विचार

विपना र मेरा प्रेम
SHARES

माघ ३, २०७५

    जीवन नै हो, आफ्नै धुनमा लक्ष्यविहीन निरन्तर बहने हावाझैँ। जीवन नै हो, आज्ञाकारी बालक झैं, निर्धारित सीमाभित्रै बग्ने खोला जस्तैं। तर, कहिले काहीँ हावा पनि उद्दण्ड बनिदिन्छ, आँधी बनेर। कहिलेकाहीँ खोला पनि अशान्त बनिदिन्छ, बाढी बनेर। समय समयमा देखिने सपना जस्ता- कहिले मीठा, कहिले तीता।

    मानिसको मन पनि कहाँ सधैँ एकनासको हुँदोरहेछ र! कहिले शान्त रहने कामना त कहिले बहकिने चाहना। कहिले फूलझैँ एकै डाँठमा अल्झिरहने त कहिले हावाझैँ सारा संसारको सयर गरिरहने। कहिले जमेको पानीझैँ स्थिर त कहिले बगेको खोलाझैँ चंचल बनिरहन्छ यो मन। सायद विपना र सपनाबीचको भिन्नता पनि यस्तै हुँदो हो।

    यसो मनमा केलाउँदा हाम्रो जीवनको एक तिहाई हिस्सा कि सपना देखेर वा सपना देख्ने बहानामा बित्दोरहेछ। विपनाका अधुरा कतिपय चाहना सपनाले पूरा गर्दोरहेछ। वास्तवमा भन्ने हो भने विपनाभन्दा सपना अतिमीठो हुन्छ। कहिलेकाहीँ आफैँ मरेको देख्दा पनि। कहिलेकाहीँ आफैँ रोएको देख्दा पनि। कसैलाई माया गर्दा पनि। कसैलाई रुवाएको देख्दा पनि।

    म पनि धेरै पटक मरेको छु, सपनामा। रोएको छु, सपनामा। हाँसेको छु, मुस्कुराएको छु। सपनामै।

    उमेरले अलि बढी भए पनि मलाई भारतीय अभिनेत्री श्रीदेवी असाध्यै मनपर्थिन् उनको जवानीमा। अहिले मरेर गइन्। तर कल्पनामै सही, मैले उनीसँग प्रेम गरेँ। उनी अभिनित चलचित्र ‘चाँदनी’ कति पटक हेरेँ, मलाई नै थाहा छैन। घरमा भर्खर मात्र भिसिआर आएको थियो। मनमा सधैँ मेरो लगनगाँठो पनि त्यस्तै ‘चाँदनी’ ‘क्यारेक्टर’ केटीसँग बाँधियोस् भन्ने चाहना रह्यो। आखिर सपना जति मीठो भए पनि बिहानीको घामसँगै विपनासँग साक्षात्कार त हुनै पर्छ। मीठो सपनाको संसारबाट विपनाको कहालीलाग्दो वास्तविकतामा खस्नै पर्छ। झर्नै पर्छ। त्यो चाहना पनि, त्यस्तै रह्यो, अधुरो र अपूरो- अरू मीठा सपनाझैँ। बरु सपनाको फल विपनामा प्राय: उल्टै हुन्छ भन्ने थाहा भएको भए, धरोधर्म! ‘बेन्टिड क्विन’को सपना हेर्ने हरदम प्रयास गर्थें। कमसेकम मेरो त्यो सपना पनि हरेक सपनाझैँ उल्टै बनिदिन्थ्यो कि! सपनामा म ‘चाँदनी’सँग धेरै पटक घुमेको थिएँ- काठमाडौं, भक्तपुर र पाटनका दरबार क्षेत्र। अनि यहाँका डाँडाकाँडा हिमाल पनि। रोमान्स गरेको थिएँ। कुनै मनै लोभ्याउने डाँडामा बसेर हिमाल हेर्दै उनको केश सहलाउँदै चुम्बन पनि गरेको थिएँ। समयका चालसँगै मैले ती सपनाहरू बिर्सिसकेको थिएँ। उनको मृत्युमा फेरि एक पटक ती सपनाहरू विपनाझैँ दिमागमा सल्बलाएका भने थिए।

    उमेर नै हो। त्यो उमेरमा मेरा मनमा काउकुती लगाउने आँखाहरू पनि निकै थिए। सपनामा होस् वा विपनामा, कसैसँग दुईतर्फी आँखा जुध्यो त कसैलाई मैले हेरेँ मात्र। उनीहरू आफ्नै बाटो लागे। म आफ्नै। एक-दुई जनाले मेरो मनसँग खेले त मैले पनि एक-दुई जनाको मनसँग। कहिले दुवै मन पनि मिले। मेरो प्रेमलाई समयको चक्रवातले छियाछिया पनि पार्‍यो नै। आखिर यही त माया हो।

    मायाको वेग पनि उमेर र समयअनुसार फरक हुँदोरहेछ, जसरी मौरीले कोपिला र फूललाई हेर्ने नजर फरक हुन्छ अनि सधैँ सबैसँग कहाँ एकनासको माया बस्दोरहेछ! माया वा प्रेम त उमेर र समयअनुसार दिमागले तयार पार्ने रसायनले निर्भर गर्दोरहेछ। कोही पहिलो नजरमा अति मनपर्दारहेछन्। तर समयसँगै उनीसँगको लगावमा कमी आउँदो पनि रहेछ। मसँग पनि यस्तै भयो। मलाई जीवनमा कसैले प्रभावित पार्न सक्छ भने निश्चल मनले मात्र हो। रूप त क्षणिक हुँदोरहेछ। आखिर गुलाफ पनि फुलिरहेकै राम्रो देखिन्छ। टिपिएर भगवानकै पाउमा चढेपछि त दुई दिनमै गह्नाउन त थालिहाल्छ नि! अनि कसले मनपराउँछ अनि टाउकोमा सिउरिन्छ त्यसलाई? मलाई त्यस्तै लाग्छ, दुर्वचनभन्दा कटु गन्ध कतैबाट निस्कँदैन।

    मेरा कतिपय अधुरा मायाहरू सपनामा पूरा भएका छन्। मायाको पूर्णता र अपूर्णता केसँग तुलना हुन्छ, मैले बुझ्न सकेको छैन। माया के हो, त्यो त झन् बुझ्नै सकेको छैन। वैवाहिक जीवनलाई आधार मान्ने हो भने आवश्यकता र मागअनुसार माया र प्रेमको ‘थर्मोमिटर’को पारो तलमाथि भइरहन्छ। तर एउटा कुरो सत्य छ- जबसम्म मनबाट कसैप्रतिको लगाव बिलाएर जाँदैन, तबसम्म माया जिउँदै हुन्छ, प्रेम मर्दैन। आखिर माया वा प्रेम त मनले गरिन्छ नि! शरीर टाढा भए पनि आखिर माया त माया नै हुन्छ। यस्ता कतिपय प्रेमलाई मैले मनमा सँगालेर राखेको छु- चाहे त्यो कुनै प्रेमिकाप्रति होस् कि कुनै आफन्तप्रति।

    कहिलेकाहीँ पत्नीजी यस्तै कुराले किचकिच गर्छिन्। ‘तिम्रो विहेअघि कति जनासँग हिमचिम थियो?’ म भन्दिन्छु, ‘कस्सम! तिमी मेरी पत्नी बन्छ्यौ भन्ने थाहा भएको भए एउटै पनि हुँदैन थिए।’ उनी बुझेझैँ गर्छिन् तर बुझिन् कि बुझिनन् मैले आजसम्म बुझ्न सकेको छैन।

    जीवनको थोरै समय मद्रास (हालको चेन्नई)मा पढ्ने बहानामा बित्यो। साथीभाइ सबै जना मिलेर काठमाडौं-मद्रास-काठमाडौंको यात्रा गरिन्थ्यो तर एक पटक एक्लै जानुपर्ने भयो। सजिलो मार्ग छानियो- काठमाडौंबाट कोलकातासम्म हवाइमार्ग अनि त्यहाँबाट ट्रेनमा जाने। कोलकातामा एकरात बिताउनुपर्ने थियो। बाबाको चिनजानका मित्रको घरमा बस्ने टुंगो लाग्यो। बाबाका मित्र मलाई लिन विमानस्थसम्मै आए। उनकै कारमा हुबलीको एउटा कुनाको घरमा लिएर गए। घर होइन, बंगला थियो तर केही पुरानो।

    विमानस्थलबाट उनको बंगलासम्म पुग्दा नै हावडापुल देखियो, मानिसको भीडको बीचमा हिँडिरहेको ट्र्याम पनि देखियो। मैले कोलकातामा जति मानिस देखेँ वा भीड देखेँ, कहिल्यै त्यतिबिघ्न मानिसको हुल देखेको थिइनँ। आजकाल काठमाडौंमा भने देखिन थालेको छ।

    कोलकातामा उनको बंगला पुगेर केही बेर विश्राम गरेपछि घुम्न जाने भइयो। उनकी कान्छी छोरीले घुमाउन लैजाने भइन्। ठीकठाकै थिइन् उनी। बंगाली नाम, बंगाली रूप। केही मोटी, गहुँगोरी। मुहारभन्दा बोलीमा निकै आकर्षण। मभन्दा एकाध वर्ष कान्छी होलिन्। उमेर नै त्यस्तो नि! मेरो होइन, उमेरको दोष। केही समयको घुमघाममा नै उनीप्रति आकर्षित भइयो। उनले हुबली वरिपरि नै घुमाइन्। भोलिपल्ट प्रसिद्ध काली मन्दिर पनि लगिन्। एकै दिनको भेटमा उनी मनमा ओर्लिइन्।

    अघिल्लो साँझ घुम्नजानुअघि आन्टीले सोधेकी थिइन्, 'क्या लेंगे? भेज या ननभेज!' मैले उनीहरूलाई धेरै कठिनाइ नहोस् भनेर भनेँ, ‘भेज ही चलेगा।’ घुमघाम गरेर केही बेर आराम गरेपछि उनी खाना तयार भएको सूचना दिन आइन्। ‘रुम मे ला दुं’, उनले सोधिन्। ‘नहीं’ भन्दै म खुरुखुरु उनको पछि लागेँ। भान्छामा पुगेँ अनि जीवनमा पहिलो पटक थाहा पाएँ- बंगालीहरू माछालाई पनि शाकाहारी खाना नै मान्दा रहेछन् भनेर। भोलिल्ट दिउँसो उनी आफ्ना पितासँगै मलाई छाड्न रेलवे स्टेसन आइन्। आफ्नी दिदीको विवाहमा आउन निम्तो पनि दिइन्। मैले सहमति जनाएँ तर पक्का थियो, म आउँदिन भन्ने- मलाई र उनलाई पनि।

    यसैगरी खिच्दो हो- फूलको सुवासले मौरीलाई पनि, जसरी एक भेटमै म पनि रन्थनिएँ। मद्रास पुगेँ। साथीभाइले काठमाडौंदेखिको हाल सोधे।  त्यही क्रममा मैले कोलकाताको घटना पनि बताइदिएँ- कुनै युद्ध जितेझैँ चमकदार मुहारले बहादुरीका साथ। उनले कोलकाताबाट हिँड्ने बेला पत्र लेख्न आग्रह गर्दै ठेगाना दिएकी थिइन् र लिएकी पनि थिइन्। साथीभाइ न परे- फटाहाहरू! मलाई केही नभनी उसलाई मेरो नामबाट चिठ्ठी लेखिदिएछन्। मायाको स्वीकारोक्तिसहित।

    केही दिनपछि उनको पत्र आयो- उनले मप्रति कुनै त्यस्तो भावना नराखेको तथा मेरो सोच कमजोर रहेकोप्रति खेद जनाउँदै। रोष जनाउँदै। त्यसपछि पो पोल खुल्यो- मेरा साथीहरूको। म रनभुल्लमा परेँ। कसैलाई केही भनिनँ। बस्, मात्र ‘सरी’ लेखेर पत्र पठाएँ। साथीभाइलाई गर्नुसम्म गाली गरेँ तर कसलाई के मतलब हाँसे मात्र। म भने इज्जत नै बलात्कार भएझैँ बनेँ- भोलि घरसम्म यो कुरा पुग्यो भने मेरो के गति होला भनेर।

    जिन्दगी अनौठै हुँदोरहेछ- आकाशमा मस्त कावा लगाए पनि साँझ त गुँडमै फर्कनुपर्ने चराझैँ। वाफका रूपमा जमिन छाडे पनि पानीका रूपमा फेरि यही जमिनमा बर्सिने पानीझैँ। आखिर मन नै त हो- दिमागभन्दा बढी सोच्छ, प्रेमको मामिलामा। केही दिनपछि उनको फेरि एउटा पत्र आयो- तस्वीरसहित। त्यो पत्रमा भने उनले मसँग प्रेम गर्ने आशय पोखेकी थिइन् अनि अघिल्लो चिठ्ठीलाई बिर्सने आग्रह पनि। दिदीको विवाहमा आउन कर गरेकी थिइन्। मसँग जीवन बिताउने चाहना कोरेकी थिइन्। साथीहरूले जवाफ दिन र कोलकाता जान निकै कर गरे। कोलकाता जान र आउन रकम दिने साथी पनि निस्किए। ती साथीहरूको त्यो गल्तीले मलाई यति रुष्ट बनाएको थियो अनि उनको मन दुखाएको चोट अझै भरिएको पनि थिएन।

    मलाई अरूले लेखिदिएको होइन, आफैँले कोरेको ‘स्क्रिप्ट’मा बाँच्न मन लाग्छ। त्यसैले आफ्नै जिन्दगीमा बक्ररेखा पनि कोरिँदोरहेछ तर त्यसमा पनि रमाउँछु नै किनकि आखिर त्यो पनि मैले नै कोरेको रेखा हो। तर कहिलेकाहीँ हेर्न नचाहेको सपनाले पनि मन बिथोल्दोरहेछ। यस्ता मन बिथोल्ने सपना पनि प्रशस्त हेरेको छु। विपनामै पनि भोगेको छु।

    फेरि एउटा पत्र लेखेँ। सुरुमा ‘सरी!' नै लेखेँ अनि साथीभाइले गरेका कर्तुतको खुलासा गरिदिएँ। हामी राम्रा मित्र बन्यौँ। प्रेमी–प्रेमिका बनिएन। कोलकाता पनि गइएन। सम्भवत: म उनको पहिलो प्रेम बनेँ तर कहिलेकाहीँ चुकचुक भने लाग्छ। मैले उनको प्रस्तावलाई स्विकार्नुपर्थ्यो कि वा मैले उनको मनसँग खेलेँ कि भनेर। कहिले लाग्छ, मैले धोका दिएँ कि भनेर। तर न मैले कहिले उनलाई प्रेम प्रस्ताव राखेँ, न त प्रेम गर्छु नै भनेँ। ती खेल सबै मेरा साथीहरूको थियो, जसको बोझ म आजसम्म बोकिरहेको छु। अहिलेसम्म उनलाई फेसबुकमा समेत खोजेको थिइनँ अब खोज्ने चाहना भने पलाएको छ।

    मैले विपनामा उनलाई चोट दिएँ कि दिइनँ, अहिलेसम्म खुट्याउन सकेको छैन। सायद अहिलेसम्म त उनले मलाई बिर्सिसकिन् वा म जस्तै बेलाबेलामा सम्झिन्छिन् पनि होला। विपनामै साथीहरूले कोरिदिएका उनको र मेरो सम्बन्धको नाम के थियो? आजसम्म थाहा पाउन सकेको छैन। तर पक्का छ- उनको र मेरो त्यो क्षणभरको माया भगवानलाई चढाएको गुलाफ बनेन, अहिले पनि मनको कुनै डाँठमा फुलिरहेको नै छ।

    विपनामै देखेको त्यो सपना अहिले पनि कहिलेकाहीँ मुस्कुराउने बहाना भने बन्छ। सायद श्रीदेवीसँग सपनामा गरेको प्रेमभन्दा फरक थिएन- मुठ्ठीभरको त्यो मीठो सम्झना, सपना जत्रै विपना।

    लाग्छ, चित्त दुखाएर जाने मायाले काँडाले घोचेभन्दा बढी पीडा दिन्छ- मेरोतर्फबाट होस् वा दोस्रो पक्षबाट। त्योभन्दा बढी कसैको भावनासँग खेल्नु झनै ठूलो पाप हो। म विपना मात्र होइन, सपना पनि आफैँले कोर्छु। त्यस अर्थमा म घमण्डी पनि हुँला। मलाई अरूले लेखिदिएको होइन, आफैँले कोरेको ‘स्क्रिप्ट’मा बाँच्न मन लाग्छ। त्यसैले आफ्नै जिन्दगीमा बक्ररेखा पनि कोरिँदोरहेछ तर त्यसमा पनि रमाउँछु नै किनकि आखिर त्यो पनि मैले नै कोरेको रेखा हो। तर कहिलेकाहीँ हेर्न नचाहेको सपनाले पनि मन बिथोल्दोरहेछ। यस्ता मन बिथोल्ने सपना पनि प्रशस्त हेरेको छु। विपनामै पनि भोगेको छु।

    आफैँ मरेको सपना देख्दा मन विचलित हुँदोरहेछ। मेरो लासलाई देख्दा मुस्कुराउने र मनैदेखि रुनेलाई खुट्याउन पनि सकिँदोरहेछ। मैले कफनभित्र सुतेर यो सबै हेरेको छु। जल्दाजल्दै पनि उनीहरूलाई नियालेको छु। आत्मा बनेर कसले मेराबारे कस्तो धारणा राख्दा रहेछन्? त्यो पनि सुनेको छु। जल्दाजल्दै बाँसले घोच्दाभन्दा आफूले विश्वास गरेकाहरू धोकेबाज निस्कँदा बढी पीडा हुँदोरहेछ। सायद त्यस्ता सपनाले मानिसलाई फेरि एक पटक आफ्ना वरिपरि रहेकाप्रति धारणा परिवर्तन गर्न सहयोग पनि गर्नेरहेछ। त्यस्ता सपनाकै कारण मैले कतिपय सम्बन्धमा पुनर्विचार पनि गरेको छु।

    सपनालाई मालाझैँ बुन्ने अनेकौँ कोसिस पनि गरेको छुँ। विपनामै सही, मैले धेरै पटक त्यस्ता सपनालाई धन्यवाद दिएको छु, जसले यो दुनियाँ चिन्न मलाई सहयोग गरे।

    कुनै बेला एक महिला (त्यो बेला युवती) मेरो निकै नजिक आएकी थिइन्। वास्तवमा भन्ने हो भने मेरो मनमा उनका बारे कुनै नराम्रो भावना थिएन। बस्, म उनलाई अलिक बढी नै जिस्क्याउँथेँ। मजाक गर्थें। उनलाई घर छाडिदिन्थेँ, घरबाट पिकअप गर्थें। उनका आग्रहहरू सकेसम्म मानिदिन्थेँ। मैले उनलाई एउटा असल मित्र मानेको थिएँ। अहिले पनि मान्छु नै तर उनले मेरो भावनालाई प्रेमका रूपमा लिइछन्। मेरो प्रस्तुति नै त्यस्तै रह्यो, उनीसँग रहँदा किनकि उनीसँग मलाई जसले परिचित गराइन्, उनीसँग लुकेर पनि हामी भेट्थ्यौँ। तर भेटघाटको छोटै समयपछि पढाइको सिलसिलामा अमेरिका पुगिन्।

    संसार इन्टरनेट ईमेलमा प्रवेश गरिसकेको थिएन। नेपालमा त मोबाइल फोनको संसार पनि बनेको थिएन। कुरो त्यो बेलाको हो, जतिबेला म अल्लारे थिएँ। उनी पत्र पठाउँथिन्- मनभरीको माया कोचेर। म पनि जवाफ पठाउँथे- माया गरेजस्तो गरेर। तर मलाई थाहा थियो- हाम्रो सम्बन्ध पत्रभन्दा टाढा जान सक्दैन भन्ने तर पनि म उनीबिना बाँच्न नसक्ने झूठ लेखिदिन्थेँ। उनी पत्याउँथिन्। म त्यसमै रमाइरहेको थिएँ। उनले मलाई पनि अमेरिका आउन भनिन्। अमेरिका पुग्न सबै व्यवस्था मिलाउने विश्वास पनि दिलाइन् तर अहँ, मेरो मनले उनलाई कहिल्यै स्वीकार्न सकेन।

    रमाइलोका लागि मैले उनको मनसँग धेरै खेलेँ। अमेरिका आउने आग्रह नमानेपछि उनले मलाई नेपालमै रमाएर बस् भन्ने तीतो भाकामा पत्र लेखिन्। सायद उनले सरापे पनि मेरा लागि त्यो कुनै मन झस्काउने र दुखाउने शब्द बन्न सकेन। म आफ्नै तालमा रमाएँ, यतै। तर कहिलेकाहीँ लाग्छ- मैले उनको मनलाई दुखी बनाएँ कि!

    सपनामा आत्माका रूपमा घुम्दा भने उनले मलाई सरापेको सुनिनँ तर फेसबुकमा उनलाई पठाएको फ्रेन्ड रिक्वेस्ट कहिल्यै ‘एक्सेप्ट’ भएन अनि लाग्यो, अहिलेसम्मै रिसाएकी रहिछन्।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]