माघ ३ देखि ६ गतेसम्म पद यात्रा र विश्व शान्तिमैत्री पूजा, प्रार्थना हुँदै

|

सिन्धुली : ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जनलाई नेपाल सरकारले धरपकड गर्ने कुनै आधार नभएको बोधी श्रवण धर्म संघले बताएको छ। बुधवार सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित पैरेमा रहेको बम्जनको आश्रममा पत्रकार सम्मेलन गर्दै संघले कुनै घटना नघटी मान्छे खोजी पाऊँ भन्ने प्रहरीमा उजुरी परेकै आधारमा बम्जनमाथि आरोप लगाउन नमिल्ने बताएको हो।

पत्रकार सम्मेलनमा बोधी श्रवण धर्म संघका प्रवक्ता मणी लामाले बम्जनको आश्रममा कुनै पनि घटना नघटेको दावी गरेका छन्। उनले भने ‘गुरुलाई कुनै आरोप नै छैन, पेपरमा आएको आरोपको त हामीले खण्डन गरिसक्यौं, कुनै अपराध नै भएको छैन, कुनै घटनानै घटेको छैन, मान्छे खोजी पाऊँ भन्दैमा किन गुरुसँग गाँस्ने, किन धर्मसँग गाँस्ने।’

नेपाली समाजमा र विश्वमा रामबहादुर बम्जनलाई बदनाम गराउन सञ्चार माध्यमहरूले बम्जनको नकारात्मक प्रचार प्रसार मात्र गरिरहेको आरोप संघले लगाएको छ। बम्जनका विभिन्न आश्रममा बस्दा पाँच जना उनका अनुयायी र आनीहरू बेपत्ता भएको, आश्रमका आनीहरूमाथी यौन दुर्व्यवहार गरेको जस्ता आरोपमा बम्जनमाथी किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको सिन्धुली र सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा अनुसन्धान थालेको छ। तर बम्जनको आश्रमबाट कुनै पनि व्यक्ति बेपत्ता नभएको बोधी श्रवण धर्म संघका प्रवक्ता लामाको दावी छ।

पत्रकार सम्मेलनमा पत्रकारसँग रिसाउँदै प्रवक्ता लामाले बम्जनका बारेमा विभिन्न सञ्चार माध्यममा प्रकासित तथा प्रसारित समाचार निराधार, कपोल्कपीत भएको बताए। निष्पक्ष र न्यायीक अनुसन्धान हुनुपर्ने बताउँदै प्रवक्ता लामाले अनुसन्धान कार्यमा सहयोग गर्ने जनाए।

यसैबीच बोधी श्रवण धर्म संघले बिहीबारदेखि तीन दिनसम्म मैत्री धर्म शान्ति पद यात्रा र विश्व शान्तिमैत्री पूजा, प्रार्थनाको आयोजना गर्ने भएको छ। पद यात्रा र विश्व शान्तिमैत्री पूजा, प्रार्थनामा देश तथा विदेशबाट ४/५ हजार बम्जनका अनुयायीहरूको उपस्थिति हुने संघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।  तर पद यात्रा र विश्व शान्तिमैत्री पूजा, प्रार्थनामा बम्जन उपस्थित नहुने संघका प्रवक्ता लामाले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.