सप्तरीको सुरुंगामा थारूहरूको दुईदिने माघी महोत्सव

|

लहान : सप्तरीको पश्चिमवर्ती सुरुंगा नगरपालिका ५ बनिगामामा थारू समुदायले मनाउने माघीको अवसरमा मंगलबारदेखि दुई दिने महोत्सव शुरु भएको छ। महोत्सवको मंगलबार अपरान्ह प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे।

महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री राउतले थारू समुदायको पहिचान र अधिकारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। थारू कल्याणकारिणी सभाद्वारा आयोजित ‘माघी महोत्सव २०७५’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले माघीमा दिइँदै आएको सार्वजनिक बिदा संघीय सरकारले कटौती गरेको भए पनि प्रदेश सरकारले दिएको बताए। ‘बिदा अधिकार मात्र होइन, पहिचान पनि हो, त्यसैले माघीसँगै नयाँ सम्वत्समेत थालनी गर्ने थारू पहिचानको कदर स्वरूप प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।’

‘प्रदेश सरकारले थारूहरूको नयाँ सम्वत् थालनीसँगै आठ जिल्लाका आठ स्थानीय तहमा जन्मिने हरेक छोरीहरूको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा कार्यक्रम थालेको छ’ मुख्यमन्त्री राउतले भने ‘आगामी आर्थिक वर्षसँगै प्रदेशअन्तर्गत पर्ने हरेक स्थानीय तहमा छोरीको स्वास्थ्य बीमा कार्यक्रमलई बिस्तार गर्दैछौँ।’ समृद्धि सडक निर्माण, विद्युतीकरण र भौतिक पूर्वाधारले मात्र नआउने बताउँदै उनले त्यसका लागि सामाजिक रुपान्तरण जरुरी रहेको र सामाजिक रुपान्तरणका लागि छोरीलाई प्रदेश सरकारले विशेष महत्व दिएको बताए।

महोत्सवमा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले सप्तरीका सडक निर्माणमा व्यापक आर्थिक अनियमितता भएको दावी गर्दै प्रदेश सरकारसँग छानबिनको माग गरे। ‘प्रदेश सरकार मातहत रहेको कुसहा– बेलही, कडरबोना– रामनगर र खरचुहिया– काचन सडक निर्माणमा व्यापक भ्रष्टाचार भएको छ’ प्रतिनिधिसभा सदस्य चौधरीले भने ‘भ्रष्टाचारसँगै अशिक्षा, बेरोजागारी, लागुऔषध दुर्व्यसन रोक्न प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ।’

प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले जिल्लाका थारू विभूतिहरूका लागि विशेष कार्यक्रमसहित प्रस्ताव ल्याए प्रदेश सरकारमार्फत् कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए भने अर्की प्रदेश सभा सदस्य रुवीकुमारी कर्णले प्रदेश सरकारले बनाउँदै गरेको विभिन्न नीति तथा कानुनमा आदिवासी जनजाति, दलित, मुस्लिम, थारूहरूको सांस्कृतिक पहिचान सुरक्षित गर्न रचनात्मक सुझावको अपेक्षा गरिन्।

बुधबारसम्म चल्ने महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री राउतलाई सरुंगा नगरका मेयर मुक्तिनाथ चौधरीले थारूको पहिचानको रूपमा पगरी बाँधिदिएका थिए भने उपहारस्वरुप बुद्धको मूर्ति प्रदान गरिएको थियो। महोत्सव स्थलमा थारू संस्कृति झल्किने विभिन्न घरेलु उत्पादन, खानाका परिकारका स्टलहरू राखिएका छन्।

‘समृद्ध सप्तरी’ कार्यक्रमको माग

‘अप्पन भाषा, अप्पन सांस्कृतिक पहिचान, थारू कल्याणकारिणी सभाके शान’ भन्ने नारासहित आयोजित महोत्सवमा मुख्यमन्त्री राउतलाई पाँच विशेषता रहेको ‘समृद्ध सप्तरी’ कार्यक्रम प्याकेजको घोषणासहित १७ बुँदे माग पत्र बुझाइएको छ। कोशीको माछा, भारदहको केरा, बरमझियाको पेडा, महुलीको दूध र मासु तथा सुरुङ्गाको आँपसहित समावेश गरी ‘समृद्ध सप्तरी’ कार्यक्रमको माग गरिएको हो।

मागपत्रमा थारू संग्रहालय निर्माण, थारू होम-स्टे संचालन, थारू समुदायमा मौलाउँदै गएको दहेज प्रथा रोक्न बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमको प्रभावकारी कार्यान्वयन, प्रदेशस्तरीय सुपर आँप जोनको विकास गर्न माग गरिएको छ। त्यस्तै, वैकल्पिक तथा दीर्घकालीन सिँचाइको व्यवस्था, बीउ विजन भण्डारणका लागि कोल्ड स्टोर तथा कृषि प्याकेजको घोषणा, सुरुंगा ९ मा प्रदेशस्तरीय फुटबल रंगशालालगायत १७ बुँदा उल्लेख छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.