|

उदयपुर : स्थानीय तहको निर्वाचन भएको डेढवर्ष पुगिसकेको छ। स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधि देखिने काम गर्न अहिले अग्रसर भएका छन्।सवैको नजरमा प्रष्ट देखिने काम ‘भ्युटावर’ निर्माण गर्नु नै हो। 

अहिले पर्यटन प्रवर्द्धनको नाममा भ्युटावर निर्माणमा अधिकांश स्थानीय तह बजेट खर्च गर्दै छन्। निर्माण गरिने भ्युटावरका नक्सा बनाएर सामाजिक सञ्चाजलमा पोष्ट गर्ने स्थानीय तहका प्रमुखहरू लागि परेका छन्। पर्यटन प्रवर्द्धन गरी समृद्धिको लागि भ्युटावर लेख्न समेत भ्याएका छन्। उदयपुरका आठ स्थानीयमध्ये चार गाउँपालिकामा भ्युटावरको प्रतिस्पर्धा नै चलेको छ।

उदयपुरगढी, ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिका अनिवार्य रुपमा भ्युटावर बनाउन जुटेका छन्। जसमा ताप्ली र उदयपुरगढी गाउँपालिकाका निर्माण कै चरणमा प्रवेश गरिसकेका बताउँछन्। जुन भ्युटावर फेसन बन्दै गएको छ। ‘आधा कार्यकाल सकिन लागेकाले केही देखिने काम गर्न लागेका छौं’ ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले भने, ‘ताप्ली डाँडामा भ्युटावर निर्माण गर्ने क्रम चलिरहेको छ।’ उनले प्रदेश सरकारको १० लाख  र ताप्ली गाउँपालिकाको बजेट धमाधम निर्माण भइरहेको जानकारी दिए।

‘सवैभन्दा फरक तरिकाले भ्युटावर निर्माण गरिरहेका छौं’ उनले भने, ‘मेरो कार्यकालमा जसरी भए पनि सक्नु पर्ने छ।’ यता उदयपुरगढी गाउँपालिकामा पनि भ्युटावर निर्माणमा जुटेको छ। उदयपुरगढी डाँडामै निर्माणको त्रलममा रहेको भ्युटावर पर्यटन प्रवर्द्धन बाेर्ड र गाउँपालिकाकाले निर्माणको गरेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले जानकारी दिए। ‘केही वर्षभित्र सम्पन्न हुने गरी निर्माण गरिरहेका छौं' उनले भने, ‘रकम भन्न त्यहाँ बुझ्नै पर्छ।’

आठ वटा हिमशृंखला अवलोकन गर्न सकिने गरी लिम्चुङबुङ गाउँपालिका ३ दोवाटे डाँडामा एभरेष्ट भ्युटावर बनाउने तयारी लिम्चुङबुङ गाउँपालिकाले सुरु गरेको छ। चार वर्षभित्र सम्पन्नगर्ने गरी एभरेष्ट भ्युटारको काम थालेको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए। ‘आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर लिम्चुङबुङलाई पर्यटकीय क्षेत्र बनाउनको लागि एभरेष्ट भ्युटावर निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘एभरेष्ट भ्युटावर जम्मा ७२ फिटा अग्लो हुनेछ। टावरको टुप्पोमा किराती सभ्यता झल्काउने चिन्डो निर्माण गरी बाइनाकुल्लर राखिने छ। टावरको डिजाई समेत भइसकेको छ। अनुमानित १० करोड लाग्ने अनुमान गरिएको छ।’

अध्यक्ष राईका अनुसार लिम्चुङबुङ पार्कमा रहने भ्युटावरबाट उच्च हिमश्रृंखला देखिन्छ भने यता तराईका क्षेत्र हुँदै भातरसम्मअवलोकन गर्न सकिने छ। रौतामाई गाउँपालिकामा पनि रौता डाँडामा भ्युटावर बनाउने काममा लागि परेको छ। समग्र रौताको पर्यटकीय गुरु योजना बनाउँदै त्यसैमा भ्युटावर निर्माण गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए। ‘रौतामाईको समग्र पर्यटन विकासको लागि गुरुयोजना बनाउँदै छौं’ उनले भने, ‘त्यसैमा समावेश गरी रौताडाँडामा भ्युटावर बनाउन लागेका हौं।’

गाउँपालिकाको दाँजोमा नगरपालिकामा भ्युटावर बनाउनपछि परेका छैनन्। चौदण्डीगढी नगरपालिकाले चौदण्डी डाँडामा भ्युटावर निर्माण गरिसकेको छ। ‘गएको ०७२ सालदेखि नै भ्युटावर बनाउन थालिएको थियो,’ चौदण्डी नगरपालिका नगरप्रमुख खगेन्द्र राईले भने, ‘हामी स्थानीय तहमा निर्वाचित भएपछि त्यसलाई सम्पन्न गरिसकेका छौं। ३८ देखि ४० लाख खर्च भएको छ।’ यसैगरी कटारी नगरपालिका पनिले बेतेनी डाँडामै भ्युटावर बनाउने योजना अघि सारेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘कटारीले बेतेनीडाँडामा भ्युटावर बनाउने लक्ष्य अघि सारेको छ,’ उनले भने, ‘त्यसको स्टिमेट नबनिसकेकाले लागत ठयाक्कै भन्न सकिने अवस्था छैन।’

त्रियुगा र बेलाका नगरपालिका पनि भ्युटावर बन्ने बनाउने उद्घोष हुँदै आएको छ। पर्यटनका नाममा उदयपुरका डाँडाभरि भ्युटावर बन्ने स्थानीय तहका जनप्रतिनिधको भनाइ अनुसार देखिन्छ।’

बजेट सक्ने भ्युटावर

अधिकांश स्थानीय तहले निर्माण गरिरहेका र गर्न लागेका भ्युटावरले कुनै नयाँपन दिने लक्षण देखाएका छैन। फेसनको रुपमा भ्युटावर निर्माण भएका छन् भन्दा फरक पर्दैन। भ्युटावर भएको स्थानसम्म पुग्ने सडक, गएर बस्दा खान बस्नको लागि सेवासुविधा सम्पन्न होटल पनि छैनन्। जसको कारण भ्युटार देखाउने विकासे काम हुने पक्का पक्की छ।

‘जुन स्थानीय तहको मुख्य योजना हेर्‍यौ भ्युटावर निर्माण छ’ कटारी नगरपालिकाका सन्तोष कटुवाल भन्छन्, ‘जनप्रतिनिधिले गरेको विकासको कामको हेला गरे जस्तो हुने भ्युटावर मात्र बनाएर पर्यटक आउँदैनन्। सडक, खान बस्नको लागि हो मस्टे वा होटल लगायतका अन्य पूर्वाधारमा ध्यान दिनुपर्छ ’ जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने,‘जुन स्थानीय तहका प्रमुख पनि अहिले भ्युटावरलाई जग्गा माग्न आउने गरेका छन्, वन क्षेत्रका जग्गा, खालीचौर दोहन गर्ने काम भ्युटावर निर्माणले गरेको छ।’

अन्य क्षेत्रको विकासमा खर्चिने लाखौं कराेडाैं बजेट गुरुयोजना, भ्युटावर लगायतका कामम खर्चिने संस्कार चलेको बुद्धिजीवीको भनाई छ। ‘जहाँबाट कमिशन लिन सकिन्छ। त्यही काममा जनप्रतिनिधि आकर्षित भएका छन्’ एक स्थानीय बुद्धिजीवीले नाम नखुलाउन आग्रह गर्दै भने, ‘जनप्रतिनिधि आएको ढेड वर्षमा भएका काम हेर्न सडक, भ्युटावर अनि गुरुयोजना बनाउँदै मोटो बजेट खर्चेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.