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.