|

धनकुटा : धनकुटा जिल्लाको पाख्रिबासमा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ। पाख्रिबास नगरपालिकामा अवस्थित संसारी सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीयबासी लागिपरेका हुन्। धनकुटा सदरमुकामदेखि १९ किलोमिटर उत्तरमा अवस्थित पाख्रिबास चोकदेखि पाँच सय मिटर पश्चिम हुँदै संसारी क्षेत्र पुग्न सकिन्छ। यो क्षेत्रमा पुग्ने जोकोही पनि यहाँको प्राकृतिक सुन्दरतामा रमाउन सक्छन्।

हालसम्म विभिन्न निकायको सहयोगमा संसारीमा ८० लाखको लागतमा विभिन्न भौतिक संरचना निर्माण गरिएको छ। पिक्निक स्पटको लागि आवश्यक पर्ने चौर निर्माण गरिएको छ। २५ रोपनी क्षेत्रफलमा रहेको आकर्षक गन्तव्य सीमसार क्षेत्र निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति, भूसंरक्षण कार्यालय, वन कार्यालय, स्थानीय विकास मन्त्रालय लगायतले आर्थिक अनुदान उपलब्ध गराएका हुन्। यस्तै प्रदेश सांसद कुसुम श्रेष्ठले गत साल ४ लाख र यस वर्ष १० लाख उपलब्ध गराउने भएकी छन्। स्थानीय तहले समेत चासो दिएको निर्माण समितिका प्रेमबहादुर गुरुङले बताए।

मोरङको कानेपोखरी गाउँपालिका ५ बाट घुम्न पुगेका रमेश ढुंगाना निकै उत्साहित देखिन्थे। आफ्नो मोबाइलबाट तस्बिर कैद गर्दै पिकनिकका लागि खाना बनाउन उनी तल्लीन थिए। जता हेरे पनि हरियाली र प्राकृतिक सुन्दरताले सजिसजाउ स्थानमा ढुंगाना पिकनिकको खाना बनाउन छोडेर त्यहाँको सबै ठाउँ पुगेर तस्विर खिच्न उनलाई हतारो भएको बताउँदै थिए।  उनीसँगै पुगेका अन्य साथीहरु भने घुमी घुमी तस्विर खिचिरहेका थिए।  त्यसमा आफूपछि परेको उनले बताए।

विगतमा चिहानघारी र झाडीजंगलले दिउँसै पुग्दा पनि डर लाग्दो रहेको पाख्रिबास बजारबाट नजिकै रहेको संसारी सीमसार संरक्षण क्षेत्र अचेल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। एकातर्फ ३० फिट अग्लो बुद्धको प्रतिमा त अर्कोतर्फ जोर पोखरी अनि वरिपरि चिया बगान र हरियो चौरले सजिएको उक्त क्षेत्र धनकुटाको पर्यटकीयस्थल हिले बजारबाट ६ किलोमिटर दूरीमा पर्दछ।

घुम्नका लागि धनकुटा पुग्ने पर्यटकका लागि सीमसार क्षेत्र नयाँ गन्तव्य बनेको छ। ०६९ सालदेखि सीमसार संरक्षण क्षेत्रमा थालिएको निर्माण कार्य पछिल्लो समय आकर्षक स्थलका रूपमा पाएपछि स्थानीयवासी समेत खुसी छन। पर्यटक आउने क्रम बढेपछि राम्रै प्रयास गरेको भान भइरहेको निर्माण कार्य समितिका अध्यक्ष ज्ञानबहादुर गुरुङको भनाई छ। ‘पानीको स्रोत रहेको स्थानमा पोखरी बनाउने सुरले अगाडि बढदै जाँदा आकर्षक गन्तव्य बन्न पुगेको छ’, उनले भने, ‘यसको श्रेय स्थानीयवासी, जग्गादाता र सरोकारवाला सबैलाई जान्छ।’

उक्त स्थानमा २२ लाखको लागतमा आकर्षक बुद्ध प्रतिमा निर्माण गरिएको छ। बेलायत, हङकङ लगायतमा बस्दै आएका व्यक्ति र तत्कालीन सांसद धनमाया विकले रकम जुटाएकी थिइन। विकले १० लाख उपलब्ध गराएको समिति अध्यक्ष गुरुङले बताए।

त्यहाँ रहेका जोर पोखरीमा माछा पालन समेत गरिएको छ। ३० फिट गहिरो पोखरीमा बोटिङ सुरु गरिएको छ। सीमसार संरक्षण कार्यमा स्थानीय रेवत भट्टराई, ज्ञानबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, विदुर न्यौपाने लगायतले अगुवाइ गरेका छन। यसैगरी स्वर्गीय गोपाल मानन्धर लगायतले जग्गा उपलब्ध गराएका थिए। बगेर खेर जाने खोलालाई बाँध बाँधेर जोर पोखरी निर्माण गरिएको छ।

उक्त स्थानमा पिकनिकको लागि सुरु गरिएपनि, बाल उद्यान, सेमिनार हल लगायतका कार्य तयारी भइरहको छ। संसारीमा दैनिक सय बढी र विदाको दिन एक हजारको हाराहरीमा आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको टिकट काउन्टरका गणेश कुमार गुरुङले जानकारी दिए। सीमसार संरक्षण क्षेत्र पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको पाख्रिबास नगरपालिकाका प्रमुख विर्खबहादुर राईले बताए। पाख्रिबासबाट नियाल्न सकिने मकालु हिमशृंखला, अरुण उपत्यकालगायत आकर्षक थुम्‍काथुम्‍कीले पनि पर्यटकको मन लोभ्याउने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.