|

डडेल्धुरा : सशस्त्र द्वन्द्वका समयमा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पुनःस्थापना हुन नसक्दा र पुल बन्न नसकेपछि भित्री मधेस क्षेत्रका स्थानीयले सास्ती भोगिरहेका छन्। परशुराम नगरापालिका ५ परीगाउँ बाङघाट र सिसमझालामा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा स्थानीय तथा व्यापारीलाई समस्या भएको हो। 

महाकाली नदी पारीनजिकै भारतको टनकपुर रहेता पनि छोटी भन्सार कार्यालय नहुँदा उनीहरूले समान ल्याउन कैलाली तथा कञ्चनपुर पुग्नुपरेको छ। उनीहरूलाई भारतको टनकपुरबाट भन्दा नेपालबाट समान ढुवानी गर्न महँगो हुने गरेको छ। परशुरामबाट जिल्ला सदरमुकाम खलंगा, कैलाली र कञ्चनपुरभन्दा भारतनजिक पर्ने भएकाले छोटी भन्सार कार्यालय र पुल निर्माण भएको भए सहज हुने परशुराम नगरपालका ४ का स्थानीय रामबहादुर विष्टले बताए। 

‘डडेल्धुरा सदरमुकाम, धनगढी र महेन्द्रनगर जान हामीले धेरै नै टाढा हुन्छ। यहाँ पुल र भन्सार भइदिएको भए हामीलाई धेरै नै सहज हुने थियो' उनले भने। उनले सरकारलाई महाकालीमा पुल निर्माण र छोटी भन्सार कार्यालय स्थापन गरिदिन आग्रहसमेत गरेका छन्। ‘यहाँ पुल बनाइदिन र छोटी भन्सार कार्यालय स्थापना गरिदिन म नेपाल सरकारलाई अनुरोध गर्दछु’ उनले भने,‘यहाँ पुल र छोटी भन्सार कार्यालय स्थापना भए यहाँका नागरिकलाई केही न केही राहत हुने थियो।’

महाकालीमा डुंगाको जोखिमपूर्ण यात्रा

महाकालीमा पुल नहुँदा स्थानीय डुंगाको जोखिमपूर्ण यात्रा गर्नसमेत बाध्य बनेका छन्। कञ्चनपुर भएर परशुराम धाम दर्शन गर्न आउने पर्यटक तथा भक्तजनलाई समेत यो रुट सहज हुने भएकाले डुंगा चडेर आउने गर्दछन्। तर डुंगाको यात्रा जोखिमपूर्ण हुने भएकाले ज्यानै धरापमा राखेर परशुराम आउपर्ने बाध्यता रहेको कञ्चपुरबाट परशुराम तीर्थ स्नान गर्न आएका हर्कबहादुर बमले बताए।

कञ्चनपुर तिल्केनी हर्कबहादुर पुस ३० गते परशुराम धाममा लाग्ने मेला भर्न परशुराम आए। मेला भर्न उनी मात्रै आएनन्, परिवारसँगै बालबच्चा पनि ल्याएर मेला भर्न आए। उनले भने,‘महाकालीमा पुल छैन। डुंगामा आउँदा बच्चा डुंगाबाट महाकालीमा खस्यो। तीन मिटर तलबाट प्रहरीले बच्चालाई महाकालीबाट उद्धार गर्‍यो।’ महाकालीमा पुनर्निर्माण भए आफूलाई सुविधा हुने उनको भनाइ छ। ‘पुनर्निर्माण भए सरकार आएको आफूले अनुभूति गर्ने थियौँ। हामीले सरकारले हेरेको नै छैन’ उनले भने,‘ हामी जनतालाई कति मर्का छ मन्त्रीज्यूलाई थाहा नै छैन।’

परशुराम नगरपालिकाले बाङघाट र सिसमझालागरी हाल दुई स्थानबाट नाका सञ्चालनमा छ। बर्सेनि ठेक्कामार्फत् डुंगा चलाई दुबै नाकामा तार उतार कार्य भइरहेको छ। तार उतार कार्य भइरहेको सिसमझाला नाकामा सीमा प्रहरीचौकी तातोपानी र वाङघाट नाकामा प्रहरीचौकी परिगाउँमार्फत प्रहरी परिचालन गरिएको छ। यता परशुराम नगरपालिकाले पटक-पटक छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि पहल गर्दा पनि सुनवाई नभएको बताएको छ।

चारधाम मध्य महत्वपूर्ण मानिने परशुराम धाममा भारतको पूर्णागरीका पर्यटकसमेत भित्र्याउने उदेश्य रहेकाले छोटी भन्सार कार्यालय र पुल निमार्णको लागि पहल चालिरहेको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए। ‘भारत जोड्ने महाकाली नदीमा अहिले डुंगाबाट हामीले तार उतार गर्ने गरेका छौँ। छोटी भन्सार कार्यालय स्थापन गर्न र पक्की पुन निर्माणका लागि सम्बन्धित निकायमा पहल गरेका छौँ' नगर प्रमुख साउदले भने,‘यहाँ पुल निर्माण भए पूर्णगिरीमा आउने लाखौँ पर्यटकलाई परशुराम धाम ल्याउन सफल हुने थियौँ।'

दुई नाका मध्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा अवैध तरिकाले भारतीय समान भित्रिने गरेको छ। सिमावर्ती भारतीय बजार टनकपुरबाट दिनहुँ लाखौं मूल्य बराबरका भारतीय समानबिना भन्सार भित्रिँदा राजस्वमा छली हुने गरेको छ। छिट्टै भन्सार कार्यालयको स्थापना तथा पुल बनेपछि तस्करी नियन्त्रण हुने तथा नदी पार गर्ने सहज हुने विश्वास लिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.