|

माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा अमूल्य योगदान दिएका नेपाली कांग्रेसका शीर्ष नेताहरुको योगदानमा स्थापित भएका अस्पताल विघटन गर्न खोज्ने सरकारी प्रयास सरकारले सच्याउनुपर्ने बताएका छन्। गृहजिल्ला तनहुँबाट राजधानी फर्कने क्रममा कार्यकर्ताहरुलाई निर्देशन दिँदै नेता पौडेलले आफूहरुले तत्काल सरकारी प्रयास सच्याउन सरकारलाई आग्रह गरिने र सो अनुरुप नभए आन्दोलनको विकल्प नभएको बताएका हुन्।

उनले तुरुन्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर कांग्रेसको धारणा जानकारी गराउने बताए। मागको सुनुवाई नभएमा सरकारविरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन थाल्ने चेतावनी समेत नेता पौडेलले दिए। उनले भने ‘सरकारको त्यस्तो प्रयासविरुद्ध स्थानीयस्तरमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन कार्यकर्ताहरुलाई निर्देशन दिएको छु।’

त्यस्तै संसदमा सशक्त रुपमा प्रस्तुत हुन नेपाली कांग्रेसका नेताहरु समक्ष उनले आग्रह समेत गरेका छन्। सरकारले कांग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै पौडेलले आपत्ति जनाए ।

तत्कालीन सरकारले स्व. गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वासप्रश्वास र बाँकेमा सुशील कोइरालाको नाममा क्यान्सर अपस्ताल खोल्ने निर्णय गरी दुवै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधा सम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ११ ठूला अस्पताललाई संघीय सरकार मातहत रहने गरी गठन आदेशका लागि मन्त्रिपरिषमा प्रस्ताव पठाएको आफूहरुलाई जानकारी आएको नेता पौडेलले बताए।

‘तर मन्त्रिपरिषद् बैठकले कांग्रेसका दुवै नेताका नामका बाहेक नौ अस्पताललाई मात्र सदर गरी निर्णय गरेको छ, स्वास्थ्य मन्त्रालयले ती दुवै अस्पताल विघटनको प्रक्रियामा लगेको भन्ने हामीले खबर पाएका छौँ।’

पौडेलले आफ्नो गृहजिल्ला तनुहँमा आफूलगायत स्थानीय नेताहरुको व्यापक लबिङमा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास अस्पतालका लागि ७५० रोपनी जग्गा छुट्याएर काम भइरहेको बताए। स्थानीय सेतीगंगा सामुदायिक अस्पताललाई समेत उक्त अस्पतालमा गाभेर अहिले दैनिक दुई सयले सेवा लिइरहेको अवस्थामा अस्पताल विघटन गर्ने तयारी गरेर सरकारले अधिनायकवादी सोच देखाएको उनको आरोप छ। उक्त अस्पतालको पूर्वाधार निर्माण गरी बजेट, कर्मचारीको दरबन्दीसहित सरकारी मापदण्डको फार्मेसी समेत सञ्चालनमा आइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.