|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएर समय गुजार्ने पक्षमा नभई आर्थिक समृद्धि र देशको विकासमा उल्लेखनीय परिवर्तन गरेर देखाउने दृढता व्यक्त गरेका छन्।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औँ बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘मलाई तथ्याङ्क (डाटा) खेलाउने रहर छैन, परिवर्तन गरेर देखाउने मन छ।‘

प्रधानमन्त्री ओलीले सरकारले आगामी पाँच वर्षभित्र जनताको आर्थिक जीवनस्तरमा आमूल परिवर्तन गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने उल्लेख गर्दै भने, ‘अब नेपालले श्रमिक उपलब्ध गराउने देश होइन, विद्वान् उत्पादन गर्ने देशको परिचय बनाउने छ।'

संघीयता कार्यान्वयन गर्न अन्तरप्रदेश सहजीकरण गर्न गत मंसिर ३ गते जारी भएको २१ बुँदा कार्यान्वयन भइराखेको चर्चा गर्दै उनले अब विकासका योजनामा सङ्घ, प्रदेश र स्थानीय बीचमा अझ बढी समन्वय हुँदै जाने बताए। प्रधानमन्त्री ओलीले भने, 'जनताको हित र विकासका लागि नेपाल सरकारका विभिन्न निकाय र तहले छुट्टाछुट्टै निकायका रुपमा होइन, समन्वयकारी रुपमा काम गर्नुपर्छ ।'

उनले राष्ट्रिय गौरवका योजनालगायत ठूला आयोजना निर्धारित समयभित्र पूरा गर्न देखिएका समस्याको पहिचान गरी तत्काल समाधान निकाल्न निर्देशन पनि दिएका छन्। 'सरकारले राजनीतिक रूपमा बहुमत मात्र होइन, नीतिगत रूपमा स्थायित्व र स्पष्ट विचारधारा बोकेको छ, सुशासन र विकास गर्दै समतामूलक, समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ,' प्रधानमन्त्री ओलीले भने, 'समाजवादको वैज्ञानिक रुप ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो।'

प्रधानमन्त्री ओलीले अहिले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण र संशोधनमा ध्यान दिइरहेको उल्लेख गर्दै दोहोरो अङ्कको आर्थिक वृद्धि हुनैपर्ने बताए।

अतिमहत्वाकांक्षी तर व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने खालका योजना कार्यान्वयनमा ल्याउन जोड दिदैं उनले नेपाललाई साक्षर देश, ‘डिजिटल नेपाल’ बनाउने दिशामा सरकार अघि बढेको बताए। प्रधानमन्त्री ओलीले ग्रामीण दूरसञ्चार कोषमा सञ्चित भएको रकमबाट सबै जनतामा सूचना प्रविधिको पहुँच पुर्‍याइने दृढता व्यक्त गर्दै विकासका योजना समयमा सम्पन्न गर्न र जनताका सेवामा कुनै पनि ढिलासुस्ती नगर्न निर्देशन दिए।

'कृषिको आधुनिकीकरण गर्दै तीव्र पर्यटन विकास, आधारभूत स्वास्थ्य सेवाको पहुँच सबै जनतामा पु¥याउन सरकारको ध्यान गएको छ', उनले भने, 'जेठ १५ मा बजेटको खर्च हेर्दा सन्तोषजनक प्रगति देखाएन, अबको समीक्षामा बस्दा यस्तो स्थिति आउनुहुँदैन।'

प्रधानमन्त्री ओलीले कर्मचारी समायोजन प्रक्रिया राम्रोसँग अगाडि बढिरहेको छ, समायोजन प्रक्रिया टुङ्गिएपछि प्रदेश तहमा कर्मचारीको गुनासा तथा समस्या सम्बोधन हुनेछ भन्दै १५ औँ योजना तय गर्दा व्यावहारिक पक्षलाई ध्यान दिन जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.