|

काठमाडौं : राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सचिव तथा कलाकार राकेशकुमार राईलाई लुट्न खोज्ने एक जनालाई राई स्वयंले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। बुधबार बेलुकी ललितपुर महानगरपालिका- ५ कुमारीपाटीस्थित इन्भेष्टमेन्ट बैंकको एटिएम बुथमा पैसा निकाल्न गएका बेला लुटेरा समूहले राईमाथि आक्रमण गरेको थियो।

लुटेरा समूहका एक जनालाई राईले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थ पुगेर सर्लाही रानीगंज घिमिरे चोकका २८ वर्षीय गोपाल दयाललाई पक्राउ गरेको छ।

लुटेरासँग प्रतिकार गर्ने कर्ममा राईलाई खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट उनको दायाँ हातमा चोट लागेको छ। प्रहरीले गोपालको साथबाट एक थान खुकुरी र खुर्सानीको धुलो एक पोकासमेत बरामद गरेको छ। लुटेरा समूहका अन्य दुई जना फरार रहेको ललितपुर प्रहरीले जनाएको छ। अभियुक्त माथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

यसैबीच राससले जनाएअनुसार एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौँ महानगरपालिका- १४ कलंकीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ। 

उता बूढानीलकण्ठ नगरपालिका- ३ चपली बस्ने उदयपुरका ४२ वर्षीय खगेन्द्र राईको काठमाडौँ महाराजगंजस्थित करु कन्स्ट्रक्सनको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको छ। 

बाँसको खट बनाउने क्रममा बुधबार दुई तलामाथिबाट खस्दा गम्भीर घाइते भएका उनको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.