एक पुरुषको अझै भएन सनाखत

|
File Photo

बागलुङ : पर्वतको मालढुंगामा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। बिहीवार बिहान म्याग्दीको बेनीबाट नारायणगढका लागि छुटेको यात्रुबस सडकदेखि कालीगण्डकी नदीमा खस्दा अन्य ३० जना घाइते भए। ग १ ख ६१०८ नम्बरको बस कुश्मा नगरपालिका १ मालढुंगामा सडकदेखि करीब १०० मिटर तल नदीमा खसेको हो।

घटनास्थलमै ३ को मृत्यु भएकोमा थप ४ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइतेको बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि पोखरा र काठमाडौं पठाइएको छ। गम्भीर घाइतेलाई नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लागिएको बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए ।

मृत्यु हुनेमा पर्वतको जलजला ८ नाङलीबाङका टिके परियार र उनकी श्रीमती सेती परियार, बागलुङ नगरपालिका ४ की शान्ती महत के.सी, म्याग्दीको पाखापानीका राजेश पुन र अमिसरा पुन र पर्वतको धाइरिङका जीवन बिक रहेका छन्। अर्का एकजनाको सनाखत हुन नसकेको प्रहरीले बताएको छ।

त्यस्तै घाइते हुनेहरूमा कालिकोटको महावल गाउँपालिका ४ का राजबहादुर सिंह, पर्वतको जलजला ८ का विक्रम रेग्मी, कमला रेग्मी र कुशल रेग्मी, जलजलागाउँपालिका ७ का विषमाया पुन, उदिर तिलीजा, कमल पौडेल, बालकृष्ण पौडेल देवीलाल नेपाली, दीपक परियार, कृष्ण पौडेल तुलसी सुवेदी रहेका छन्।

त्यस्तै चितवनको मुहान बस्ने प्रदेशीका पौडेल र लक्ष्मी पौडेल तथा भरतपुर महानगरपालिका ४ का पूर्णकला बस्नेत, म्याग्दीको बेनी नगरपालिका ८ का लक्ष्मीप्रसाद बिक, बेनी नगरपालिका ७ का टंकनारायण पौडेल, टेक बहादुर पुन, मन्दिरा पौडेल, हेमकला रग्मी, सुन्दरी पौडेल, पोखरा महानगरपालिका ३३ का लक्ष्मी बोहरा, अन्नपूर्ण गाउँपालिका ४ का चन्द्रा आचार्य र संकल्प पौडेल घाइते भएका छन्।

त्यसैगरी, कुश्मा नगरपालिका ४ का रमेश पराजुली, राजेश सापकोटा, बागलुङको जैमिनी नगरपालिका ४ का समिर क्षेत्री, धादिङका मानबहादुर पुन र चितवनको लंगपुरका रोहीणी प्रसाद चापागाईं घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।

तीव्र गतिले बस चलेकोले दुर्घटना भएको प्रहरीको भनाई छ। घटनामा चालक तीलक पराजुली पनि घाइते भएका छन्। घटनापछि सबै घाइतेलाई धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो। अस्पतालमा उपचार गर्ने ठाउँ अभाव भएर भुइमै राखेर उपचार गरिएको थियो। उद्दारका  लागि बागलुङ, पर्वत र म्याग्दीका प्रहरीटोली घटनास्थलमा पुगेका थिए।

अस्पतालमा मृतक र घाइतेका आफन्तसहित स्थानीय भीड लागेपछि उपचारमा समेत समस्या भएको थियो। प्रहरीले भीड नियन्त्रण गरेर अस्पताल बाहिर पठाएपछि मात्र उनीहरूको उपचार सम्भव भएको हो। घाइतेलाई पोखरा पठाउने क्रममा दुवै जिल्लामा उपलब्ध भएका एम्बुलेन्स, सेना र प्रहरीका गाडी तथा स्थानीय व्यवसायीले समेत सवारी साधन दिएर सहयोग गरेका थिए।

घटनास्थलमा खसेको बस निकै पुरानो छ। घटनामा बस क्षतविक्षत भएको छ। बसले छेउका सुरक्षाका लागि राखिएका धेरै पोल ढलाएपछि सडकबाट खसेको देखिन्छ। उक्त प्रकृति हेर्दा बस तीव्र गतिमा भएको पाइएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.