|

कञ्चनपुर : माघीमा आउने पाहुनाका लागि सुगुँरको मासुको चाँजोपाँजो मिलाउने, अन्ती धानको गुलियो जाँड, मदिरा, काठ दाउराको व्यवस्था, माछाको जोहो मिलाउने कार्य कञ्चनपुरका थारु समुदायले गरेका छन्। माघी आउन एक दिन अघि अर्थात साेमबार सुँगुर मार्ने चलन छ। जसलाई थारु समुदायले ‘जिता मनार्’ भन्ने गरिन्छ।

माघीका दिन भने थारु समुदायले हत्या वा बलि दिने कार्य गर्दैनन्। महिलाले कलात्मक कपडा सिउने, बुन्ने र सालका पातको दुना टपरी बनाउने कार्य सकेका छन्। महिलाहरू व्रतालुका लागि पकवान बनाउनका लागि  बेफुर्सदिला भएका छन्। माघी थारु समुदायको दशैं पछिको ठूलो पर्व हो। थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन्। माघी पर्वसँगै नयाँ कामको सुरुवात हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेको स्थानीय थारु अगुवाहरू बताउँछन्।

थारुहरू प्रकृतिपूजक हुन्। माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरिन्छ। प्राचीन कालमा थारुहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ। वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय हो माघे संक्रान्ति। 
माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ।

माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ। माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन पनि थारु समुदायमा रहेको थारु सञ्चारकर्मी धनबहादुर चौधरीले बताए। माघी पर्वकै समयमा वर्षभरि के गर्ने भनेर योजना समेत बनाउने गरिएको छ।

थारु बुद्धिजीवीका अनुसार घरपरिवार र समाजलाई कसरी अगाडि बढाउने भनेर गम्भीर रुपमा छलफल गर्ने र वर्षभरिको लागि योजना तय गर्ने गरिएकाले पनि यस पर्वलाई नयाँ वर्षको रुपमा थारु समुदायले लिने गरेका छन्। थारु समुदायले गाउँमा माघी मनाउनु पूर्व गरिने तयारीका लागि आफ्ना भलमन्सालाई सोधपुछ गरी अनुमति लिने, छलफल गर्ने, खानपानको व्यवस्थापन मिलाउने लगायतका कार्य भइरहेको भागिराम चौधरीले बताए।

नयाँ वर्षका रुपमा माघी पर्व मनाइने भएकाले पढाई तथा रोजगारीका लागि बाहिरिएका थारु समुदायका व्यक्तिहरू पनि माघी मनाउनका लागि आफ्नै घर फर्केका छन्। माघीमा गाँउघरमा ढोग स्यावा लाग्ने, दिदी बहिनीलाई कोसेली सहित भेटन जाने, मघौटा नाचको आयोजना गर्ने, अंशवंण्डा गरिने, गुरुवा केशौका र बडघर चुन्ने लगायत कार्य परम्परागत कालदेखि चल्दै आएको उनको भनाई रहेको छ। 

माघे संक्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ। माघीमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा निसराउ भनिन्छ। माघीका दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरूप चेलीबेटीलाई उपहार दिइन्छ।

माघी मनाउन माइती आएका छोरीचेलीहरूलाई घर फर्किने बेला निसराउ दिएर विदा गर्ने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.