|

सल्यान : पुरुषले महिलाको भेषमा कलात्मक ढंगले नाच्ने सोरठी नाच सल्यान जिल्लाको निकै प्रचलित नाच मानिन्छ। मारुनी नाचको नामबाट समेत चिनिने सोरठी पछिल्लो समय भने हराउँदै जान थालेको छ। 

जिल्लाका अधिकांश स्थानमा दसैँ, तिहार, मेला, पर्व, विवाह, व्रतबन्ध आदिमा निकै नाचिने यो नाच युवा पुस्तामा लोक संस्कृतिको चिन्ता एवं चासोको अभावमा हराउँदै जान थालेको छ। लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा सल्यानमा पहल थालिएको छ। विभिन्न स्थानीय तहले मौलिक कला संस्कृति संरक्षणमा चासो देखाएपछि सोरठी नाचको कला भएकाहरू केही ब्युँझने कोसिस गरेका छन्। युवापुस्ता पनि सोरठी सिक्ने प्रयासमा रहेका छन्।

सोरठीमा दुईजना मारुनी (जसलाई गोपिनी पनि भनिन्छ) र एक जना पुरुसुङे (जसलाई कृष्ण भनिन्छ) हुन्छन्। केटा मान्छे नै केटीको पहिरनमा मारुनी बनेका हुन्छन्। यस्तै यस नाचमा तीनजना मादले हुन्छन्। सल्यानको हकमा हेर्ने हो भने क्षत्रीहरूको सोरठी नाचमा सहभागिता केही बढी देखिन्छ। सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतिर पाइने वनस्पति केतुकीको कपाल, चुरा, पोते, टीका आदि लगाउने गर्छन्। पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ।

सोरठीका विभिन्न चरणहरू रहेका हुन्छन्। जिल्लामा ५२ चरण गाउने गरेको पाइन्छ। तर पछिल्लो समय यो घटेर १२ देखि १५ चरणसम्म सीमित रहेको वरिष्ठ बाध्यवादक  तथा गायक खर्कबहादुर बुढाले बताए। उनले भने, ‘सुरुको चरणलाई समेर्ने चरण भनिन्छ। सोरठी नाचमा दैवीशक्ति छ भन्ने पनि विश्वास गरिन्छ। किनकी सुरुको चरण समेर्ने चरणमा केही व्यक्ति काप्ने गर्छन्। समेर्ने चरणमा सरस्वती लगायतका देवी देवतालाई पुकार्ने भएकाले सरस्वती चढ्ने व्यक्ति काप्ने गर्दछन्।’ नाच अन्त्य गर्दा नियमअनुसार मारुनी, पुरुसुङे, मादले लगायतकाले आपूmले पहिरिएका नाचका पोशाकहरू नाँच्दै फुकाल्ने गर्दछन्।

दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गर्ने गरिन्छ। समाजमा सानो, ठूलो, जातभात, धनी गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीय बुढापाकाको भनाइ रहको छ। जिल्लाको पिमखोला, हिवल्चा, दमाचौर, त्रिवेणीको पोखरी, चैवाङ, मार्के, रीम, गर्पा, धनवाङजस्ता क्षेत्रमा यो नाच केही बुढापाकाले बचाएका छन्।

पुरानो पुस्ता हराउँदै जाने र नयाँ पुस्तामा संस्कृति संरक्षण्मा खासै वास्ता नहुँदा सारेठी नाच हराउँदै जान थालेको कपुरकोट गाउँपालिका गाँडापानीका ७५ वर्षीय श्यामलाल विकले बताए। गाँडापानीकै रामलाल विकले हरेकवर्ष आफ्नो गाउँमा सोरठी नाचिने र पछिल्ला युवा पुस्तालाई पनि हस्तान्तरण गर्ने कार्य चलिरहेको जनाए। लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको संगीत र लयको बारेमा पछिल्लो पुस्तालाई पनि जानकारी हुन आवश्यक रहेको सोरठीका संरक्षणकर्ता तथा वरिष्ठ वाद्यवादक खर्कबहादुर बुढा बताउँछन्।

सोरठी नाच सल्यानीको धरोहर र पहिचान हो। बुढापाका भन्छन्,‘थाहै नपाई नेपाली संस्कृति र मौलिकता लोप हुने अवस्था पनि आइसकेको छ। त्यसैले यसतर्फ सचेत हुनुपर्छ।’ पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुने वाध्यताले पनि गाउँका यी लोकप्रिय नाच पनि विस्तारै हराउँदै जान थालेको बुढापाकाको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.