|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ ६ गते स्वीजरल्याण्ड जाँदै छन्। स्विजरल्याण्डको डाबोसमा हुन गइरहेको 'वर्ल्ड इकोनोमिक फोरम'मा सहभागिता जनाउन प्रधानमन्त्री ओली माघ ६ गते त्यसतर्फ प्रस्थान गर्दै छन्।

आगामी जनवरी २२ गतेदेखि २५ सम्म (माघ ८ गतेदेखि ११ गतेसम्म) हुने फोरमको वार्षिक बैठकमा विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरूको सहभागीता हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नेपालबाट पहिलोपटक प्रधानमन्त्री ओलीले प्रतिनिधित्व गर्दै छन्।  

'स्ट्राटेजिक आउटलुक अन साउथ एसिया' कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलोपटक सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्द अर्यालले जानकारी दिए।

प्रधानमन्त्री ओलीले तीनवटा छुट्टाछुट्टै फोरममा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। जसअन्तर्गत माघ ९ गते उनले 'सेपिङ डी फ्युचर अफ डेमोक्रेसी नामक' कार्यक्रममा समेत प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्। सोही दिन बेलुकी विभिन्न देशका प्रमुखहरूको जमघटमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अन्तराष्ट्रिय क्षेत्रका प्रमुख लगानीकर्ताहरूको सहभागीता रहने उक्त फोरममा नेपालमा विदेशी लगानी भित्र्याउने वातावरणको निर्माण हुने नेपाल सरकारको विश्वास रहेको छ। नेपालमा कायम भएको शान्ति र राजनीतिक स्थिरताबारे विदेशी लगानीकर्तालाई जानकारी गराउने उचित फोरमका रूपमा प्रयोग गर्ने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

नेपालमा लगानी गर्ने विषयमा विश्वका धेरै सहभागी राष्ट्र प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले साइडलाइन वार्ता गर्नेछन्। उनले स्विजरल्याण्डका राष्ट्रपति बेली माउरासँग समेत भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँग प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीसहित १९ जनाको टोली सहभागी रहनेछन्। प्रधामन्त्री ओली माघ १२ गते स्वदेश फिर्ता हुनेछन्।

प्रधानमन्त्री ओलीले आफ्नो स्विजरल्याण्ड भ्रमणबारे शुक्रबार प्रतिनिधिसभामा जानकारी दिने कार्यक्रम समेत रहेको प्रतिनिधिसभाको सचिवालयले जानकारी दिएको छ।  

यसैबीच, स्विजरल्याण्डको कार्यक्रमपश्चात् प्रधानमन्त्री फ्रान्स जानसक्ने सम्भावना रहेको बताइएको छ। नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको सन्दर्भमा आयोजीत सभामा सहभागी हुन प्रधानमन्त्री फ्रान्स जाने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.