|

कञ्चनपुर : व्यावसायिक तरकारी खेती गर्न थालेपछि बेलौरी नगरपालिका ३ का धम्मल चौधरीले भारतीय किसानको खेतमा मजदुरी गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। 

निकटवर्ती भारतीय किसानको खेतमा उखु, गोडमेल गर्ने, सिँचाइ गर्ने र काट्ने कामबाट हुने आम्दानीले उनकोे परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल थियो। उनले  दैनिक १०० देखि १५० रुपैयाँसम्म ज्याला पाउने गरेका थिए।

'बिहान छ बजे घर बाट निस्केर अबेरसम्म खेतमा काम गरेर घर फर्किँदा झिमिक्क साँझ परिसकेको हुन्थ्यो', उनले भने, ‘थोरै रकमले घरको खर्च चलाउन मुस्किल थियो नै, दिनहुँ खेत मालिकको खप्की सुन्नुपर्थ्यो।’

काम गर्ने खेत नजिकैका भारतीय किसानले गरेको तरकारी खेतीलाई देखेर घरमै रहेको थोरै जग्गामा तरकारी खेती गर्ने आँट गरे धम्मलले भने, ‘भोकै रहेर भए पनि थोरै रकम तरकारी खेती गर्नका लागि जोरजाम गरे। त्यस बाटै तरकारीको बिउ खरिद गरी बेर्ना उत्पादन गरी बारीमा रोपे पछि त्यसबाट घर खर्च चलाउने आम्दानी हात लाग्यो।’

आफ्नो स्वामित्वमा रहेको १३ कठ्ठा जग्गाबाटै गतिलो आम्दानी हात लागेपछि उनमा बढी जग्गामा तरकारी खेती गर्ने आँट पलायो।  ‘त्यसपछि छिमेकीको एक विघा जग्गा किरायामा लिएर तरकारी खेती गर्न थालेपछि दिन फेरिएका छन्’, धम्मलले भने।    

उत्पादित तरकारी बजार पुर्‍याएर बेच्ने कार्यबाट उनलाई फुर्सद छैन। आठ वर्ष देखि तरकारी खेती गर्दै आएका चौधरीले डेढ विघा जग्गामा तरकारी रोपेका छन्।डेढ विघामध्ये १३ कठ्ठा जग्गामा मात्रै उहाँको आफनो स्वामित्वको हो। बाँकी एक विघा जग्गा उनले भाडामा लिएर तरकारी खेती गरेका छन्।

तरकारी बारीमा काउली, मुला, रायो,  गोलभेँडा, आलु, खुर्सानी, बेमौसमी काँक्रा, तिते करेला लटरम्म फलेका छन्। चौधरी दम्पतीको दैनिकी तरकारी गोडमेल गर्ने, सिँचाइ गर्ने र उत्पादित तरकारी बजारमा लगेर बेच्नेमा बित्ने गरेको छ। तरकारी खेतमा सफल किसानका रूपमा धम्मल परिचित छन्।

अरु किसानले खेतमा धान, गहुँ र उखु खेतीलाई बढी बढावा दिने गरेका छन उनले भने, ‘मैले बाह्रै महिना मौसमी र बेमौसमी तरकारी खेतीलाई बढावा दिएको छु।मिहिनेत बढी गर्नु पर्ने भए पनि आम्दानी पनि सोचेअनुसार नै छ। त्यसैले तरकारी खेतीलाई व्यवसाय बनाएको छु’, धम्मलले भने।

उनले वार्षिक रूपमा सात लाखदेखि १० लाखसम्मको तरकारी उत्पादन गर्दै आएका छन। जस बाट खर्च कटाएर ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ। दुई महिनामै उनले काउलीबाट  ३० हजार, रायोबाट  ४८ हजार र करेलाबाट २५ हजार रुपैयाँ आम्दानी लिएका छन् । 

तीन वटा हाइटेक प्लास्टिक टनेल बनाएर बेमौसमी तरकारी खेती गर्दै आएका चौधरीले बेमौसमी तरकारीको माग बढ्न थालेपछि थप दुई वटा टनेल थप्ने योजना बनाएका छन। बेमौसमी काँक्राको माग बजारमा बढी रहेकाले यस बर्ष टनेलमा काँक्रा बढी रोपेको उनले बताए।  'बोडी, करेला धेरैले लगाएका छन्', धम्मलले भने, ‘काँक्रा थोरै किसानले मात्रै लगाएकाले बेमौसमी काँक्राबाट बढी फाइदा लिन सकिने भएकाले यसमै बढी जोड दिएको हो।’

पाँच कठ्ठा जग्गामा रोप्नका लागि उनले प्याजको बेर्ना समेत तयार गरेका छन्।  प्याजको बेर्ना बेचेर र खेतमा रोपेर आम्दानी लिन सकिने भएकाले याे वर्ष प्याजको बेर्ना तयार गरिएको धम्मलको भनाइ छ।

बेलौरी नगरपालिकाको कृषि शाखाले उनलाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ४० हजार रुपैयाँ अनुदान रकम समेत उपलब्ध गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.