सात वर्षयता गइसक्यो २३ जनाको ज्यान

|

बैतडी : तल्लोस्वराडका गाउँबस्तीका बासिन्दा सात वर्षदेखि चितुवाको त्रासमा बस्न बाध्य छन्। ०६८ वर्षयता चितुवाकै आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ भने २० भन्दा मानिस घाइते भएका छन्।

चितुवाले बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेको छ।  विद्यालय जादै गरेका बालबालिका तथा साँझपख घरआगनमै बालबालिकामाथी आक्रमण गर्न थालेपछि उक्त क्षेत्रका नागरिक त्रासमा रहन बाध्य छन्।

बुधबार मात्रै विद्यालय जादै गरेका एक बालकलाई  बाटोमै चितुवाले आक्रमण गरको थियो। बिहान ८ बजे विद्यालय जाँदै गरेका शिवनाथ गाउँपालिका ६ बसेडीका धर्मसिह धनाडीका छोरा ११ वर्षिय रविन्द्रसिंह धनाडी चितुवाको आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका  निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए।  साथीहरुसंगै हिडेका धनाडीलाई चितुवाले एक्कासी आक्रमण गरेको हो  । 

सोमेश्वर माविमा कक्षा ५  मा अध्यनरत धनाडीलाई बिहान साथीहरुसँगै विद्यालयका लागि हिँडेका बेला शिवमन्दिर नजिक चितुवाले आक्रमण गरी घाइते बनाएको हो। बालक चिच्याएको आवाज सुनेपछि गोठलाहरु घटनास्थलमा पुग्दा चितुवा भागेको बताइएको छ। गोठलाहरुले बालकको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालकलाई चितुवाले आक्रमणले गर्दा चिच्याएको आवाज सुनेपछि गोठलाहरूको सहयोगमा चितुवा भगाइएको बताइएको छ।  

घाइते बालकको केशरपुर प्राथमिक स्वासथ्य केन्द्रमा उपचार गरिएको छ। घाइते बालकको टाउको, अनुहार र गर्धनमा घाउ भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेश दयालले बताए। चितुवाको आक्रमणबाट घाइते बालकको अवस्था समान्य रहेको र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर घर पठाइएको छ।

विद्यालय आउदै गरेका बालकलाई बाटोमै चितुवाले आक्रमण गरेपछि अभिभावकहरूले आफ्ना नानीहरूलाई विद्यालय पठाउनै छोडेका सोमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्मरदत्त कलौनीले बताए। यसअघि  गत पुष ११ गते पनि शिवनाथ गाँउपालिका ६ की ४८ वर्षिया हिउँकला धनाडी चितुवाको आक्रमणबाट घाइते भएकी थिइन्।

दिनँहुजसो मानवबस्ती पसेर मानिसमाथि आक्रमणको प्रयास गर्न थालेको तथा घरपालुवा जनावरलाई आक्रमण गरी मार्न थालेको महताले बताए। 'बालबालिकाहरूलाई विद्यालय पठाउन समेत समस्या भएको छ',  उनले भने, 'घर आँगनमै खेलlरहेका बालबालिकालाई चितुवा लग्न थालेपछि निकै त्रासमा छौँ।'  महिलाहरू घाँसदाउरा गर्न तथा खरफागला गर्न जाँदा समेत समूहमा जाने गरेका छन्।  

चितुवाको बासस्थान र आहारा नष्ट भएपछि चितुवा मानव बस्तीमा पस्न थालेको डिभिजन वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले बताए। यता प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले डिभिजन वन कार्यालयसँग समन्वय गरेर चितुवा नियन्त्रणका लागि प्रयास गर्ने बताउँछन्। 'जिल्ला सुरक्षा समितिको बैठक बसेर निर्णय गर्छौँ', उनले भने। 

यसअघि धेरैपटक चितुवा मार्न स्थानीय प्रशासनले पठाएको प्रहरी र वनरक्षकको टोली  त्यत्तिकै फर्किएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.