विचार

चाडपर्वको खानपान : संस्कृति मात्र होइन स्वास्थ्यरक्षा पनि
SHARES

पुस ३०, २०७५

    सनातन परम्परामा विशेषगरी जाडो, गर्मी र वर्षा गरी तीन ऋतुको व्यवस्था छ। साथै यीसँगै जोडिएर आउने वसन्त, ग्रीष्म र हेमन्तको उल्लेख पाइन्छ। यसरी कालगणनाका लागि वर्षमा ६ ऋतुको व्यवस्था गरिएको छ।

    ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्य रक्षा हुने र मानिसले चाहेअनुरूप पुरुषार्थ गर्न सक्ने बताइएको छ। एक ऋतु सकिएर अर्को लाग्दा पहिले गरिएका खानपान र दिनचर्या परिवर्तन गरी नयाँ शैली अपनाउनुपर्ने निर्देश आयुर्वेदमा छ। 

    जाडो महिनामा शरीरलाई उष्णता प्रदान गर्ने घिउ, गुड र तिलबाट बनेका पदार्थ खाने निर्देश पाइन्छ। हिजोआज माघे संक्रान्तिका दिन मात्र घिउ चाकु, तिलका लड्डु र खिचडी खाने गरेको पाइन्छ। तर जाडो रहुञ्जेल नै यस्ता पदार्थ खानुपर्ने विधान आयुर्वेदअन्तर्गतका ग्रन्थमा पाइन्छ।

    हाम्रा चाडपर्व, संस्कृति र खानपान ऋतुसम्बद्ध छन्। मौसमअनुसारका चाडपर्व र चाडपर्वअनुसारका खानपान नेपाली संस्कृतिको पहिचान हो। कृषिप्रधान देश भएकाले कृषि उपज तयार हुने समय र चाडपर्वका समयहरू सँगसँगै पर्छन्। ती ती समयमा उत्पादन भएका वस्तुहरू देवता–पितृलाई चढाएर खाने परम्परा छ।

    हाम्रा चाडपर्व, संस्कृति र खानपान ऋतुसम्बद्ध छन्। मौसमअनुसारका चाडपर्व र चाडपर्वअनुसारका खानपान नेपाली संस्कृतिको पहिचान हो। कृषिप्रधान देश भएकाले कृषि उपज तयार हुने समय र चाडपर्वका समयहरू सँगसँगै पर्छन्। ती ती समयमा उत्पादन भएका वस्तुहरू देवता–पितृलाई चढाएर खाने परम्परा छ। 

    नेपाली समाजमा नागपञ्चमीमा नागको पूजा गरी नाग र अन्य देवीदेवतालाई चढाएपछि मात्र हरिया मकैको प्रयोग गर्ने गरिन्छ। मकैलाई पोलेर वा भुटेर खानको लागि नागपञ्चमीसम्मै कुर्ने चलन पहाडी भेगमा अझै छ। कतिपय भागमा त दुधिला मकै निचोरेर त्यसको दूधमा खीर पकाएर खाने समेत गरिन्छ।

    श्रावण शुल्क पूर्णिमाको दिन गुरु पुरोहितबाट यज्ञोपवीत र धारण रक्षाबन्धन गरी विभिन्न प्रकारका गेडागुडी भिजाएर टुसा उमारी पकाइएको क्वाँटी खाने चलन छ। विशेषगरी काठमाडौं उपत्यका, त्यसमा पनि नेवारी समुदायमा मात्र रहेको क्वाँटी खाने चलन हिजोआज सबैले अपनाएको पाइन्छ। 

    जनैपूर्णिमामा मरमसला हालेर बनाएर खाएको क्वाँटी क्वाँटीको रस पौष्टिक एवं स्वास्थ्यवर्धक मानिन्छ। यसैगरी तीजको अघिल्लो दिन नेपाली महिलाहरूले दर खाने गर्दछन्। दर खाँदा ठाउँ अनुसार पाइने विभिन्न पदार्थ खाइन्छ। सबैतिर प्राप्त हुने दूधबाट बनेको खीर, ढकने आदिको साथै फलफूलहरूको प्रयोग गरिन्छ। 
    यस्तै भाद्रशुक्ल पञ्चमीको दिन महिलाहरू सप्तर्षिको पूजा गरी भोजनको रूपमा कन्दमुलहरूको प्रयोग गर्दछन्। नखनी र नजोती उम्रेका बोटबाट प्राप्त हुने अन्न खानुपर्ने मान्यता छ। त्यस्ता पदार्थ नपाइए पनि कर्कलोको तरकारीसँग भोजन गर्ने गर्छन्।

    सनातन धर्म मान्ने नेपालीहरूको प्रमुख चाड बडादशैँमा शक्तिको उपासना गर्ने स्थानमा बलि दिइन्छ। बलि दिएका पशुको मासु प्रसादस्वरुप खाइन्छ। नेपालीहरू ती मासुलाई विभिन्न परिकार बनाएर खान्छन्। बलि नदिनेहरू अन्य मौसम अनुसारका तरकारी फलफुल खाएर दशैँ मान्छन्। दशैँको मासु च्युरा, केरा मुछेर खाइने दहीच्युरा आदि प्रसिद्ध छन्। पहिले पहिले दशैंको लागि भनेर घैया(विशेष प्रकारको धान) को चिउरा कुट्ने चलन थियो। 

    दशैपछिको ठूलो चाड तिहार पनि खानपानको दृष्टिले महत्वपूर्ण मानिन्छ। लक्ष्मीपूजाको दिन प्रत्येक घरमा बनाइने सेल नेपालीहरूको प्रिय परिकार हो। सेलरोटी लगायतका अन्य मिठाईहरू साझँमा लक्ष्मीलाई चढाएपछि खाइन्छ। भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई दीर्घायुको कामना गर्दै टीका लगाइदिएर सेलरोटी, मसला र फलफूल आदि दिने गर्छन्।

    कार्तिक शुल्क एकादशीको दिन सनातन धर्मालम्बी (विशेषगरी वैष्णव) चार महिनाअघि आँगनमा रोपिएको तुलसीको विवाह गरिदिन्छन्। यो दिन भगवान् विष्णुलाई चढाइने उसिनेका पिँढालु र सक्खरखण्ड बदाम आदि उनीहरूको त्यो दिनको भोजन हुने गर्दछ। यो समयसम्म हरेकले आफ्नो खेती घरघरमा भित्र्याइसकेका हुन्छन्। नवान्न (नयाँ अन्न) देवीदेवता र पितृलाई हवन गरेर खाने संस्कृति छ। हिजोआज भने  द्वादशीको दिन तुलसीको विशेष पूजासँगै होम गरी नवान्न हवन गरिन्छ। यो दिन तुलसीलाई चढाइने र होम गरिने दही चामलले विशेष महत्त्व राख्छ। 

    जाडो महिनामा शरीरलाई उष्णता प्रदान गर्ने घिउ, गुड र तिलबाट बनेका पदार्थ खाने निर्देश पाइन्छ। हिजोआज माघे संक्रान्तिका दिन मात्र घिउ, चाकु, तिलका लड्डु र खिचडी खाने गरेको पाइन्छ। तर जाडो रहुञ्जेल नै यस्ता पदार्थ खानुपर्ने विधान आयुर्वेदअन्तर्गतका ग्रन्थमा पाइन्छ।

    यसैगरी नेवारी परम्परामा मंसिर शुक्ल पूर्णिमाको दिन योमरी बनाउने परम्परा छ। चामलको पिठो र चाकुद्वारा निर्मित योमरी देवीदेवतालाई चढाएर मात्र खाइन्छ। हिउँदमा गहुँ भित्र्याएपछि राटी वा पुरी बनाएर देवता पितृलाई चढाएर खाएपछि मात्र अन्य प्रयोग गर्ने चलन छ।

    यसैगरी वैशाख शुक्ल तुतीयाको दिन ब्रह्मा–विष्णु–शिवको स्वरूप जल घडाको पूजा–दान गरी सर्वत र जौको सातु खाने परम्परा छ। गर्मी याममा खाइने खाइने सर्वत र सातुले केही हदसम्म भए पनि शीतलता दिन्छ।

    कार्तिकमा धान भित्र्याएपछि न्वागी खाने, वैशाखमा जौ पाकेपछि सातु बनाएर खाने, जनैपूर्णिमामा क्वाँटी खाने, असार १५ मा दही च्यूरा र साउन १५ मा खीर खाने, माघे संक्रान्तिमा घिउ–चाकु खाने जस्ता परम्परा ऋतुसम्बद्ध एवं मानव स्वास्थ्यनुकुल देखिन्छ। 

    जाडो महिना सुरु हुँदा खाइने न्वागी गर्मी याममा खाइयो भने के होला? असोज महिनामा पर्ने दशैँमा जस्तो पाँच सात दिनसम्म मासु खाए गर्मीयाम भए के होला? यस्तै सबै पक्षलाई आत्मसात गर्दै नेपालीहरूको खानपान पद्धति चल्दै आएको छ। 

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]