|
फाइल फोटो

काठमाडौं : स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह शिलान्यास बिहीबार प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गर्ने तयारी रहेको छ। तर, स्थानीयहरुले आफ्ना माग पूरा नभएको भन्दै शिलान्यास अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले बिहानैदेखि पक्राउ गरेको छ।

संघर्ष समिताका संयोजक पञ्‍चलाल महर्जनका अनुसार स्थानीय ज्ञानेन्द्र महर्जन, दीपक महर्जन, मिलन खड्कालागयत एक दर्जन पक्राउ परेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएकाले विरोध गर्न आवश्‍यक नरहेको जनाएको छ। मन्त्रालयका सहसचिव रविशंकर सैंजुले स्थानीयवासीका माग पूरा गर्ने गरी सुख्खा बन्दरगाहको निर्माण कार्य अगाडि बढाउन लागिएको बताएका छन्।

तर, स्थानीयले भनेर सरकारले झुटा आश्‍वासन दिएको भन्दै बुधबार नै विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए। बिहान ९ बजेदेखिनै विरोधमा आउनका लागि आह्‍वान गरिएको थियो। प्रधानमन्त्रीबाट हुने शिलन्यासमा विरोध हुने भएपछि प्रहरीले प्रकाउ गरेको हो। स्थानीयले भने आफ्ना माग पूरा नभएको कारण विरोध जनाएको बताएका छन्। 

यसरी बन्ने छ बन्दरगाह

सरकारले बन्दरगाह निर्माणका लागि हिमाल सिमेन्टको एक हजार ५४ रोपनी जग्गा उपलब्ध गराएको छ। यसमध्ये २१० रोपनीमा बन्दरगाह र बाँकी क्षेत्रफलमा अत्याधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गरिने छ।

आर्थिक वर्ष २०७०/७१ को बजेटमा हिमाल सिमेन्ट कारखानाको जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरिएको थियो। चिनियाँ र नेपाली कम्पनीले निर्माण गर्न लागेको आयोजना नेपाल इन्टरमोडल यातायात विकास समिति बनाएर आयोजना अघि बढाइएको छ।

बन्दरगाह निर्माणका लागि विश्व बैंकले दुई अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । हिमाल सिमेन्ट कारखानाको जग्गा सरकारको स्वामित्वमा ल्याउनै करिब दुई वर्ष लागेको थियो । यस्तै, तेस्रो मुलुकबाट आयात हुने सामानका लागि छुट्टै र नेपालका विभिन्न स्थानबाट आउने सामानका लागि छुट्टै यार्ड र पाँचवटा वेयरहाउस निर्माण गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.