|

सल्यान : ‘भुइँचालो आयो बचाऊ अयाऽऽऽ मरे मलाई बचाऊ’ भन्दै कोही कराई रहेका थिए भने कोही भागाभाग गरी रहेका थिए। कोही भने घाइतेलाई उद्दारका लागि स्टेचरमा राखेर सुरक्षित स्थलमा लग्दै थिए। झट्ट हेर्दा बुधबार सल्यानमा ठूलो भूकम्प आएजस्तो लागि रहेको थियो। तर सल्यानमा भूकम्प भने आएको होइन्। भूकम्प आइहाल्यो भने कसरी सुरक्षित हुने भनेर सशस्त्र प्रहरी वल सल्यानले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्यअन्तर्गत विपद् प्रतिकार्यसम्बन्धी अभ्यास गराएको हो।

२१औं भूकम्प दिवसको अवसरमा सशस्त्र प्रहरी बलले खलंगामा कृत्रिम अभ्यास गरेको छ। सल्यान भूकम्पको उच्च जोखिममा रहेको तथ्यांकहरू बाहिर आइरहँदा सशस्त्र प्रहरीले भूकम्प आइहाले कसरी सुरक्षित हुने र सुरक्षित हुने उपायका बारेमा अभ्यासको माध्यमबाट प्रदर्शन गरिएको सशस्त्र प्रहरी बल सल्यानका प्रमुख विमल डाँगीले बताए। खोज तथा उद्दार, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य ज्ञान प्रदान गर्नका लागि कृत्रिम पूर्वअभ्यास गराइएको उनको भनाई छ।

विपद्का घटना जहाँ र जतिवेला पनि हुन सक्ने भएकाले कृत्रिम अभ्यासको माध्यमबाट आम सर्वसाधारणलाई सिकाउन प्रदर्शन गरिएको प्रहरी प्रमुख डाँगीले बताए। भूकम्प आइहाले कसरी बच्ने र अरुलाई बचाउने अभ्यासले धेरैलाई सिकाउने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए।

२०७२ सालको भूकम्पलाई कसैले पनि भुल्न नसकेको भन्दै यस्ता भूकम्पबाट बच्न पूर्वतयारी गर्न आवश्यक रहेको उनको भनाइ छ। भूकम्पले क्षति गर्नेभन्दा पनि मानव सृजित संरचनाले बढी क्षति गर्ने भएकाले भौतिक संरचना निमार्ण गर्दा भूकम्प प्रतिरोधी निमार्ण गर्नु पर्नेमा जोड दिए। सल्यान पनि भूकम्पको उच्च जोखिममा रहेकाले भौतिक संरचना निमार्ण गर्दा ध्यान दिनु पर्ने बताए। भूकम्पमात्र नभएर बाढीपहिरो, जस्ता अन्य जोखिमबाट बच्न पनि मानवीय सम्वेदना आवश्यक रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.