|

काठमाडौं : माघे संक्रान्ति। ज्योतिषशास्त्रअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन। त्यसैले यो दिन दिनलाई मकर संक्रान्ति भनिन्छ। 

चलनचल्तीको पात्रोमा माघ १ गते सूर्य दक्षिणायनबाट उत्तरायण हुने बताइएको हुन्छ। तर माघ १ भन्दा २३ दिनअघि नै उत्तरायण भइसकेको बताइन्छ। ‘निरयण’ मान मान्नेहरूले माघे संक्रान्तिलाई सूर्य उत्तरायण हुने दिन माने पनि ‘सायन’ मान्नेहरूले पुस ७ गते नै उत्तरायण हुने मान्छन्।

वेददेखि, पुराण र गीतासम्मका ग्रन्थमा उत्तरायण र माघ महिनाको महिमा बताइएको छ। 

यो दिन बिहान सबेरै उठी विशेषगरी दोभान वा त्रिवेणीमा स्नान, तर्पण गर्ने परम्परा छ। नदी, तलाउ र पवित्र स्थलमा स्नान गरी पितृतर्पण, देवपूजन, हवनआदि नित्यकर्म सकी पुरोहितहरूबाट संक्रान्ति महिमा सुन्ने परम्परा छ।  

ठाउँअनुसार यो दिन मकर संक्रान्तिका दिन तरुल, सखरखण्ड, पिडालु, खिच्रो अर्थात खिचडी, ध्यु, चाकु, सख्खर, मूरै वा तिलको लड्डू, आदी खाने र दान गर्ने चलन छ । यी खानेकुराले माघको जाडोमा उष्णता दिनुको साथै स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताइन्छ। आजको दिन किराँत येले सम्वतको नयाँ बर्ष शुरू हुन्छ । येले सम्वत ५०७९ को शुरू हुदैछ यसपटक । मूलत पश्चिम नेपालका थारू समुदायले माघी भन्छन् र बिशेष रुपमा मनाउने गर्छन । माघ १ गते माघे संक्रान्तिलाई नेपाल र भारतका प्राय सबै जातजातिले आ-आफ्नै तरिकाले यसलाई सम्वोधन गर्ने र मनाउने गर्छन् । मगर जातिमा आजको दिन चेली पुज्ने चलन छ ।

माघे संक्रान्तिको आसपास सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जाने समेत हुन्छ। ऋतुको हिसावले हेमन्त सकिएर शिशिर ऋतु लाग्ने भएकाले यो पर्वको महत्त्व छ।

माघेसंक्रान्तिका दिन नवलपरासी, चितवन र तनहुँको संगमस्थलको त्रिवेणी देवघाटमा ठूलो मेला लाग्छ। बराहक्षेत्र, रिडी क्षेत्रमा रहेको रूरू तीर्थस्थलमा समेत श्रद्धालुको घुइँचो हुन्छ। उपत्यकामा शंखमूल, आर्यघाट आदि क्षेत्रका साथैसिन्धुपाल्चोकको दोलालघाट, काभ्रेको पनौती लगायत नदी दोभान र त्रिवेणी क्षेत्रमा पनि मकर स्नान गर्नेको मेला लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.