|

डडेल्धुरा : महाकाली नदीमा साहसिक जलयात्रा र्‍याफ्टिङ सुुरु गरिएको छ। नदीमा आइतबारदेखि पहिलो पटक व्यवसायिक रुपमा र्‍याफ्टिङ सुरु गरिएको हो। 

परशुराम नगरपालिकाले परीक्षण गरी र्‍याफ्टिङ सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ। महाकाली नदी किनारमा रहेको चार धामहरुलाई एकापासमा जोड्न परशुरामधामलाई जोड्न र्‍याफ्टिङ सञ्चालनमा ल्याएको नगर प्रमुख भीमबहादुर साउदले बताए।

परशुराम नगरपालिका–५ को कल्पट्टेबाट र्‍याफ्टिङ सुरु गरिएको थियो। कलपट्टेबाट परशुरामधाम रहेको स्थान बाङघाटसम्म साढे चार किलोमिटरको जलयात्रा सुरु गरिएको नगप्रमुख साउदले बताए। 

‘आन्तरिक तथा छिमेकी भारतका पर्यटक धार्मिक क्षेत्र परशुरामधाममा भित्र्याउन र्‍याफ्टिङ सञ्चालन गरेका हौँ। यसले भारत नेपालका स्थानीयबीच आपसी सम्बन्ध पनि बिस्तार हुने छ,’ नगरप्रमुख साउदले भने, ‘पूर्णगिरिमा आउने भक्तजनहरुलाई जलयात्रा मार्फत परशुराममा ल्याइ कञ्चनपुरको महेन्द्रगरमा रहेको सिद्धनाथमा लगिने छ।’ 

र्‍याफ्टिङ कर्णाली टुर एण्ड ट्राभल्सले सञ्चालनमा ल्याएको छ। ‘हामीले सम्भाव्यता अध्ययन गरेर बोट सञ्चालन ग¥यौ,’ कर्णाली टुर एण्ड ट्राभल्सका सञ्चालक देवराज जैशीले भने ‘सुरक्षित रुट भएकाले परिक्षण सफल भएको छ।’ नगरपालिकासँगको सम्झौताअनुसार माघ ८ सम्म बोट सञ्चालन गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.