|
File Photo

प्रहरी इन्काउन्टरमा मारिएका व्यक्ति नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधी रहेको खुल्न आएको छ। ती व्यक्ति विभिन्न फौजदारी तथा अपराधिक मुद्दामा प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कुख्यात अपराधी रहेको रुपन्देही प्रहरीले जनाएको छ। 

सीमा क्षेत्र सिद्धार्थनगर १० शंकरपुरीबाट तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीमाथि फायरिङ गरेपछि जवाफी फायरिङमा मृत्यु भएका ती व्यक्ति विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमोद ढुङगेलले जानकारी दिए। 

‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली खटाएका थियौँ’, रुपन्देहीका एसपी हृदय थापाले भने, ‘भारतीय नम्बरको मोटरसाइकल आएका दुई व्यक्तिले एकाएक प्रहरीमाथि फायरिङ गरेपछि जवाफी कारवाहीमा साहानी मारिएका हुन्।’

प्रहरीका अनुसार मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार छन्। उनीहरू सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरूले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको १० थान गोली बरामद भएको उनले बताए।

प्रहरी प्रमुख थापाले कुख्यात अपराधि साहानीको इन्काउन्टर प्रहरीका लागि ठूलो उपलब्धि रहेको बताए। उनले साहनीका साथीहरूको पनि खोजी व्यापक पारेकाले केही दिनभित्रै पक्राउ गरी सार्वजनिक गर्ने बताए। मारिएका साहनी एक हप्ता अगाडि पनि भैरहवामा माक्स लगाएर घुमिरहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ। मृतक सहानीका परिवारले शवको सनाखत गरेको प्रहरीले  जनाएको छ। शवको पोस्टमार्टको लागि भीम अस्पतालमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.