|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हङकङ लै‍जान लागेको चरेससहित प्रहरीले बुधबार एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट थिसाङ -८ की २९ वर्षीया कान्छीमाया घले रहेकी छन्।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले घलेलाई सुन्धारास्थित गोसारा हुलाक कार्यालयबाट हङकङ पठाउन चरेसको तौल नापिरहेकै बेला पक्राउ गरेको ब्युरोका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिनेश अमात्यले जानकारी दिए।

कान्छीमायाले बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने कपडामा हुलाकमार्फत् धुपसँग बेरेर १४ किलो चरेस हङकङ पठाउन लागेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको अमात्यको भनाइ छ।

यसरी पठाइँदै थियो धुपको नाममा चरेसका प्याकेट

कान्छीमायाले हङकङ पार्सलका रूपमा बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने धुप पठाउँदै थिइन्। धुपभन्दा पनि उनको ठूलो उद्देश्य चरेस पठाउनु थियो। प्रहरीका अनुसार उनले चरेस पठाउन बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने धुप र त्योभन्दा माथि मोटो कागजले र्‍यापिङ गरेको डब्बा बनाइएको थियो।

'धुपमाथि चरेस र्‍यापिङ सामान्य तरिकाबाट बनाउन नसकिने र बनाउन मेसिनकै प्रयोग भएको छ। यसबारे थप अनुसन्धान गर्दै छौँ', ब्युरोका प्रमुख डिआइजी दिनेश अमात्यले भने। प्रहरीले उनको साथबाट १४८ प्याकेट धुपको बट्टाभित्र १४ किलो चरेस भेटेको हो। 

यसअघि पनि घलेले यसरी नै चरेस हङकङ र सिंगापुर पठाएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कान्छीमाया आफैँ लागुऔषध ओसारपसार कारोबारी रहेको खुलेको प्रहरीको भनाइ छ। सामान्य परिवारकी कान्छीमाया केही वर्षदेखि उपत्यकाका विभिन्न डान्सबारमा नर्तकीको रूपमा काम गर्नेसमेत खुलेको प्रहरीले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस् :

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा चरेस बरामद

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.