|

तनहुँ : प्रसिद्ध धार्मिक स्थल देवघाटमा माघे संक्रान्ति मेला भर्न आउने दर्शनार्थीको घुइँचो लागेको छ। माघे सक्रान्तिको अवसरमा देवघाटधाममा प्रत्येक वर्ष भक्तजनको उल्लेख्य सहभागिता रहने गरेको छ। धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा मानिँदै आएको माघे संक्रान्ति मेला भर्न स्वदेशका प्रदेश १ देखि ७ सम्मको मात्र नभई विदेशबाट समेत भक्तजनको आगमन हुने गर्दछ।

स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीहरु भने मेला लाग्ने दिनभन्दा दुई तीन दिनअघि नै देवघाटधाममा आएर बस्ने गर्छन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले त्रिशुली र कालीगण्डकी नदीको संगममा माघे संक्रान्तिमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ दर्शनार्थीहरु देवघाट आउने गरेको बताए। ‘अनाधिकालदेखि चलिआएको परम्पराले गर्दा अधिक मात्रामा दर्शनार्थीहरु यहाँ मेला भर्न आउने गर्दछन्,’ उनले भने ‘गतवर्ष देवघाटमा चार लाखभन्दा बढी भक्तजन आएका थिए। यस पाँच लाख आउने अपेक्षा गरेका छौं।’

मेला भर्न, दर्शन र स्नानका लागि आउने भक्तजनका लागि आश्रम, मेला स्थल लगायतका ठाउँमा भक्तजनलाई सहज बनाउन बस्ने व्यवस्था समेत समितिले मिलाएको पौडेलले बताए। त्यसैगरी उक्त क्षेत्रमा हुने भक्तजनहरुको घुइँचो लाग्ने भएकाले सुरक्षा व्यवस्था समेत कडा पारिएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एलबहादुर गुरुङले बताए। मेला भर्न आएका दर्शनार्थीहरु रातभर जाग्राम बसी नाचगान गर्नुका साथै धार्मिक प्रवचनमा पनि सहभागी हुने गर्दछन्। 

देवघाटधाम हिन्दू धर्मावलम्वीहरुको आस्था, श्रद्धा र विश्वासको केन्द्र बिन्दु भए पनि विभिन्न धर्मालम्वीहरु त्यस क्षेत्रमा अध्ययन अवलोनका लागि आउने गरेको समितिले जनाएको छ। देवघाटधाममा जानका लागि पुलमा दोहोरो लाइन राखेर आवातजावात गर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। शर्माका अनुसार त्रिशुली नदीबाट आवातजावात गर्न सहजताका लागि डुंगाको व्यवस्था गरिएको छ। यस्तै, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क डुंगाबाट आवातजावात गराउने व्यवस्था गराइएको छ।

तनहुँबाट १०० जना सुरक्षाकर्मीको खटाइएइको छ। चितवनबाट त्योभन्दा बढी संख्यमा खटाइएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.