१७ बुँदे मिछुर्लुङ घोषणापत्र जारी गर्दै सकियो तेस्रो संघीय बैठक

|

तनहुँ : नेपाल आदिवासी पत्रकार महासंघ(फोनिज)को संघीय समितिको तेश्रो पूर्ण बैठक १७ बुँदे मिछुर्लुङ घोषणापत्र जारी गर्दै तनहुँमा सम्पन‍्न भएको छ। तनहूँ जिल्लाको भीमाद नगपालिका ५ मिछुर्लुङ बसेको बैठकले फोनिजलाई संघीय संरचनामा रूपान्तरणको घोषणा गरेको हो। बैठकले फोनिजको राष्ट्रिय भेला आगामी फागुन ८ गते कास्कीका आयोजना गर्ने निर्णय गरेको छ। 

फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा सम्पन्न मिछुर्लुङ बैठकले संविधानअनुसार मुलुक संघीय संरचनामा गएसँगै आफ्नो संगठन संरचनालाई पनि संघीय संरचनामा निर्माण गरेको हो। सोही अन्तर्गत सातवटै प्रदेशमा आयोजना गरिएका प्रदेश भेलाबाट गठित तदर्थ कमिटीलाई फोनिजको तेस्रो बैठकले अनुमोदन गरेको छ। 

बैठक १७ बुँदे घोषणापत्रसमेत जारी गर्दै सकिएको छ। घोषणापत्रमा, श्रमजीवी पत्रकार ऐन एवं सरकारले तय गरेको न्यूनतम् पारिश्रमिक सबै सञ्चारमाध्यममा तत्काल कार्यान्वयन गर्नुपर्ने, सरकारले हालै निर्माण गरेको समावेशी सञ्चार नीति संघ, प्रदेश र स्थानीय सरकारमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सरकारी तथा निजी सञ्चार माध्यमहरूमा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडी पारिएको क्षेत्रलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने व्यवस्था गर्न आग्रह गरिएको छ। 

यसैगरी केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदायका पत्रकार सम्वद्ध संघ संस्थालाई न्यायोचित रूपमा वितरण गर्न, आदिबासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तथा सशक्तिकरणका लागि तालिम प्रशिक्षणका निम्ति सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्न, आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कार, संस्कृतिको सम्वर्धन हुनेगरी सरकारी तथा निजी सञ्चार माध्यमहरुबाट अनिवार्य रुपले कार्यक्रम प्रकाशन र प्रसारण गर्ने नीति निर्माण गर्न घोषणापत्रमा आग्रह गरिएको छ।

प्रदेश र स्थानीय सरकारले आदिवासी जनजाति तथा लोपोन्मुख समुदायको उत्थान तथा प्रवर्धनलागि आवश्यक बजेटको व्यवस्था गरी त्यसको समुचित रुपमा वितरण गर्न, सबै क्षेत्रमा समानुपातिक, समावेशी विज्ञापन नीति लागु गर्न, आदिवासी जनजाति समुदायको विषय उठान गर्दै आएका मातृभाषी सञ्चार माध्यमहरुको निरन्तरता तथा क्षमता अभिवृद्धिका निम्ती आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरिएको छ। 

यस्तै नेपाल पत्रकार महासंघको हालै सम्पन्न भएको विराटनगरको राष्ट्रिय भेलामा प्रस्तावित प्रत्यक्ष निर्वाचन प्रणालीलाई स्वागत गर्दै निर्वाचनमा समानुपातिक, समावेशीताको सिद्धान्तको आधारमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधानको व्यवस्था गर्न आग्रह गरिएको छ। 

मुलुकी देवानी (संहिता) २०७४ र मूलुकी फौजदारी (संहिता) ऐन २०७४ तथा गोपनियताको हकसम्बन्धी व्यवस्थामा प्रेस स्वतन्त्रतालाई संकुचन पार्ने प्रावधानहरु संशोधन गरी प्रेसमैत्री बनाउन सुझाव कार्यदलले दिएको प्रतिवेदन सार्वजनिक गरी तत्काल कार्यान्वयन गर्न, सबै प्रदेश तथा स्थानीय सरकारमा आदिवासी जनजाति समुदायको बाहुल्यता भएको ठाउँमा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा अवलम्बन गर्न, नेपाल सरकारले गरेको आदिवासी जनजाति समुदायका मौलिक चाडपर्वहरुको विदा कटौतीको निर्णयहरु पुनरावलोकन गर्ने प्रक्रिया सरकारले थालेकोमा स्वागत गर्दै छुट भएका आदिवासी जनजातिको प्रमुख चाडमा सार्वजनिक विदाको व्यवस्था गर्न माग गरिएको छ।

बैठकले भीमाद नगरपालिकालाई नमुना नगरपालिका निर्माण अभियान प्रवर्द्धन कार्यमा फोनिजको तर्फबाट सञ्चार माध्यममार्फत सहयोग तथा पैरवी गर्ने एवं मिछुर्लुङ सामुदायिक होमस्टे (घरबास) लाई नमुना होमस्टे बनाउने नगरपालिका र होमस्टे समितिको योजनामा सञ्चार माध्यममार्फत प्रचारप्रसार गरेर आवश्यक सहयोग समेत घोषणापत्रमा उल्लेख गरिएको छ।

यसैगरी बैठकले दीर्घ रोग लागेर उपचाररत पत्रकार विजय रानामगर, रञ्जु दनुवार तथा दिवंगत मकरध्वज (एमडी) कुलुङको आश्रित परिवारलाई आर्थिक सहयोगको आव्हान समेत गरेको छ। फोनिज संघीय समितिको तेस्रो पूर्ण बैठक तथा फोनिज गण्डकी प्रदेशको प्रथम प्रदेश भेला भीमाद नगरपालिका ५ मिछुर्लुङ (सामुदायिक होमस्टे)मा आयोजना गर्नका निम्ति नगरपालिकाका प्रमुख मेखबहादुर थापा मगर र नगरपालिका प्रमुखले सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.