|

काठमाडौं : आज मगर समुदायको प्रमुख राष्ट्रिय पर्व ‘माघे सकराती।’ आजको दिन उनीहरूको उत्सवको दिन हो। आजको दिन एउटा पर्व मात्र नभएर उनीहरूको नयाँ वर्षसमेत हो। प्रकृति पुजक मगर समुदाय नेपालका प्राय: सबै ठाउँमा बसोबास गर्दै आएका छन्। मगर ०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको तेस्रो ठूलो अर्थात् आदिवासी जनजाति समुदायमध्येकै पहिलो ठूलो जनसंख्या भएको जाति हो। 

कला, संस्कृति तथा चाडपर्वको विविधताले सम्पन्न मगर समुदाय नेपालका प्रायः सबै जिल्लाहरूमा बसोबास गर्दै आएका छन्। मगर समुदायका लागि माघे सकराती प्रमुख चाड हो। उनीहरू यसलाई भव्य रूपमा मनाउँदै आएका छन्। त्यसो त माघे सकराती सबै नेपालीहरूको चाड हो तर मगर र थारू समुदायको सबैभन्दा ठूलो चाड हो। परम्परादेखि मनाउँदै आएको यो पर्वलाई मगर समुदायका निम्ति ०६५ माघ १ गते सरकारले राष्ट्रिय पर्व तथा मगर जातिको प्रमुख पर्वको मान्यता दिएको थियो। त्यसपछि यसलाई औपचारिक रूपमा मनाउन थालिए पनि मगर समुदायले परम्परागत रूपमा नै यो पर्व धुमधामका साथ मनाउँदै आएका छन्। 

यसरी मनाइन्छ ‘माघे सकराती’

मगर समुदायमा माघे सकराती माघ १ गतेका दिन मात्र मानाइए पनि यसको एक साता अगाडिदेखि नै टाढाका पवित्र स्थलहरूमा गएर मनाउने तयारीमा जुटेका हुन्छन्। सरसामानको किनबेच, व्यवस्थापन तथा तयारी गर्दागर्दै सकराती आइपुग्छ। सकरातीको दुई-तीन दिनसम्म पनि मगर घर सकरातीमय बनिरहन्छ। त्यसैले तीन-चार दिनदेखि एक सातासम्म पनि माघे सकराती मनाउने चलन रहेको पाइन्छ।

विभिन्न समाज, समुदाय र स्थानअनुसार यो चाडका मूल्य मान्यता र चाल चलनहरू फरक फरक हुन सक्छन्। मगर समुदायबीचमा पनि भाषिक, परम्परागत, चाडवाड मान्ने तौरतरिकामा पनि केही भिन्नताहरू रहेका छन्। त्यस कारण माघे सकराती मान्ने परम्परामा पनि ठाउँअनुसार, भेगअनुसार भिन्नताहरू रहेका छन्। यहाँ मगर समुदायमा माघे सकराती कसरी मनाइन्छ भनेर त्यसको चालचलन र संस्कारहरूका बारेका छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ। 

मिश्रा अर्थात् ‘उपहार’

मगर समुदायका निम्ति माघे सकराती छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलीबेटीहरूको पूजा गरी मनाउने चलन छ। चेलीहरूलाई पुज्नका लागि मिश्रा दिने गरिन्छ। ‘मिश्रा’ अर्थात् उपहार। सकरातीमा चामल, फलफूल, तरुल, रोटीलगायतका परिकारहरू जम्मा गरेर चेलिबेटीलाई दिने गरिन्छ। त्यसैलाई नै मिश्रा भनिन्छ। यसलाई ठाउँ, स्थान विशेषअनुसार निर्सो, मिश्रा आदि भन्ने गरिएको छ। यसलाई हामी ‘उपहार’ भनेर चिन्न सक्छौँ।

माघे सकराती (माघ १ गते)को दिन बिहान सबेरै उठेर स्नान गरी बुबा, दाजुभाइले सबैको चेलीबेटीहरूलाई भेला गराएर मिश्रा चढाई पुज्ने गर्छन्। घरमा उपस्थित सम्पूर्ण दिदीबहिनीहरूको पूजा गरिसकेपछि फेरि विवाहित चेलीहरूको घरघरमा पुगेर मिश्रा बाँड्ने चलन पनि रहेको छ। मिश्रा बाँड्ने क्रममा सकेसम्म दाजुभाइ वा बुबा आफैँ चेलीको घरमा पुग्ने चलन रहेको छ। सबै चेलीहरूलाई पुजी नसक्दासम्म केही पनि खानेकुरा खानुहुँदैन भन्ने मान्यता छ। 

सकरातीको दिन चेलीलाई विशेष सम्मान गरिन्छ। त्यस दिन चेलीलाई कुनै पनि काममा लगाउनुहुँदैन भन्ने मान्यतासमेत रहेको छ। उनको घरमा खानेकुराहरू केही पनि खानुहुँदैन भन्ने मान्यता छ। यदि कुनै चेलीको घर टाढा रहेको छ भने उनको मिश्रा अर्को दिन पुर्‍याइदिने चलन छ। मिश्रा बाँड्ने काम सकरातीको दिन बिहानभर चल्ने गर्छ। 

मस्यान्द्रा खेल्ने

गाउँघरमा रहेका सम्पूर्ण अविवाहित चेलीहरू बिहान उठेर खोला नदी दोभान वा धारामा नुहाएर घर फर्किसकेपछि बुबमआमा र दाजुभाइले मिश्रा चढाएर पुज्ने काम हुन्छ। त्यसपछि गाउँटोलका साथीहरूसँग टोली बनाई घरघरमा पुगेर मस्यान्द्रा माग्ने गर्छन्। घरभेटीले प्रत्येक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल, गहुँ र फापरको रोटीसहित पाँच र दश रुपैयाँ दिने चलन छ। यसरी मस्यान्द्रा माग्दै घरघरमा घुम्ने कामलाई नै ‘मस्यान्द्रा खेल्ने’ भनिन्छ। मागेको मस्यान्द्रालाई संकलन गरेर एक दिन विशेष गरेर चेलीहरूले घरदेखि बाहिर गएर संगीहरूसँग रमाइलो गर्दै खाने गरिन्छ। 

झोम्पलेनी लगाउने

डाँठ निस्कनुभन्दा अगाडिको जौको बिरुवा, जसमा पात मात्र हुन्छ, त्यसलाई नै झोम्पलेनी भनिन्छ। चेलीबेटीहरू खोलाबाट नुहाएर फर्किंदा बाटोमा पर्ने बारीबाट जौको बिरुवा जरैदेखि उखेलेर ल्याउँछन् र मस्यान्द्रा खेल्ने क्रममा घरभेटीहरूलाई निधारमा अवीर र कानमा जमरा लगाएजसरी झोम्पलेनी लगाइदिएर पैसा माग्ने चलन छ। यसरी चेलीहरूले निधारमा अवीर र कानमा झोम्पलेनी लगाइदिएपछि घरभेटीले आफ्नो क्षमताअनुसार दान दक्षिणा दिने गर्नुपर्छ। 

श्याम्भो गाउने

श्याम्भो गाउने माघे सकरातीको विशेष परम्परा हो। सकरातीको दिन साँझपखदेखि बुढापाकाहरू जम्मा भई आफ्ना दुःखसुखका कुराहरू एक प्रकारको लय वा भाकामा मिलाएर गाउने गीतलाई ‘श्याम्भो गीत’ भनिन्छ। यसरी श्याम्भो गीत गाउने बुढापाकाहरू पनि एकपछि अर्काे साथीको घर पुगी खानपिनमा समावेश हुने र रमाइलो तथा ख्याल ठट्टा गर्ने गर्छन्। यो सकरातीपछि दुई-तीन दिनसम्म पनि चल्न सक्छ। 

धनुषवाण र विवाह

सकरातीमा ‘तारो हान्ने’ मगर समुदायको विशिष्ट प्रकारको संस्कार हो। सकरातीको दिनदेखि नै पुरुषहरू खुला चौर वा बारीमा गएर तारो हान्ने चलन छ। जसले निशाना लगाउन सक्छ, त्यसलाई फूलपाती लगाएर सम्मानित तथा पुरस्कृत गर्ने चलन पनि छ। 

यसरी धनुषकाँडले निशाना लगाउने प्रतियोगितालाई नै तारो हान्ने भनिन्छ। यो कार्य पनि तीन-चार दिनसम्म चल्ने गर्छ। उहिले तारो हानेर विवाह गर्ने चलन पनि थियो तर अहिले त्यो परम्परा भने लगभग हराइसकेको छ। 

पितृको सम्मान

आदिवासी समुदायमा पितृ पुज्ने, प्रकृति पुज्ने चलनलाई विशेष मानिन्छ। त्यसैगरी मगर समुदायमा पनि मातापिताको पूजाआजा, उनीहरूलाई सम्झिने गरिन्छ। सकरातीको अवसरमा पनि मृत्यु भएका परिवारजनको अस्तु बगाउने, जलाउने र दान दक्षिणा गर्ने चलन पनि मगर समुदायमा रहेको छ। 

मृत्यु भएका परिवारजनको कुनै सामान वा लत्ताकपडा लिएर रिडी नदीमा पुगी बगाइदिने तथा गाडिएको ठाँउबाट हड्डी उत्खनन् गरी त्रिवेणी दोभान वा नदीनालामा लगी जलाइदिने गरिन्छ। आफ्नो क्षमताअनुसार चेलीबेटीलाई दान दक्षिणा दिई मृत व्यक्तिको आत्मालाई स्वर्गमा चढाइदिने परम्परा छ। यस्तो गरेमा मृत आत्माले पुण्य प्राप्त गर्छ भन्ने परम्परागत विश्वास रहेको छ। यो काम सकरातीकै दिनमा गरिन्छ। 

यसबाहेक मगर समुदायले माघे सकरातीको दिन रैँया फोर्ने, पुल्ली जलाउने, रङ, अवीर वा मसी दलेर रमाइलो गर्ने चलन पनि छ। माघे सकरातीको आफ्नै छुट्टै सामाजिक तथा धार्मिक महत्त्व रहेको छ। यो मगर समुदायमा सामाजिक रूपले लैंगिक विभेदलाई निरुत्साहित गरी समानताको प्रतीक एवं धार्मिक दृष्टिकोणले दान, दक्षिणा गरी पुण्य प्राप्ति तथा सेवा, सद्भावको महत्त्व बोकेको पर्व हो। 

त्यसो भएको हुँदा देशभित्र या बाहिर जताततै निकै हर्षोल्लासका साथ मनाइने यो पर्वको स्थानीय तथा राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापन जरुरी छ। अहिले यी परम्पराहरू प्राय: लोप हुने अवस्थामा छन्। विभिन्न ठाउँमा बसाइँसराइ गर्ने क्रममा ती संस्कारहरू पनि हराउने अवस्थामा छन्। 

नेपाल मगर संघले संस्थागत रूपमा यस्ता चाडपर्वहरूलाई मनाउँदै आएको छ तर हामीले हाम्रो घरभित्रै यस्ता कुरालाई संरक्षण दिन सकेनौँ भने यो हराएर जाने सम्भावना रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.